उदयपुरको चुनावी जोडघटाउ : लोकप्रिय मतमा एमाले पहिलो, गठबन्धनको पल्लाभारि

सम्भव सिंह ठकुरी
२३ साउन २०७९ ८:३२

काठमाडौं। आगामी मंसिर ४ गते हुने संघीय र प्रादेशिक निर्वाचनमा उम्मेदवारीको लागि टिकट सुरक्षित गर्न उदयपुरमा नेताहरुको दौडधूप सुरु भएको छ। पाँचदलीय सत्ता गठबन्धन र नेकपा एमालेबीच प्रतिस्प्रर्धा हुन लागेको यो निर्वाचनका लागि गठबन्धनको तर्फबाट सिट बाँडफाड गर्न सबैभन्दा सकस देखिएको छ।

दुई वटा संसदीय निर्वाचन क्षेत्र रहेको उदयपुरमा ४ वटा नगरपालिका र ४ वटा गाउँपालि सहित जम्मा ८ वटा स्थानीय तह रहेका छन्। २०७४ सालमा भएको संघीय निर्वाचन क्षेत्र नम्वर १ मा नेपाली कांग्रेस र क्षेत्र नम्वर २ मा तत्कालिन नेकपाको गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)ले जितेको थियो। पाँचदलीय सत्ता गठबन्धनले यो निर्वाचनमा तालमेल गर्ने निर्णयसँगै साउन मसान्तभित्र सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल पनि बनाइसकेको छ।

कार्यदल बन्नुअघि दलहरूले आ आफ्नो संयन्त्रबाट प्रदेशगत रिपोर्टहरू लिइरहेका छन्। जिल्लाको अघिल्लो निर्वाचन र गत बैशाखमा भएको स्थानीय तहको मतलाई आधारमान्दा कांग्रेस र माओवादी बलियो देखिएको छ। सत्ता घटकका नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी(जसपा)लाई भने भागबण्डा गर्दा पनि कांग्रेस र माओवादीको भर पर्नुपर्ने देखिएको छ।

कसको अवस्था कस्तो ?

त्रियुगा नगरपालिका जिल्लाको सबैभन्दा ठूलो मतदाता भएको स्थानीय तह हो।संघीय क्षेत्र नम्वर २ पर्ने यो स्थानीय तहमा जम्मा १६ वटा वडा रहेको छ। जिल्ला कै धेरै मतदाता भएको यो नगरपालिकाले संघीय र प्रदेशसभा निर्वाचनमा निर्णायक मत पनि मानिन्छ। र यहाँको राजनीतिलाई पनि चासोका साथ हेरिन्छ।

यो नगरपालिकाको ९ वटा वडामा कांग्रेसले,४ वटा वडामा एमाले र ३ वटा वडामा माओवादी केन्द्रले जित निकालेको छ। संघीय निर्वाचन क्षेत्र नम्वर २ मा जम्मा ३ वटा स्थानीय तह पर्दछन्। जसमध्ये त्रियुगा,चौदण्डीगढी र बेलका नगरपालिका पर्दछ। यी तीन स्थानीय तहहरुमा जम्मा ३५ वटा वडाहरु पर्दछन्।जसमध्ये कांग्रेसले १५ वटा एमालेले १५ र माओवादीले ५ वटा वडाहरु जितेको छ।

यो निर्वाचन क्षेत्रमा सत्तारुढ दल एकीकृत समाजवादी र जसपाले भने खाता नै खोल्न सकेको छैन। वडाहरुको मतलाई आधार मान्दा कांग्रेसले २७ हजार ८ सय ८२ मत,एमालेले २८ हजार ४ सय ७० र माओवादी केन्द्रले १० हजार ८ सय ५८ मत प्राप्त गरेको छ। यसरी प्राप्त मतभारलाई हिसाव गर्दा ५ सय ८८ मतले एमाले अगाडि रहेको छ।

तर २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका डा.नारायण खड्का निर्वाचित भएका थिए।खड्काले ३३ हजार १ सय ४२ मत प्राप्त गरि निर्वाचित हुँदा एमालेकी मञ्जु चौधरीले ३२ हजार ५ सय ९४ मत प्राप्त गरेका थिए।

क्षेत्र नम्वर एक

एक मात्र कटारी नगरपालिका र बाँकी ४ गाउँपालिका रहेको यो क्षेत्रमा ४१ वटा वडाहरु रहेका छन्। जसमध्ये १७ वटा वडाहरुमा जित निकाल्दै एमाले पहिलो स्थानमा रहेको छ।त्यसपछि कांग्रेसले १२ वटा,माओवादीले ७,एकीकृत समाजवादीले १,जसपाले १ र स्वतन्त्रले १ वटा वडा जितेको छ। यसरी यो क्षेत्रमा पनि एमालेले २१ हजार ३ ७६ मत सहित पहिलो मत पाएको छ।

दोस्रोमा कांग्रेसले १५ हजार ३ सय ७७ मत र माओवादी केन्द्रले ९ हजार ९ सय २ मत प्राप्त गरेको छ।यो क्षेत्रमा २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा तत्कालिन बामगठबन्धनको तर्फबाट माओवादीका सुरेश कुमार राई निर्वाचित भएका थिए। उनले २२ हजार ५ सय ५१ मत प्राप्त गर्दा कांग्रेसका नारायणबहादुर कार्कीले १५ हजार ४ सय ५५ मत प्राप्त गरेका थिए।

यसरी दुबै क्षेत्रमा एमालेको मत लोकप्रिय भएपनि स्थानीय तहको प्रमुखमा भने संघीय क्षेत्र नम्वर एकको चौदण्डीगढी नगरपालिकाको नगरप्रमुख मात्र जित्न सकेको छ।कांग्रेसले त्रियुगा,कटारी र बेलका गरि ३ वटा नगरपालिका जितेको छ। माओवादी केन्द्रले लिम्चुङ्वुङ गाउँपालिका,ताप्ली गाउँपालिका र रौतामाईँ गाउँपालिका जितेको छ। र एकीकृत समाजवादीले उदयपुरगढी गाउँपालिका जितेको छ।

उम्मेदवारमा क-कसकाे चर्चा ?

प्रतिनिधिसभातर्फ २०७४ सालमा क्षेत्र नम्वर एकमा कांग्रेस र दुई नम्वरमा माओवादीले जितेकाले सो क्षेत्रमा सत्तागठबन्धनको तर्फबाट कांग्रेस र माओवादीको बलियो दावी रहेको कांग्रेसका एक नेताले जानकारी दिए। क्षेत्र नम्वर एकमा २०७४ सालको निर्वाचनमा बामगठबन्धन हुँदा पनि वर्तमान परराष्ट्रमन्त्री डा. नारायण खड्का निर्वाचित भएकाले सो क्षेत्रमा कांग्रेसले नै पाउने ति नेताले दावी गरे।

उनले भने‘यो क्षेत्र देशभरि नै कम्युनिष्टहरुले जित्दा पनि कांग्रेसले जितेको ठाउँ हो। त्यसकारण यहाँ त कांग्रेस बाहेक सत्ता गठबन्धनका दलले उम्मेदवार पाउने सम्भावना न्यून छ।त्यसमाथि पनि डा.सावको विकास प्रेमी छवीले यो क्षेत्रमा उहाँ बाहेक अरु नेताले निर्वाचन जित्न पनि गाह्रो छ।’

गठबन्धनबाट सो क्षेत्रमा कांग्रेसको तर्फबाट डा.खड्काको बलियो दावी भएपनि पूर्वजिल्ला सभापति विदुर बस्नेतको पनि दावी हुन सक्ने उदयपुर कांग्रेसमा चर्चा हुन थालेको छ। त्यस्तै गठबन्धनको उम्मेदवारलाई टक्कर दिन एमालेमा पनि बलियो उम्मेदवारको खोजि हुँदै गरेको एमालेका एक नेताले जानकारी दिए।

ती नेताका अनुसार एमालेको तर्फबाट मञ्जु चौधरी र ईश्वरमणि राउतको चर्चा चलेको छ। दुई नेतामध्ये चौधरीको दावी बलियो रहेको ती नेताको भनाई छ ।चौधरी २०७४ सालको निर्वाचनमा कांग्रेसका खड्कासँग ५ सय ४८ को झिनो मतान्तरले पराजित भएकी थिइन्।

यता क्षेत्र नम्वर दुईमा भने उम्मेदवारको चर्चा र टिकट कस्ले पाउने भन्ने कुरा अलिक सकस देखिएको छ।यो क्षेत्रमा कांग्रेसको तर्फबाट उम्मेदवार हुने सम्भावना न्यून रहेको कांग्रेसका ती नेताले दावी गरे। भागबण्डा मिलाउँदा दुई नम्वर कांग्रेसको भागमा पर्न नसक्ने उनको ठम्याई रहेको छ।

गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाको क्षेत्र पर्ने भएकाले उनीको दावी बलियो रहेको छ। तर २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रका सुरेशकुमार राईले जितेको हुनाले माओवादी केन्द्रको पनि उत्तिकै दावी रहेको छ।

उपहासचिव खतिवडा पनि सो क्षेत्रमा आफ्नो पनि दावी रहेको बताउँछन्। र गठबन्धनको तर्फबाट पनि एकीकृत समाजवादीलाई नै पर्ने उनको विश्वास रहेको छ। ‘म पनि उक्त क्षेत्रको उम्मेदवार बन्ने आकांक्षी हो। २०५६ सालकै निर्वाचनमा पनि उक्त क्षेत्रबाटै निर्वाचित भएको हुँ। त्यही माटोमा हुर्केर आज यहाँ आईपुगेको छु।’

खतिवडाले भने‘त्यसकारण स्वभाविक रुपमा मेरो आकांक्षा रहन्छ। र मेरो विषयमा गठबन्धनका शीर्ष नेताहरु पनि सकारात्मक हुनुहुन्छ।’ र टिकट पाए सो क्षेत्रबाट चुनाव जित्ने पनि उनको दावी रहेको छ। एमालेबाट भने कसले पाउने विषय अहिले भन्न सक्ने अवस्था नरहेको एमालेका ती नेताको भनाइ छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *