काँक्रेविहार हाफ म्याराथन दौड प्रतियोगिता हुँदै
सुर्खेत । वीरेन्द्रनगरमा यही असार ७ गते प्रथम काँक्रेविहार खुला हाफ म्याराथन दौड प्रतियोगिता हुने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसर पारी कर्णाली प्रदेश खेलकुद विकास परिषद्को समन्वयमा मिड वेस्टर्न फिटनेस सेन्टर सुर्खेतले प्रतियोगिता आयोजना गर्न लागेको हो ।
प्रतियोगितामा करिब एक हजार खेलाडी सहभागी हुनेछन् । म्याराथन दौड वीरेन्द्रचोकबाट सुरु भई मङ्गलगढी हुँदै सुब्बाकुना, बुलबुले, बाङ्गेसिमल, खोर्केखोला भएर पुनः वीरेन्द्रचौकमै पुगेर समापन हुनेछ । प्रतियोगितामा खुला पुरुषतर्फको हाफ म्याराथनमा २१ किमी तथा विद्यालयस्तरको छात्र–छात्रातर्फको म्याराथनमा पाँच किमी दौड हुने आयोजक संस्थाले जनाएको छ ।
खुला पुरुषतर्फको दौडमा पहिलो हुनेले रु ७१ हजार पुरस्कार पाउनेछन् । दोस्रोलाई ४१ हजार, तेस्रोलाई ३१ हजार, चौथोलाई २० हजार, पाँचौँलाई १५ हजार र छैटौँ स्थान हासिल गर्ने खेलाडीलाई रु १० हजार पुरस्कार दिइनेछ । त्यस्तै विद्यालयस्तरको म्याराथन प्रतियोगितामा पहिलोलाई रु १० हजार, दोस्रोलाई रु सात हजार र तेस्रो हुनेलाई रु पाँच हजार नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता सञ्चालनका लागि प्रदेश खेलकुद विकास परिषद्ले रु छ लाख उपलब्ध गराएको छ ।
परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्यालले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको पूर्वतयारीमा रहेको भन्दै त्यसका लागि विभिन्न अभ्यास खेल र प्रतियोगिता सञ्चालन हुने बताए । “म्याराथन प्रतियोगिताले पनि कर्णाली खेलकुद क्षेत्रको विकासमा दौडिरहेको सन्देश दिनेछ”, उनले भने, “प्रतिभालाई प्रतियोगितामा उतारेर कर्णालीलाई म्याराथनबाटै चिनाउन मद्दत पुग्नेछ ।”
No ads found for this position

डिसी नेपाल
Facebook Comment