आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपालद्वारा ओमान सहजै पराजित

डिसी नेपाल
१ असार २०७९ ६:४३

काठमाडाैं। आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले ओमानलाई सहजै पराजित गरेको छ। अमेरिकाको टेक्सासस्थित मोसा क्रिकेट मैदानमा केहीबेर अघि सम्पन्न खेलमा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको हो । ओमानविरुद्धको खेलमा नेपालका करन केसीले उत्कृष्ट बलिङ गर्दै एक्लैले पाँच विकेट लिएपछि जित सहज बनेको हो ।

ओमानले टस जितेर पहिला ब्याटिङ रोजेको थियो। ओमानले ४६ दशमलव पाँच ओभरमा सवै विकेट गुमाएर मात्र १६३ रन बनाउन सक्यो । एक सय ६४ रनको विजयी लक्ष्य नेपालले तीन विकेट गुमाएर ३३ दशमलव एक ओभरमा पूरा गर्‍यो ।

नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय पारी खेले । भुर्तेलले ७५ बलको सामना गर्दै पाँच चौकाको मद्दतमा ५६ रन बनाए । शेखले ८६ बलमा ६२ रन बनाए । यसमा उनको एक छक्का र सात चौकासमेत सामेल थियो ।

यस्तै देव खनालले १२ बलमा एक चौकासहित १० तथा उपकप्तान रोहितकुमार पौडेलले अविजित २६ रनको योगदान दिए । उनले २१ बलको सामना गर्ने क्रममा एक छक्का र एक चौका हिर्काए । दीपेन्द्रसिंह ऐरीले अविजित रहँदै सात रन बनाए ।

बलिङतर्फ ओमानका फायाज बटले दुई तथा खवर अलीले एक विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको ओमान निर्धारित ५० ओभरको खेलमा १६३ रनमै खुम्चियो । ओमानका लागि कप्तान जिशन मक्सुदले अर्धशतकीय पारी खेले । उनले एक सय बलको सामना गर्ने क्रममा तीन चौकाको मद्दतमा ५२ रनको योगदान दिए । यस्तै सन्दीप गौडले ९१ बल खेल्दै एक छक्का र तीन चौकासहित ४७ रन बनाए ।

बलिङतर्फ नेपालका करन केसीले पाँच, कप्तान सन्दीप लामिछानेले तीन तथा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए । जितसँगै नेपाल अङ्क तालिकाको पाँचाँै स्थानमा उक्लिएको छ । नेपालले हालसम्म खेलेको १५ खेलमध्ये सातमा जित निकाल्दै १५ अङ्क जोडेको छ । नेपालले अर्को खेल आज राति ९ : १५ बजे घरेलु टोली अमेरिकासँग खेल्ने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *