नबिल बैंकको खुद नाफा ९.८३ प्रतिशतले बढ्यो, इपिएस कति ?
काठमाडौँ। नबिल बैंकले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विअरन अनुसार बैंकको खुद नाफा ९.८३ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ४ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा आर्ज गरेको यस बैंकले गत वर्ष बढाएर ४ अर्ब ९७ करोड रुपैयाँ पुर्याउन सफल भएको छ। बैंकको वितरणयोग्य मुनाफा ९ अर्ब १२ करोड रुपैयाँ रहेको छ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेसंगै खुद नाफा बढ्नमा टेवा पुगेको देखिन्छ। बैंकको खुद ब्याज आम्दानी १६.७९ प्रतिशतले बढेर ९ अर्ब ४३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यसै अवधिमा बैंकले ८ अर्ब ७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। अघिल्लो वर्ष ६ अर्ब २२ करोड रुपैयाँ सञ्चालन नाफा कमाएको यस बैंकले गत वर्ष १३.९८ प्रतिशतले वृद्धि गरेर ७ अर्ब ९ करोड रुपैयाँ पुर्याउन सफल भएको छ।
यो समीक्षा अवधिसम्म बैंकले ३ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब १ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। नेपाल बंगलादेश बैंकलाई गाभेपछि बैंकको चुक्तापुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। बैंकको जगेडा कोष ६८.११ प्रतिशतले वृद्धि गरेर २६ अर्ब ३७ करोड रुपैयाँ पुर्याएको छ।
बैंकको खुद नाफा बढेपनि प्रति सेयर आम्दानी भने घटेको छ। बैंकको प्रति सेयर आम्दानी ३३ रुपैयाँ ५७ पैसाबाट घटेर २६ रुपैयाँ ८० पैसामा झरेको छ। बैंकको निष्क्रिय कर्जा १.५४ प्रतिशत, सीडी रेसियो ८९.७९ प्रतिशत, आधार दर ८.७७ प्रतिशत, मूल्य आम्दानी अनुपात ३२.८० गुणा र प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ ३७ पैसा रहेको छ।
Facebook Comment