काविल अफिसरलाई पछि पारेर एसएसपी बढुवामा विवादितहरुको बाहुल्यता
काठमाडौं । नेपाल प्रहरीको एसपीबाट एसएसपी बढुवा सिफारिसमा विवादितहरुको बाहुल्यता रहेको छ । राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा आएका तर कार्यकालमा विवादित छवि बनाएका एसपीहरु एसएसपीमा बढुवा भएका छन् ।
२०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भई २०५८ सालमा नेपाल प्रहरीमा आएका ३४ जना मध्ये २०७४ सालमा एसपी भएहरु धेरै विवादित रहेका अधिकारीहरु एसएसपीमा बढुवा सिफारिस भएका हुन् । प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट ३१ असार २०७४ मा एसपीमा बढुवा हुँदा १०औँ नम्बरसम्म राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा स्थानान्तरण भएर आएको टोली सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, माधवप्रसाद श्रेष्ठ, डम्बरबहादुर विक, उमाप्रसाद चतुर्वेदी, ओमबहादुर राना, सुरेन्द्रबहादुर गुरुङ, हिमालयकुमार श्रेष्ठ बढुवा भएका छन् ।
जसमध्ये शाह पहिलो नम्बरमा एसएसपीमा सिफारिस भएका छन् । उनी रौतहटको प्रहरी प्रमुख हुँदा पत्रकारको मोटरसाइकलमा प्रहरीलाई लागुऔषध राख्न लगाएर फसाएका थिए । उनको विषयमा छानविन समिति बनेको थियो तर प्रहरी प्रधानकार्यालयले सो कारवाही नगरी ललितपुर प्रहरी परिसरमा खटाएको थियो ।
ओम बहादुर राना रसुवाको प्रमुख हुँदा रक्तचन्दन तस्करी गराएको आरोपमा निलम्बनमा परेका थिए । उनीसँगै रहेका नेपाली सेनाका एक मेजरलाई जागिर बाट बर्खास्त गरिएको थियो ।
हाल बढुवा सिफारिसमा परेका दिलिपसिंह देउवा बारामा कार्यरत रहेका छन् । उनी केही समयअघि मदिराले मस्त भएर कार दुर्घटनामा परेर थिए । गुपचुप रुपमै केही दिन नारायणी क्षेत्रीय अस्पतालमा भर्ना भएका उनलाई सशस्त्र प्रहरीलाई हतियार तस्करीमा फसाएको आरोप समेत लागेको छ । सञ्जीवदास शर्माले रामेछापमा एक हत्याकाण्डलाई लुकाउन ठूलो आर्थिक चलखेल गरेको भन्दै प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको थियो ।
सोही टोलीका एसपी मनोजकुमार यादव जिम्मेवारी निर्वाह गर्न नसकेको भनेर कपिलवस्तुबाट पाँच महिनामै हटाइएका थिए । धादिङ प्रहरी प्रमुखको जिम्मवारी राम्रोसँग सम्हाल्न नसकेको भन्दै एसपी डम्बर विक ५ महिनामै २०७५ माघमा जिम्मेवारीबाट हटाइएका थिए । एसपी सुरेन्द्र गुरुङले त जुवाडेबाट बरामद गरिएको पैसा नै लुकाएको पुष्टि भएको थियो ।
गत वर्षको दसैं–तिहारमा जुवाडे पक्राउ गरी उनीहरुको पैसा लुकाएको विषय छानबिनबाट पुष्टि भएपछि उनको स्थानमा शेखर खनाललाई गोरखाको प्रहरी प्रमुखको जिम्मेवारी दिइएको थियो । अर्का विवादित पात्र एसपी शारदाप्रसाद चौधरीलाई आचारण विपरित कार्य गरेको भन्दै हटाइएको थियो ।
२०६१ सालमा गुल्मीमा रहँदा आचरण विपरित काम गरेको भन्दै उनलाई हटाइएको थियो । २०६९ माघमा दैलेखमा रहँदा राम्रो भूमिका निर्वाह गर्न नसकेको भन्दै उनीसहित तीन प्रहरीको जिम्मेवारी खोसिएको थियो । अहिले यी सबै विवादित पात्रलाई नेपाल प्रहरीले बढुवामा सिफारिस गरेको छ ।
त्यस्तै टीकाबहादुर केसीले आफ्नो पेस्तोल नै हराएर कारवाहीमा परेका थिए । २०७२ पुसमा कीर्तिपुरको चाल्नाखेलमा एभरेस्ट ग्यासको रिफिलिङ सेन्टरमा प्रहरी र स्थानीयबीच झडप हुँदा उनको पेस्तोल हराएका थिए । उनीहरुले नेपाल प्रहरीको २०५६को व्याजभन्दा पछि २०५८ सालमा राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा आएर प्रहरीको तालिम गरेका थिए ।
२०५६ सालमा भर्ना भई नेपाल प्रहरीका काविल रहेका अफिसरलाई उनीहरुले पछि पारेका छन् । राअविबाट आएका भन्दा अघि प्रहरी तालिम गरेका एसपीहरू विश्व अधिकारी, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल, भूपेन्द्र खत्री, सोमेन्द्रसिंह राठौर, सविन प्रधान, दिनेश मैनाली, बेलबहादुर पाण्डे, वसन्त रजौरे, गंगा पन्त लगायतका सबैलाई पछि पारिएको छ ।







डिसी नेपाल








Facebook Comment