३२औं विश्व आदिवासी दिवसका अवसरमा काठमाडौंमा सांस्कृतिक र्‍याली (तस्बिर)

डिसी नेपाल
२४ साउन २०८३ १३:००

काठमाडौं। ३२औं  विश्व आदिवासी दिवस (अगस्ट ९) का अवसरमा आइतबार काठमाडौंमा भव्य सांस्कृतिक र्‍याली निकालिएको छ। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) लगायत विभिन्न जातीय संस्था तथा आदिवासी जनजाति समुदायको सहभागितामा आयोजित उक्त र्‍याली भृकुटीमण्डपबाट सुरु भई भद्रकाली, सहिदगेट, सुन्धारा र वीर अस्पताल हुँदै खुलामञ्च पुगेर मूल समारोहमा परिणत भएको थियो।

र्‍यालीमा सहभागी विभिन्न आदिवासी जनजाति समुदायका मानिसहरूले आ-आफ्नो मौलिक भेषभूषा, बाजागाजा, सांस्कृतिक झाँकी, लोकगीत तथा परम्परागत नृत्य प्रदर्शन गर्दै राजधानीका सडकमा विविधताभित्रको सुन्दर सांस्कृतिक पहिचान प्रस्तुत गरेका थिए।

नेपालमा यस वर्ष “प्राप्त अधिकारको रक्षा आजको आवश्यकता: पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता” भन्ने राष्ट्रिय मूल नाराका साथ ३२औँ विश्व आदिवासी दिवस मनाइएको हो। अन्तर्राष्ट्रिय रूपमा भने यस वर्ष “अभिभावक र जीवन संरक्षकका रूपमा आदिवासी महिलाहरूको भूमिका” लाई प्राथमिकताका साथ उजागर गरिएको छ।

संविधानमा उल्लिखित अधिकारहरूको प्रभावकारी कार्यान्वयन, भाषा, संस्कृति तथा जल, जमिन र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चितताको माग गर्दै निकालिएको यस र्‍याली तथा मूल समारोहमा राजधानीका विभिन्न भेगबाट हजारौँ मानिसहरूको सहभागिता रहेको थियो।

(तस्विरहरू: सक्षम घिमिरे, नेपाल न्यूज बैंक)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *