एकला चलो रे …

डिसी नेपाल
१२ जेठ २०७९ १२:११

काठमाडाैं। स्थानीय तहको निर्वाचनपछि एउटा हातका औंलामा गन्न सकिने स्थानीय तहबाहेक बाँकी सबैको नतिजा आइसकेको छ। करिब साढे ७ सय स्थानीय तहको नतिजा आउँदा सबैभन्दा धेरै चर्चामा काठमाडौं महानगरपालिका, धरान उपमहानगरपालिका र धनगढी उपमहानगरपालिका छन्।

यी महानगर र उपमहानगरमा स्वतन्त्र उम्मेदवारले जितिसकेका छन् वा जित्दै छन् । यी उम्मेदवारहरु कुनै स्थापित दलको राजनैतिक पृष्ठभूमि भएका होइनन्। उनीहरु तीनै जनाको फरक फरक पृष्ठभूमि छ। समानता एउटै हो–उनीहरुले देखाएको भिजनलाई जनताले विश्वास गरेका छन्।

काठमाडौंमा जित्न लागेका बालेन्द्र शाह स्ट्रक्चरल इन्जिनियर र चर्चित हिपहप गायक हुन्। धरानको मेयर निर्वाचित हर्क साम्पाङ राई सामाजिक अभियन्ता हुन्। र, धनगढीको मेयरमा निर्वाचित गोपाल हमाल व्यवसायी हुन् साथमा उनी सामाजिक काममा पनि सक्रिय छन्।

यी तीन उम्मेदवारको जितले एकातिर जनता स्थापित दलको कार्यशैलीप्रति असन्तुष्ट भएको देखाउँछ भने अर्र्कोतर्फ यी उम्मेदवारले अगाडि सारेको दृष्टिकोण र कार्ययोजनालाई विश्वास गरेको देखाउँछ।

त्योभन्दा पनि महत्वपूर्ण कुरा यो हो कि उनीहरुलाई स्थापित दलले सहकार्य गर्न वा आफ्नो दलबाट उम्मेदवार भएर चुनाबमा जान प्रस्ताव गरेका थिए तर उनीहरुले त्यसलाई स्वीकार गरेनन्।

बालेन शाहले काठमाडौंको फोहर व्यवस्थापन, सवारी चापको व्यवस्थापन, महानगरको सबै कुराहरुको पारदर्शिता, महानगरको काम कारवाहीलाई डिजिटलाइजेसन, यहाँको पानीको रिभर्स बोरिङदेखि यहाँका सम्पदा संरक्षण गर्दै पुरानै स्वरुपको काठमाडौंको वकालत गरेका छन्।

हाम्रो राजनैतिक इतिहास हेर्ने हो भने हामीले यसअघि धेरै आशालाग्दा युवा नेता देखेका छौं। विद्यार्थी राजनीतिमा हुँदा उनीहरु निकै आशालाग्दा थिए। तर, तिनै युवा नेताहरु स्थापित दलको भातृ संगठनबाट पदोन्नति भइ मूल दलमा पुगेपछि स्खलित भएका दृष्टान्तहरुको साक्षी पनि हामीहरु नै हौं।

स्थानीय तहको प्रमुख राजनीतिज्ञ नभइ त्यहाँको ‘सीइओ’ अर्थात प्रमुख कार्यकारी अधिकारी हो भन्ने बालेनको फरक तर्कले उनको विजयमा मुख्य भूमिका खेलेको देखिन्छ। स्थापित दलहरुले सिंगापुर, स्विट्जरल्याण्डजस्तो बनाउने सपना बाँडिरहेको परिवेशमा बालेन आएर भनेका छन्-काठमाडौंलाई काठमाडौं नै बनाउनुपर्छ।

उता धनगढीको मेयरमा निर्वाचित गोपाल हमाल यसअघि विवेकशील साझा पार्टीमा थिए। उनको दल नयाँ हो र स्थापित भइसकेको थिएन। तैपनि उनले निर्वाचनमा जाने बेला दलमा रहेर जान चाहेनन्। गएको फागुनमै उनले पार्टीबाट राजीनामा दिएर धनगढीको मेयरमा उम्मेदवारी घोषणा गरेका थिए।

हमालले मेयर बन्नुअघि नै धनगढी उपमहानगरमा कपडा बैंक र निःशुल्क महाप्रस्थान यान पनि सञ्चालन गरेका छन्। मेयरमा निर्वाचित भएपछि उनले धनगढी उपमहानगरपालिकाको कुनै सेवा सुविधा नलिने, भ्रष्टाचार नगर्ने र गर्न नदिई ‘धनगढी मोडेल’ स्थापित गर्ने घोषणा गरेका छन्।

धरानका मेयर हर्क साम्पाङ राई जिद्दी र विद्रोही स्वभावका छन्। करिब १ दशकअघिदेखि नै उनी धराने जनताको सुख दुःखमा साथमा छन्। भुइँमान्छे हर्क जनताका समस्याप्रति संवेदनशील छन्। जनताको समस्याले उनलाई छुन्छन् र उनी तत्काल आवाज उठाउँछन्।

उनी बोल्न हिच्किचाउँदैनन्। जतिबेला, जहाँ पनि अन्याय, अनियमितता वा गर्न नहुने काम भएको देख्छन्, उनी यसको विरोधमा बोल्छन्। उनले निरन्तर खानेपानीको मुद्दा उठाइरहेका छन्। आफू मेयर भएखानेपानीको चुहावट र कालाबजारी तत्काल रोक्ने कामलाई प्राथमिकता दिने उनले बताएका छन्।

हाम्रो राजनैतिक इतिहास हेर्ने हो भने हामीले यसअघि धेरै आशालाग्दा युवा नेता देखेका छौं। विद्यार्थी राजनीतिमा हुँदा उनीहरु निकै आशालाग्दा थिए। तर, तिनै युवा नेताहरु स्थापित दलको भातृ संगठनबाट पदोन्नति भइ मूल दलमा पुगेपछि स्खलित भएका दृष्टान्तहरुको साक्षी पनि हामीहरु नै हौं।

मूल दलको जिम्मेवारीमा पुगेपछि खै किन हो कुन्नी ती जोशिला र आँटिला युवाहरु सेलाउँछन् र दलको मूल नेतृत्वको अगाडि नतमस्तक भइदिन्छन् । यस्तोमा दलले निम्तो दिँदा पनि एक्लै अगाडि बढेर नेतृत्वमा पुगेका यी उम्मेदवारले छुट्टै आशा जगाएका छन्।

दशकौं पहिले महान बंगाली साहित्यकार रविन्द्रनाथ टेगोरले लेखेका थिए ‘जोदी तोर डाक सुने केउ ना आसे, तोबे एकला चलो रे… ।’ अर्थात तिमीले बोलाउँदा कोही आउँदैन भने एक्लै अगाडि बढ। यी उम्मेदवारहरुले पनि पहिले देशमा विद्यमान बेथिति र विसंगतिहरुबारे बोलेका थिए।

तर, उनीहरुको कुरा सुनुवाइ भएन। आफू बाहिर रहेर नेतृत्वलाई खबरदारी गर्दा सुनुवाइ नभएपछि आफैं नेतृत्वमा पुग्नुपर्छ भन्ने लागेको यी तीनै उम्मेदवारले भनिसकेका छन्। जब बोलाउँदा कसैले सुनेनन्, उनीहरु एक्लै अगाढि बढे र अन्ततः गन्तव्यमा पुगेका छन्।

उनीहरुले आफ्नो योजना पहिल्यै सुनाइसकेका छन् र त्यसलाई जनताले मतदानमार्फत अनुमोदन गरिसकेका छन्। अबको ५ वर्ष उनीहरुले कसरी काम गर्छन् भन्ने हेर्न बाँकी नै छ तर उनीहरुले राम्रो काम गर्लान् भन्ने ठूलो आशा भने जनतामा छ।

हाम्रो देशका शक्तिको नजिक पुग्न चाहने र त्यसबाट लाभ लिन लालायित रहने झुण्डको कमी छैन। ती झुण्डहरु यी ‘सीइओ’ हरुको वरिपरी झुम्मिएर चाकडी र चापलुसी गर्ने र लाभ लिने प्रयास नगर्लान् भन्ने सकिन्न। त्यसबाट बच्नको लागि पनि उनीहरुले टेगोरको ‘एकला चलो रे…’ लाई पच्छ्याउनै पर्छ।

काम गर्नको लागि टिम चाहिन्छ। त्यो टिममा विषय विज्ञ होउन्, दूरदर्शिता र क्षमता भएकाहरु होउन् । चाकडीबाजले त्यसमा ठाउँ नपाउन्। भिजन यी ‘सीइओ’हरुले नै देखाएका हुन् । अब त्यसलाई ‘इम्प्लिमेन्ट’ गर्ने बेला आएको छ।

यसको लागि उनीहरुले नेतृत्वदायी भूमिका खेल्नुपर्छ। टिमलिडर यी निर्वाचित मेयरहरु नै हुन्। नेतृत्व उनीहरुले नै गर्नुपर्छ। काम गर्ने टिम सानो–ठूलो होला तर टिमलिडर एक्लै हुन्छ। त्यसैले आफ्नो गन्तव्य सम्झिएर अबको ५ वर्षसम्म पनि टिमको नेतृत्व गर्दै एक्लै अगाडि बढुन्।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *