सूचना नदिने त्रिवि परीक्षा नियन्त्रक जोशीलाई २० हजार जरिवाना

डिसी नेपाल
१० साउन २०७९ १७:४८

काठमाडौं । राष्ट्रिय सूचना आयोगले त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई सूचनाको हकसम्बन्धी ऐन बमोजिम २० हजार रुपैयाँ जरिवाना गरेको छ ।

रौतहट जिल्ला, मलोहिया–५ निवासी राजीव दासले माग गरेको सूचना परीक्षा नियन्त्रक जोशीले उपलब्ध नगराएपछि कारवाहीको सिफारिस गरिएको हो ।

आयोगका अनुसार सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम ६ (७) बमोजिम आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२९१० बमोजिम गरेको जरिवाना असुल उपर गरी आयोगलाई जानकारी दिन काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाउने निर्णय गरेको हो ।

आयोगले त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुसँग भएको सूचना पुनरावेदकलाई उपलब्ध गराइदिन र आयोगलाई समेत जानकारी दिन त्रिभुवन विश्वविद्यालयका उपकूलपतिलाई पत्र पठाउने निर्णयसमेत गरेको आयोगले विज्ञप्तिमार्फत जनाएको छ ।

यस अतिरिक्त परीक्षा नियन्त्रक जोशीलाई विभागीय कारबाही गरी सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (३) बमोजिम आयोगलाई जानकारी गराउन त्रिभुवन विश्वविद्यालयका उपकूलपतिलाई पत्र पठाउने र यस निर्णय उपर चित्त नबुझेमा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३४ बमोजिम जानकारी पाएको मितिले ३५ दिनभित्र उच्च अदालतमा पुनरावेदन गर्न जान आयोगले विपक्षीलाई सूचित गराएको छ ।

सूचना मागकर्तालाई राष्ट्रिय सूचना आयोग समक्ष पुनरावेदन गर्न आउनु पर्ने अवस्था सिर्जना गराउन आवश्यक नदेखिए पनि आयोग समक्ष पुनरावेदन भएको र त्यस पश्चात आयोगबाट परीक्षा नियन्त्रक जोशीका नाममा पटकपटक लिखित जवाफ माग गर्दा तथा सूचना उपलब्ध गराउन आदेश हुँदा पनि सूचना उपलब्ध नगराएपछि कारवाहीको सिफारिस गरिएको आयोगले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *