इङ्ल्याण्डले बनायो एकदिवसीय क्रिकेट इतिहासकै ठूलो स्कोर, अरू थुप्रै रेकर्ड पनि बने

डिसी नेपाल
४ असार २०७९ १३:५३

काठमाडौं । इंग्ल्याण्ड क्रिकेट टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने आफ्नै विश्व कीर्तिमान तोडेको छ । टस हारेर पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले नेदरल्यान्ड्सविरुद्ध तीन ब्याट्सम्यानको शतकको मद्दतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ४९८ रन बनाएको छ । एकदिवसीय क्रिकेटमा पहिलो पटक ५०० रनको अंक छुने अवसर मात्र २ रनले पूरा हुन सकेन ।

यसअघिको रेकर्ड ४८१/६ थियो र यो इङ्ल्याण्डले नै बनाएको थियो । इङ्ल्यान्ड टोलीले नटिङ्घममा अस्ट्रेलियाविरुद्ध १९ जुन २०१८ मा त्यो स्कोर बनाएको थियो। इङ्ल्यान्डका लागि फिल साल्ट (१२२), डेभिड मलान (१२५) र जोस बटलर (१६२) ले एक इनिङ्समा शतक बनाए । एकदिवसीय क्रिकेटको इतिहासमा तीन ब्याट्सम्यानले एक इनिङमा शतक बनाएको यो तेस्रो पटक हो। यसअघि सन् २०१५ मा दक्षिण अफ्रिकाले वेस्ट इन्डिज र भारतविरुद्ध एक इनिङमा तीन–तीन शतक बनाएको थियो ।

जोस बटलरले ४७ बलमा शतक पूरा गरे । एकदिवसीय क्रिकेटमा योभन्दा छिटो सात ब्याट्सम्यानले कुल ८ पटक बनाएका छन् । बटलरले पनि यसअघि २०१५ मा पाकिस्तानविरुद्ध ४६ बलमा शतक बनाएका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो शतक प्रहार गर्ने कीर्तिमान दक्षिण अफ्रिकाका एबी डिभिलियर्सको नाममा छ । डिभिलियर्सले सन् २०१५ मा वेस्ट इन्डिजविरुद्ध ३१ बलमा शतक बनाएका थिए ।

बटलरले आफ्नो पारीमा १४ छक्का र ७ चौका प्रहार गरेका थिए । एकदिवसीय क्रिकेटको एक इनिङमा सबैभन्दा बढी १७ छक्का प्रहार गर्ने कीर्तिमान इङ्ल्यान्डका कप्तान इयोन मोर्गनको नाममा छ । मोर्गनले यो उपलब्धि २०१९ मा अफगानिस्तानविरुद्धको खेलमा गरेका थिए । अहिलेसम्म कुनै ब्याट्सम्यानले एक इनिङमा १४ वा सोभन्दा बढी छक्का प्रहार गरेको कुल ९ पटक भएको छ ।

इंग्ल्यान्डका ब्याट्सम्यानको आँधी यस्तो थियो कि नेदरल्याण्डका चार बलरले ८० वा सोभन्दा बढी रन दिए । धेरैजसो धुलाई फिलिप बोइसेभिनको भयो । उनले १० ओभरमा १०८ रन दिए । उनले कुनै विकेट पनि लिन सकेनन् । एकदिवसीय क्रिकेटमा यो भन्दा बढी रन मात्र तीन बलरले दिएका छन् । अस्ट्रेलियाका माइकल लुइसले सन् २००६ मा जोहानेसबर्गमा दक्षिण अफ्रिकाविरुद्ध १० ओभरमा ११३ रन दिएका थिए । यो एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै रन दिएको विश्व कीर्तिमान हो।

पाकिस्तानका वाहब रियाजले सन् २०१६ मा इंग्ल्याण्डविरुद्ध १० ओभरमा ११० रन दिएका थिए । अफगानिस्तानका राशिद खानले २०१९ मा म्यानचेस्टरमा इङ्ल्यान्डविरुद्ध ९ ओभरमा ११० रन दिएका थिए।

इंग्ल्याण्डका लागि लियाम लिभिङ्स्टनले पनि उत्कृष्ट ब्याटिङ गरे । उनले २२ बलमा ६ चौका र ६ छक्का प्रहार गर्दै ६६ रन बनाए । उनको स्ट्राइक रेट ३ सय थियो । लिभिङ्स्टनले १७ बलमा आफ्नो अर्धशतक पूरा गरे। यो ढाँचामा इंग्ल्याण्डका लागि सबैभन्दा छिटो अर्धशतक हो। यसअघि कीर्तिमान इयोन मोर्गन (२१ बल) को नाममा थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *