राज्यद्रोहको आशंकामा पक्राउ परेका रुसी वैज्ञानिकको मृत्यु
मस्को। गत हप्ता साइबेरियामा राज्यद्रोहको आशंकामा पक्राउपछि मस्कोतर्फ लगिएका रुसी वैज्ञानिकको मृत्यु भएको छ । उनको मृत्यु भएको उनका वकिल र परिवारका सदस्यले पुष्टि गरेका छन् । उनी क्यान्सरबाट पीडित थिए।
पक्राउ लगत्तै ५४ वर्षीय भौतिकशास्त्री दिमित्री कोल्करलाई लेफोर्टोभो जेलमा राखिएको थियो। बिरामी भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। उनलाई नलीबाट खुवाइएको थियो। उनीमाथि लागेका आरोप आधारहिन भएको उनका भाइ एन्टोन डियानोभले बताए। उनीमाथि राज्यका गोप्य विषय चीनलाई जानकारी दिएको आरोप लागेको छ।
‘उहाँ एक वैज्ञानिक हुनुहुन्थ्यो। उहाँ आफ्नो देशलाई माया गर्नुहुन्थ्यो। विदेशमा काम गर्न प्रमुख विश्वविद्यालय र प्रयोगशालाको निमन्त्रणाका बाबजुद आफ्नो देशमा काम गरिरहनुभएको थियो’, डियानोभले भने, ‘उहाँ रुस काम गर्न चाहनुहन्थ्यो।’ उनीमाथि लागेका सबै आरोप हास्यास्पद भएको उनले बताए।
केही रूसी वैज्ञानिकहरूलाई हालैका वर्षहरूमा विदेशीहरूलाई संवेदनशील सामग्री पठाएको आरोपमा पक्राउ गरी देशद्रोहको आरोप लगाइएको छ। उनीहरुमाथिको आरोप निराधार भएको क्रेमलिनका आलोचक बताउँछन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment