रुस्दीमाथि हमलाः इरानी पत्रिका लेख्छ-शत्रुको घाँटी च्यात्ने हातलाई चुम्बन गर्नुपर्छ

डिसी नेपाल
२९ साउन २०७९ १०:१२

तेहरान। शुक्रबार न्युयोर्क राज्यको एक कार्यक्रममा छुरा प्रहारमा परेका चर्चित लेखक सलमान रुस्दीप्रति सहानुभूति जनाउँदै अहिले उनको स्वास्थ्य लाभको कामना भइरहेको छ।

तर, यही बेला उनीमाथिको हमलालाई प्रशंसा गर्ने पनि देखिएका छन्। रोयटर्सका अनुसार दी सटानिक भर्सेसका लेखक भेन्टिलेटरमा उपचार गराइरहेका बेला इरानका केही ‘हार्डलाईन’ सञ्चार माध्यमहरूले उनीमाथिको हमलाको प्रशंसा गरेका छन्।

शुक्रबार उनीमाथि चक्कु प्रहार भएपछि इरानले कुनै आधिकारिक टिप्पणी गरेको छैन। तर, इरानको क्याहान नामक कट्टरपन्थी अखबारले यस्तो टिप्पणी गरेको छ-‘न्युयोर्कमा धर्मत्यागी र दुष्ट सलमान रुस्दीमाथि आक्रमण गर्ने साहसी र कर्तव्यनिष्ठ व्यक्तिलाई हजारौं वाहवाही। परमेश्वरको शत्रुको घाँटी च्यात्ने मानिसको हातलाई चुम्बन गर्नुपर्छ।’

उक्त पत्रिकाका सम्पादकलाई इरानका सर्वोच्च नेता अली खामेनीले नियुक्त गरेका थिए। अधिकांश इरानी पत्रिकाले रुस्दीमाथिको हमलाको स्वागत गरेका छन्। त्यस्तै अर्को दैनिक पत्रिका खोरासानले उक्त हमलाबारे यस्तो शीर्षक राखेको छः ‘नरकको बाटोमा सैतान ।’ अर्को कट्टरपन्थी अखबार वतन इमरोजको शीर्षक यस्तो छः सलमान रुस्दीको घाँटीमा छुरी।

यसअघि रुस्दीलाई इरानले आक्रमणको धम्की दिएको थियो । सन् १९८८ मा उनको उपन्यास द सटानिक भर्सेस प्रकाशित भएपछि उनलाई हत्या गर्ने धम्की आएको थियो । रुस्दीमाथि इस निन्दाको आरोप छ । पुस्तकमाथिको विवाद बढ्दै जाँदा बेलायत र इरानबीचको कूटनीतिक सम्बन्ध बिग्रिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *