सैनिक विमान चढेर श्रीलंकाका राष्ट्रपतिले देश छाडे
काठमाडौं। श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षेले देश छाडेका छन्। मुलुक आर्थिक संकटमा परेपछि भएको विरोध प्रदर्शन थेग्न नसकेपछि राजपक्षे स्थानीय समयअनुसार बुधबार बिहान ३ बजे सैनिक विमान चढेर मालदिभ्सको राजधानी माले पुगेका छन्।
राजपक्षेले मुलुक छाडेसँगै श्रीलंकामा वर्षौंदेखिको एक परिवार शासन अन्त्य भएको छ। उनले आज राजीनामाको घोषणा गर्दैछन्। बीबीसीका अनुसार राजपक्षेसँगै उनका भाइ पूर्व अर्थमन्त्री बासिल राजपक्षेले पनि छाडेका छन्।
राष्ट्रपतिको प्रस्थानको खबर सार्वजनिक भएपछि राजधानी कोलम्बोको प्रमुख प्रदर्शनस्थलमा सर्वसाधारण मानिसले उत्सव मनाएका छन्।
मङ्गलवार साँझ त्यहाँ राष्ट्रपतिको राजीनामाको पर्खाइमा हजारौँ मानिस भेला भएका थिए। श्रीलङ्कामा उत्पन्न अभूतपूर्व आर्थिक सङ्कटका लागि राजपक्षको प्रशासनलाई दोष दिइएको छ।
महिनौँदेखि दैनिक विद्युत् कटौती तथा इन्धन, खाना र औषधि जस्ता आधारभूत सामग्रीको अभावविरुद्ध मानिसहरू सङ्घर्ष गरिरहेका छन्। पदमा रहँदा अभियोगबाट उन्मुक्ति पाएका यी नेता पदमुक्त भएपछि नयाँ प्रशासनको गिरफ्तारीबाट बच्न विदेश भागेको ठानिएको छ।
देशलाई आर्थिक सङ्कटबाट बाहिर निकाल्न क्रियाशील सरकार चाहिन्छ। यद्यपि राष्ट्रपतिले देश छोडेपछि शक्ति असन्तुलित हुने सम्भावना देखिएको छ। अन्य दलका नेताहरूले नयाँ सरकार बनाउनेबारे छलफल गरेको भए पनि सहमतिको नजिक पुग्ने कुनै सङ्केत देखिएको छैन। उनीहरूको निर्णय सर्वसाधारण जनताले स्वीकार गर्छन् या गर्दैनन् भन्ने समेत स्पष्ट छैन।
संविधानअनुसार राष्ट्रपतिले राजीनामा दिएको खण्डमा प्रधानमन्त्री रनिल विक्रमसिङ्घले उनको स्थानमा काम गर्नुपर्छ। प्रधानमन्त्रीलाई संसद्मा राष्ट्रपतिको सहायक मानिन्छ।
यद्यपि विक्रमसिङ्घ पनि निकै अलोकप्रिय छन्। गत शनिवार प्रदर्शनकारीहरूले उनको निजी निवासमा आगो लगाएका थिए। त्यतिबेला उनी र उनको परिवार घरभित्र थिएनन्। उनले नयाँ सरकार गठन गर्ने बाटो बनाउन राजीनामा दिने बताएका छन्। तर उनले मिति भने तय गरेका छैनन्।
संविधानविद्हरूका अनुसार यसले संसद्को सभामुखलाई कार्यवाहक राष्ट्रपतिको रूपमा काम गर्ने सम्भावनाको बाटो खुला गर्छ। यद्यपि महिन्द यापा अबेवर्दन राजपक्षका सहयोगी हुन्। जनताले उनलाई स्वीकार गर्छन् कि गर्दैनन् भन्ने कुरा पनि स्पष्ट छैन।
कार्यवाहक राष्ट्रपति बन्ने व्यक्तिलाई सांसदका सदस्यहरूमध्येबाट नयाँ राष्ट्रपति चयन गर्न ३० दिनको समय दिइएको हुन्छ। त्यस निर्वाचनबाट विजयी व्यक्तिले सन् २०२४ को अन्त्यसम्म राजपक्षको कार्यकाल सम्हाल्न पाउनेछन्।
श्रीलङ्काका प्रमुख विपक्षी नेता सजित प्रेमदासले गोटाबय राजपक्षले राजीनामा दिएपछि आफू राष्ट्रपतिको उम्मेदवार बन्न चाहेको सोमवार बीबीसीसँग बताएका थिए। तर उनलाई पनि सार्वजनिक समर्थन कम छ। समग्रमा राजनीतिकर्मीहरूले उनीलाई विश्वास गरेको देखिँदैन।
श्रीलङ्कालाई परिवर्तनको मोडमा उभ्याउने विरोधप्रदर्शनले पनि देशको नेतृत्व गर्ने उपयुक्त दाबेदार प्रस्तुत गर्न सकेको छैन।







डिसी नेपाल







Facebook Comment