डडेल्धुरा मेडिकल कलेजबाहेक सुदूरपश्चिममा नयाँ योजना समेटिएनन्

डिसी नेपाल
१६ जेठ २०७९ ८:५६

धनगढी। सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दा सुदूरपश्चिम प्रदेशमा नयाँ योजना भने परेका छैनन्। डडेल्धुरामा मेडिकल कलेज निर्माणकाे सम्भाव्यता अध्ययन गर्ने योजनाबाहेक अन्य नयाँ योजना सुदूरपश्चिममा पर्न सकेनन्।

प्रस्ताविक गेटा मेडिकल कलेजलाई र धनगढी-३ मा रहेका फाप्ला क्रिकेट मैदानलाई खेल ग्राम बनाउने पुरानै कार्यक्रमलाई निरन्तरता दिइएकाे छ । प्रस्तावित गेटा मेडिकल कलेजलाई शिक्षा मन्त्रालय अन्तर्गत रहने गरी सुदूरपश्चिम विश्वविद्यालयको मातहतमा राख्ने र फाप्लालाई खेल ग्राम बनाउने घोषणा बजेटमा गरिएकाे छ।

यसबाहेक सेती लोकमार्ग, पश्चिम सेती जलविद्युत आयोजना, रानीजमरा कुलरिया सिंचाई आयोजना, महाकाली करिडोर, महाकाली सिंचाइ आयोजना, दैजी-छेला औद्योगिक क्षेत्र, सुख्खा बन्दरगाह, हरैया आर्थिक क्षेत्र, धनगढी विमानस्थलकाे स्तराेन्नति कार्य विगतकै योजनाका निरन्तरताका रुपमा आएका छन्।

पश्चिमसेती जलविद्युत आयोजना
आगामी आर्थिक वर्ष २०७९/८० मा सरकारले पश्चिम सेती जलविद्युत आयोजनाको कामलाई अगाडि बढाउने घोषणा गरेको छ। यसअघि कहिले थ्री गर्जेज त कहिले अस्ट्रेलियन कम्पनीका नाममा अल्झिएको पश्चिमसेती जलाशययुक्त आयोजना यस पटक सरकार आफैले निर्माण गर्ने वा दातृ निकायको सहयोगमा सञ्चान हुने भन्ने खुलाइएको छैन।

आइतबार आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बहुचर्चित ७ सय ५० मेघावाटको पश्चिमसेती जलविद्युत आयोजनाको निर्माण कार्य अगाडि बढाइने घोषणा गरेका हुन्। शर्माले प्रस्तुत गरेको बजेट वक्तव्यमा पश्चिमसेती जलविद्युत योजनाको प्राविधिक तयारी गरी निर्माण कार्य अगाडि बढाइने मात्रै उल्लेख छ।

धार्मिक पर्यटकिय स्थल 
सुदूरपश्चिममा ७ वटा धार्मिक पर्यटकीय स्थलका रुपमा अघि बढाउने घोषणा सरकारले गरेकाे छ। बैतडीको डिलासैनी मन्दिर, बैतडीकै निङलासैनी र मेलौली मन्दिर, डोटीको शैलेश्वरी मन्दिर, डडेल्धुराको उग्रतारा मन्दिर तथा बैतडीको त्रिपुरासुन्दरी मन्दिर र बाजुराको बडिमालिका मन्दिरलाई धार्मिक पर्यटकीय स्थलका रुपमा अघि बढाइने आइतबार सरकारले सार्वजनिक गरेको बजेट वक्तव्यमा उल्लेख छ।

धार्मिक पर्यटकीय स्थलका रुपमा ७ वटा मन्दिरलाई अघि बढाउन आवश्यक पूर्वाधार निर्माण गरिने उल्लेख छ। यसअघि पनि डोटीको शैलेश्वरी मन्दिर, डडेल्धुराको उग्रतारा मन्दिर, बैतडीको मेलौली भगवती मन्दिर र डिलाशैनी मन्दिर तथा बाजुराको रामारोशनलाई पर्यटकीय स्थलका रुपमा अघि बढाइने गरी बजेट वक्तव्यमा उल्लेख छ।

धनगढी अत्तरिया मेगासीटी योजना समेटिएन
आर्थिक बर्ष ०७७/०७८ देखि बजेटमा समावेस हुँदै आएको धनगढी-अत्तरिया मेगासिटी निर्माण गर्ने योजनालाई आगामी आर्थिक बर्षको बजेटमा भने समावेश गरिएको छैन। निरन्तर दुई वर्षसम्म मेगासिटी निर्माण गर्ने भन्दै संघीय सरकारको बजेटमा समावेश हुँदै आएको थियो । सो योजना अन्तर्गत धनगढीदेखि अत्तरिया जोड्ने ११ किलोमिटर क्षेत्रमा औद्यागिक क्षेत्र निर्माण गरिने, व्यापार क्षेत्रको विस्तार गरिने योजना रहेको थियो । सो योजना संघीय सरकारले आगामी वर्षको बजेटबाट हटाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *