साफको अध्यक्षमा सलाहुदिन, उपाध्यक्षको टुंगो लागेन

डिसी नेपाल
१८ असार २०७९ १९:०९

काठमाडौं । बंगलादेशको ढाकामा सम्पन्न दक्षिण एसियली फुटबल फेडेरेसन(साफ) को कंग्रेसले काजी मोहम्मद सलाहुदिनलाई अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको छ ।

अध्यक्षमा निरन्तरता दिने निर्णय गरेसँगै बंगलादेश फुटबल संघका अध्यक्ष समेत रहेका सलाहुदिनले २०२६ सम्म साफ प्रमुखको भूमिका निर्वाह गर्ने भएका छन् ।

साफको शनिबार बसेको चुनावी साधारणसभाले भुटान फुटबल संघका उग्येन वाङ्चुकलाई महासचिवमा पुनः दोहोर्‍याएको छ ।

यस्तै, उपाध्यक्षको विषयमा भने साफले टुंगो लगाउन सकेन । उपाध्यक्षमा दुई पद रहनेछ ।

उपाध्यक्ष आगामी कांग्रेस २०२३ मा हुने साफले जनाएको छ । यसअघि नेपालबाट निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए ।

तर, पंकजविक्रम नेम्बाङ अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष पदमा निर्वाचित भएपछि सुन्दरनरसिंह जोशीलाई उपाध्यक्षमा पठाउने निर्णय गरेको थियो ।

यस्तै, साफ कंग्रेसले महिला साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको छ । एन्फाले साफ १३ देखि २५ भदौसम्म नेपालमा आयोजना गर्ने प्रस्ताव गरेको थियो ।

शनिबारको कंग्रेसले सोही मितिमा प्रतियोगिता आयोजनाको जिम्मा नेपाललाई दिएको हो । यस्तै यु–१७ साफ च्याम्पियनसिप श्रीलंकाले आयोजना गर्ने निर्णय गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *