यु २० साफः बंगलादेशसँग घरेलु टोली भारत स्तब्ध

डिसी नेपाल
११ साउन २०७९ १८:३२

काठमाडौं । यु–२० साफ च्याम्पियनसिप अन्तर्गत प्रतियोगितामा तेस्रो खेलमा बंगलादेशले लगातार दोस्रो जित निकाल्ने क्रममा घरेलु टोली भारतलाई २–१ अन्तरले स्तब्ध बनाएको छ ।

बुधबार भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा भारतले बल पकड राम्रो बनाएपनि फिनिसिङमा चुक्दा घरेलु मैदानमा पहिलो खेलमै पराजित हुन पुग्यो ।

खेलमा तीनै गोल पहिलो हाफमा सम्भव भएका थिए । खेलको २९औं मिनेटमा बंगलादेशका मोहम्मद नोभाले गोल गर्दै अग्रता दिलाए । उनले भारतीय डिफेन्डरको गल्तीको फाइदा उठाउँदै बक्स भित्रबाट सहज गोल गरे । तर, ३५औं मिनेटमा भारतका गुर्किरात सिंहले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । उनले बक्स भित्रबाट हेड गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा नोभाले पेनाल्टीमा ब्यक्तिगत दोस्रो गोल गर्दै बंगलादेशलाई २–१ को जित दिलाए । भारतका डिफेन्डरले बंगलोदशका खेलाडीलाई बक्स भित्र फाउल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

यस अघि बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई १–० ले हराएको थियो । दोस्रो जितसँगै ६ अंक जोडेको बंगलादेश तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । साविक विजेता भारतको भने कुनै अंक छैन ।

बुधबारै हुने दोस्रो खेलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार राति सवा ७ बजे सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ४–० को नतिजामा हराउँदै प्रतियोगितामा सुखद सुरुआत गरिसकेको छ । नेपाल समेत लगातार दोस्रो जित निकाल्ने दाउमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *