अमेरिकामा नेपाली बैज्ञानिकहरुको गोष्ठी, प्रसिद्ध भौतिकशास्त्री सफिको प्रस्तुति

डिसी नेपाल
११ साउन २०७९ ८:४६

अमेरिका। नेपाली भौतिकशास्त्री बैज्ञानिकहरुको विशेष गोष्ठी अमेरिकाको भर्जिनियास्थित डोमिनिअन विश्वविद्यालयमा हालै सम्पन्न भएको छ। नेपाली फिजिसिस्ट इन अमेरिका(एन्पा) को आयोजनामा जुलाई १५-१७ मा सम्पन्न सो कन्फरेन्समा ६४ जना शोधकर्ताहरुले विभिन्न विषयका आफ्ना शोधहरु प्रस्तुत गरेका थिए।

आफ्नो अनुसन्धान पत्र प्रस्तुत गर्नेहरुमा अमेरिका, नेपाल, जापान, भारत, लगायत बिभिन्न देशबाट अनुसन्धानकर्ताहरु भएको एन्पाका अध्यक्ष जगन देवकोटाले जानकारी दिएका छन्। उनका अनुसार,भौतिकशास्त्रका बिभिन्न बिधामा गरिएका प्रस्तुतिहरु अति रोचक अनि ज्ञानबर्धक थिए।

नेपाली बैज्ञानिकहरुको सो गोष्ठीमा डेलावेर विश्वबिद्यालय अमेरिकाका प्रसिद्ध भौतिकशास्त्री डा. सफिले प्रमुख बक्ताको रुपमा एक बिशेष प्रस्तुति दिएका थिए।
बाङ्लादेश-चीन-भियतनाम-श्रीलंका-पाकिस्तान-भारत अनि नेपालजस्ता बिकासोन्मुख राष्ट्रमा भौतिक शास्त्रको बिकासको लागि ८० को दशकमा गर्मीबिदामा चलाइएका बिभिन्न स्कुलहरुको बारेमा डा सफिले अत्यन्त रमाइलो अनि प्रेरणादायी प्रस्तुती दिएका थिए।

डा. साफि स्वयम् र आफ्ना सहकर्मी बैज्ञानिकहरुसँग मिलेर नेपालको राजधानी काठमाडौँमा बिभिन्न समयमा भौतिक शास्त्रको बिभिन्न बिषयहरु पढाएका थिए। त्यसरी नेपालमा गएर नेपालका भौतिकशास्त्रीहरुलाई भौतिकशास्त्र बिषयमा तालिम दिने बैज्ञानिकहरुमा प्रोफेसर डा. अब्दुस सलाम (भौतिकशास्त्र नोबेल पुरस्कार बिजेता सन् १९७९, फिलिप वारेन एन्डर्सन (भौतिकशास्त्र नोबेल पुरस्कार बिजेता सन् १९७६ लगायत अन्य प्रसिद्ध भौतिकशास्त्रीहरु थिए।

एन्पा बैज्ञानिक गोष्ठीको अर्को रोचक कार्यक्रम “उपयुक्त अनुसन्धान लेखन“ थियो। अमेरिकाका नेपाली बैज्ञानिकद्वय डा. दुर्गा पौड्याल र डा शम्भु घिमिरेले कसरी बैज्ञानिक खोज-अनुसन्धालाई प्रस्तुत गर्ने, खोज-अनुसन्धानको सारांशलाई कसरी लेख्ने र प्रसिद्ध जर्नलमा कसरी प्रकाशन गर्ने भनेर साह्रै राम्रो प्रशिक्षण दिएका थिए।

त्यस्तै अर्का बैज्ञानिक डा विश्वनाथ गैरेले नेचरजस्ता प्रसिद्ध जर्नलमा खोज-अनुसन्धान प्रकाशित गर्दाको आफ्नो सम्पादकको अनुभव कार्यक्रममा प्रस्तुत गरेका थिए।
यो कार्यक्रममा अनलाइनमार्फत पनि विभिन्न देशबाट अनुसन्धानकर्ताहरु सहभागी भएका थिए।

नेपाल र अमेरिकाबाट धेरै बैज्ञानिक, खोज-अनुसन्धानकर्ताहरुले भाग लिएको सो कार्यक्रममा नेपालबाट त्रिभुवन विश्वबिद्यालय भौतिकशास्त्र केन्द्रीय बिभागका भौतिकशास्त्री अनि विद्यार्थीहरुको बाक्लो उपस्थिति थियो। कार्यक्रमको अन्त्यमा सो संस्थाको वार्षिक समीक्षा बैठक पनि बसेको थियो।

एन्पाका सचिब एवम एन्पा बैज्ञानिक गोष्ठीका सह-सयोंजक डा. चन्द्रमणि अधिकारीले एन्पाले बर्षभरी गरेका कार्यक्रमको समीक्षा अनि आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए भने एन्पा बैज्ञानिक गोष्ठीका संयोजक डा.पशुपति ढकालले एन्पा बैज्ञानिक गोष्ठी सफल गराउन सहयोग गर्नुहुने सबै आयोजक समितिका साथीहरु, अनलाइन वेबेक्स संचालनमा साथ दिने सबै साथीहरु लगायत बैज्ञानिक गोष्ठीका भिन्न सत्रहरु संचालन गरिदिएर सहयोग र साथ दिने सबै बैज्ञानिक साथीहरुलाई हृदयदेखि नै धन्यबाद दिएका थिए। एन्पाको यो पाँचौं बैज्ञानिक गोष्ठी हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *