बाँकेमा ७७ जनाको उम्मेदवारी फिर्ता

डिसी नेपाल
१६ वैशाख २०७९ २१:४६

बाँके । बाँकेको आठ स्थानीय तहमा विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवारी दिएका ७७ जनाले आज उम्मेदवारी फिर्ता लिएका छन् । खासगरी राजनीतिक दलतर्फ गठबन्धनमा रहेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) लगायतका दल र स्वतन्त्रबाट प्रमुख, उपप्रमुख तथा अध्यक्ष तथा उपाध्यक्ष, वडाध्यक्ष, वडासदस्य, महिला सदस्य लगायतको पदमा परेको उम्मेदवारी फिर्ता भएको निर्वाचन अधिकृतका विभिन्न कार्यालयले जनाएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकामा १४, कोहलपुर नगरपालिकामा १६, राप्तीसोनारी गाउँपालिकामा १२, खजुरा गाउँपालिकामा १२, डुडुवा गाउँपालिकामा पाँच, जानकीमा सात, बैजनाथमा सात र नरेनापुरमा चार जनाले उम्मेदवारी फिर्ता लिएका छन् । सबैभन्दा बढी १६ उम्मेदवारी फिर्ता लिनेमा कोहलपुर नगरपालिका र सबैभन्दा कम चार उम्मेदवार फिर्ता लिनेमा नरेनापुर गाउँपालिका रहेको छ ।

प्रमुख निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपालगञ्जमा उम्मेदवारी फिर्ता लिनेमा प्रमुख पदमा एक, उपप्रमुख पदमा एक, वडाध्यक्ष छ, महिला सदस्य तीन, दलित महिला सदस्य एक, खुला सदस्य दुईजना छन् । उनीमहरुमध्ये छजना स्वतन्त्र उम्मेदवार हुन् भने अन्य विभिन्न राजनीतिक दलका हुन् । कोहलपुर नगरपालिकामा उम्मेदवारी फिर्ता लिएका १६ मध्ये एकजना प्रमुख, पाँच वडाध्यक्ष अन्य सबै वडा सदस्य रहेका छन् ।

राप्ती सोनारी गाउँपालिकामा १२ मध्ये आठजना स्वतन्त्र र चार विभिन्न राजनीतिक दलका छन् । तीमध्ये तीन वडाध्यक्ष, एक महिला सदस्य र आठ वडा सदस्य छन् । खजुरा गाउँपालिकामा १२ मध्ये तीन वडाध्यक्ष र नौ वडा सदस्यले उम्मेदवारी फिर्ता लिएका छन् । डुडुवा गाउँपालिकामा पाँचमध्ये एकजना उपाध्यक्ष र चार वडाध्यक्षले मनोनयन फिर्ता लिएका छन् । जानकी गाउँपालिकामा सातमध्ये अध्यक्ष एक, उपाध्यक्ष एक, तीन वडाध्यक्ष र दुई वडा सदस्यले उम्मेदवारी फिर्ता लिएका छन् । उनीहरु सबै स्वतन्त्रतर्फका हुन् ।

बैजनाथ गाउँपालिकामा सातमध्ये अध्यक्ष पदमा एक, वडाध्यक्षमा चार र वडा सदस्यमा दुईले उम्मेदवारी फिर्ता लिएको विभिन्न निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बाँकेका आठ पालिका प्रमुख र उपप्रमुख तथा ८१ वडाध्यक्षका लागि दुई हजार ३२९ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

जिल्लामा कूल मतदानस्थल १३६ र मतदान केन्द्र ३७९ छन् । सुरक्षाका दृष्टिकोणले ११२ अतिसंवेदनशील र २४ संवदेनशील मतदानस्थल छन् । जिल्लामा राष्ट्रिय मान्यता प्राप्त छ दलबाहेक साना २३ दल यसपटक निर्वाचनमा सहभागी भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *