पार्टीको नाम ‘स्वतन्त्र’ राखिएको भन्दै रवि लामिछानेको आलोचना

शरद रिजाल
८ असार २०७९ ७:२९

काठमाडौं। चर्चित सञ्चारकर्मी रवि लामिछानेले दलको नाममा स्वतन्त्र शब्द राखिएको भन्दै आलोचना भएको छ। मंगलबार लामिछानेले घोषणा गरेको दल स्वतन्त्र राष्ट्रिय पार्टीको नाममा ‘स्वतन्त्र’ राखिएपछि राजनीतिकर्मी तथा अधिकांश स्वतन्त्र ब्यक्तित्वहरुले उनको आलोचना गरेका हुन्।

स्वतन्त्र भन्ने शब्द आफैंमा कसैप्रति संलग्न नभएको भनेर बुझिन्छ। अर्थात् चलनचल्तीमा भन्दा कुनै दलमा आवद्धता नभएको भनेर राजनीतिक क्षेत्रमा बुझिन्छ ।
नेपालमा भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा एक महानगर र अन्य केही उपमहानगरमा राजनीतिक दल बेगरका उम्मेदवारहरुले स्वतन्त्ररुपमा उम्मेदवारी दिई निर्वाचित समेत भएका छन्।

यही ‘सेन्टिमेन्ट’लाई ‘क्याच’ गर्न उनले पार्टीमा स्वतन्त्र थपिएको समेत कतिपयले आशंका ब्यक्त गरेका छन्। कतिपय स्वतन्त्र ब्यक्तिहरुले स्वतन्त्र हुन पाउनेको अधिकार समेत हनन् गरिएको भन्दै अब नेपालमा कोही पनि स्वतन्त्र हुन नपाउने भए भन्दै उनको आलोचना गरेका छन्।

कतिपयले निश्ति बिचार र उद्देश्य बोकेकाहरुको संगठित शक्ति नै पार्टी भएकाले कहिल्यै पनि स्वतन्त्र हुन नसक्ने भन्दै लामिछानेको तीब्र आलोचना गरिरहेका छन्।
स्वतन्त्र हुन स्वतन्त्र पार्टी किन चाहियो भन्दै उनका सहोदर दाजु हरिशरण लामिछानेले समेत कटाक्ष गरेका छन्। उनले राजनैतिकरुपमा उक्त पार्टीमा जीवनभर नलाग्ने घोषणा समेत सामाजिक संजालमार्फत गरेका छन्।

उनले रविको पार्टीले परिवारवाद निषेध गरिएकोप्रति अब उक्त पार्टीमा लाग्न जन्मकुण्डली हेराएर कोही नाता नपर्ने भए मात्रै लाग्नु भन्दै ब्यंग्य गरेका छन्। उनले आफूलाई पार्टीमा नआओस् भनेर रविले परिवारवाद निषेध गरेको आरोप समेत लगाएका छन्।

हरिशरण लामिछानेले सामाजिक संजालमा लेखेका छन्, ‘नयाँ पार्टी घोषणा गरेकोमा रबि लामिछानेलाई बधाई। पार्टीको नीति अनुसार, परिवारबाद निषेध गरिनु राम्रो प्रयास हो। यस क्रममा मनमा लागेको एउटा रोचक कुराः कुनै पनि नयाँ सदस्यले अब देशभर आफ्नो जन्मकुन्डलीलाई अर्को सदस्यसँग भिडाइ नाता ूअप्रमाणितू भएको प्रमाणपत्र लिएर मात्र पार्टी प्रबेश गर्नु होला। पछि आपसी मायाप्रेममा परि बिहेबारी भै कुनै अवस्थामा नाता प्रमाणित भएमा सदस्यता खारेज हुन सक्छ है। लामिछानेू बन्धुहरु सरसल्लाह गर्नुहोला, दर्ता हुन बाँकी सो पार्टीका कुनै पनि गतिबिधिमा म परिवारको नातेदारको नाताले नैतिक रुपले सम्लग्न हुने त कुरै भएन। राजनैतिक रुपले त्यो पार्टिमा म आजिबन रहने छैन भन्ने जानकारी पनि गराउदछु। स्वतन्त्र र दलगत राजनितिका लागि मसँग अपार अवसर र सम्भाबना छन्।’

भर्खरै घोषणा गरिएको रवि लामिछानेको पार्टीको नामलाई स्वतन्त्रको उपमा दिँदै दलको नाम राखिएको भन्दै अर्का एमाले नेता सुर्य थापाले उनको पार्टीको नामले स्वतन्त्र उम्मेदवार या ब्यक्तिको अधिकार हनन् गरेको आरोप लगाएका छन्।

उनले सामाजिक सञ्जालमार्फत दलको नाम स्वतन्त्र राखिएकोप्रति तीब्र आलोचना गरेका छन्। उनले लामिछानेको दललाई निर्वाचन आयोगले दर्ता गर्न नहुने समेत बताएका छन्। नेता थापाले सामाजिक संजालमा लेखेका छन्, ‘कानुनतःस्वतन्त्र उम्मेदवारी ब्यक्तिको सार्वभौम अधिकार हो। ब्यक्तिले दलमा लाग्दिन भनेर स्वतन्त्ररुपमा निर्वाचन लड्न र जितन पाउने गरि कानुनले सुरक्षित गरेको अधिकार छिनेर स्वतन्त्र पार्टी गठन गरिनु कानुन विपरित हो। स्वतन्त्र उम्मेदवारीमा नै भ्रम र अनयौल उत्पन्न हुने गरि कसैले पनि पार्टी बनाउन खोज्छ भने निर्वाचन आयोगले दर्ता गर्नु हुँदैन।’

यस्तै पूर्वमन्त्री तथा माओवादी नेता हाल स्वतन्त्र जीवनयापन गरिरहेका लोकेन्द्र विष्टले लामिछानेले दलको नाममा स्वतन्त्र शब्द जोडिएकोप्रति कटाक्ष गरेका छन्। उनले सामाजिक संजालमा पार्टी पनि स्वतन्त्र ! भन्दै लामिछानेप्रति ब्यंग्यप्रहार गरेका छन्।

पूर्वमन्त्री विष्टले सामाजिक संजालमा लेखेका छन्, ‘पार्टी पनि स्वतन्त्र ?’

पार्टीले निर्दिष्ट गरेको बिचार र सिद्धान्तलाई अंगीकार गर्ने सदस्यहरुको संस्थागत संरचना नै संगठन अर्थात पार्टी भएको उनको आशय छ। सञ्चार क्षेत्रबाटै राजनीतिमा आएका रविन्द्र मिश्रले भने शुभकामना दिएका छन्। उनले पार्टी गठन र सञ्चालन गर्ने क्रममा आफूल गरेकोे कमजोरीबाट सिक्न सुझाव समेत दिएका छन्।

मिश्रले सामाजिक संजालमा लेखेका छन,  ‘प्रिय रवी, तिमी सानै हुँदादेखि चिनेकोले मैले ‘तिमी’ भनेर सम्बोधन गर्ने थोरै मान्छेमा पर्छौ तिमी। मैले आशा गरेको थोरै मान्छेमा पर्छौ तिमी। पार्टी निर्माणको क्रममा हामीले गरेको कमजोरीबाट धेरैभन्दा धेरै सिक्ने प्रयास गर। तिम्रो सफलताका लागि हृदयदेखि शुभकामना व्यक्त गर्दछु!’

उनको पार्टीलाई तत्कालिन बाबुराम भट्टराईको नयाँ शक्ति र रविन्द्र मिश्रको साझा पार्टीसँग तुलना गरेर समेत बिचार विमर्श गर्न पनि थालिएको छ।
नेपालको राजनीतिमा वैकल्पिक शक्तिको आवश्यकता भएको बोध गर्दै भट्टराईले २०७२ को संविधान जारी भएको केही समय पछि बाबुराम भट्टराईले पनि निकै तामझामका साथ नयाँ शक्ति पार्टी गठन गरेका थिए।

तर, उनको पार्टी यथोचित स्थान लिन सकेन र अन्ततः उपेन्द्र यादवको फेरममा विलय भइ समाजवादी पार्टी गठन गरिएसँगै उक्त पार्टी अस्तित्वविहीन बन्न पुग्यो। यस्तै वैकल्पिक राजनीतिक शक्तिको रुपमा स्थापित गर्ने भन्दै गठन गरिएको मिश्रको साझा पार्टीले समेत उल्लेख्य सफलता हासिल गर्न सकिरहेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *