काँक्रेविहार हाफ म्याराथन दौड प्रतियोगिता हुँदै

डिसी नेपाल
४ असार २०७९ २१:४७

सुर्खेत । वीरेन्द्रनगरमा यही असार ७ गते प्रथम काँक्रेविहार खुला हाफ म्याराथन दौड प्रतियोगिता हुने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसर पारी कर्णाली प्रदेश खेलकुद विकास परिषद्को समन्वयमा मिड वेस्टर्न फिटनेस सेन्टर सुर्खेतले प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा करिब एक हजार खेलाडी सहभागी हुनेछन् । म्याराथन दौड वीरेन्द्रचोकबाट सुरु भई मङ्गलगढी हुँदै सुब्बाकुना, बुलबुले, बाङ्गेसिमल, खोर्केखोला भएर पुनः वीरेन्द्रचौकमै पुगेर समापन हुनेछ । प्रतियोगितामा खुला पुरुषतर्फको हाफ म्याराथनमा २१ किमी तथा विद्यालयस्तरको छात्र–छात्रातर्फको म्याराथनमा पाँच किमी दौड हुने आयोजक संस्थाले जनाएको छ ।

खुला पुरुषतर्फको दौडमा पहिलो हुनेले रु ७१ हजार पुरस्कार पाउनेछन् । दोस्रोलाई ४१ हजार, तेस्रोलाई ३१ हजार, चौथोलाई २० हजार, पाँचौँलाई १५ हजार र छैटौँ स्थान हासिल गर्ने खेलाडीलाई रु १० हजार पुरस्कार दिइनेछ । त्यस्तै विद्यालयस्तरको म्याराथन प्रतियोगितामा पहिलोलाई रु १० हजार, दोस्रोलाई रु सात हजार र तेस्रो हुनेलाई रु पाँच हजार नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता सञ्चालनका लागि प्रदेश खेलकुद विकास परिषद्ले रु छ लाख उपलब्ध गराएको छ ।

परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्यालले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको पूर्वतयारीमा रहेको भन्दै त्यसका लागि विभिन्न अभ्यास खेल र प्रतियोगिता सञ्चालन हुने बताए । “म्याराथन प्रतियोगिताले पनि कर्णाली खेलकुद क्षेत्रको विकासमा दौडिरहेको सन्देश दिनेछ”, उनले भने, “प्रतिभालाई प्रतियोगितामा उतारेर कर्णालीलाई म्याराथनबाटै चिनाउन मद्दत पुग्नेछ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *