लक्ष्यभन्दा कम राजस्व सङ्कलन

डिसी नेपाल
३० साउन २०७९ १३:४०

गोदावरी। धनगढीस्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०७८/८९ मा लक्ष्यभन्दा कम राजस्व सङ्कलन गरेको छ। कार्यालयले रु पाँच अर्ब ७८ करोड १२ लाख ७८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु तीन अर्ब ९४ करोड ९९ लाख ७२ हजार मात्रै सङ्कलन गरेको जनाएको छ। सो रकम लक्ष्य भन्दा ३२ प्रतिशतले कम हो।

कार्यालयका सूचना अधिकारी दुर्गाप्रसाद पौडेलका अनुसार कूल राजस्वका शीर्षकमध्ये गत आर्थिक वर्षमा आयकर र स्वास्थ सेवा कर भने लक्ष्यभन्दा बढी सङ्कलन भएको छ। आयकरतर्फ रु एक अर्ब ३६ करोड ६७ लाख ६० हजार उठाउने लक्ष्य लिइएकामा रु एक अर्ब ४० करोड, ९२ लाख चार हजार सङ्कलन भएको छ। स्वास्थ्य सेवा करतर्फ रु पाँच करोड ८९ लाख ७० हजार उठाउने लक्ष्य लिइएकामा लक्ष्यभन्दा झण्डै ५९ प्रतिशत बढी अर्थात रु नौ करोड ३७ लाख छ हजार सङ्कलन भएको छ।

घर बहाल करतर्फ रु चार करोड ३७ लाख ३४ हजार सङ्कलन गर्ने लक्ष्य लिइएकामा रु दुई करोड ७७ लाख २६ हजार सङ्कलन भएको छ। ब्याज करतर्फ रु चार करोड ९७ लाख ९१ हजार सङ्कलन गर्ने लक्ष्य लिइएकामा रु दुई करोड ३७ लाख २२ हजार सङ्कलन भएको सूचना अधिकारी पौडेलले बताए।

मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब ४१ करोड ४९ लाख ४३ हजार सङ्कलन गर्ने लक्ष्य लिइएकामा रु ९६ करोड ४८ लाख ५९ हजार सङ्कलन भएको छ। अन्तशुल्क करतर्फ रु दुई अर्ब ८४ करोड ७० लाख ७९ हजार सङ्कलन गर्ने लक्ष्य लिइएकामा रु एक अर्र्ब ४३ करोड सात लाख ४१ हजार सङ्कलन गरिएको छ। जुन लक्ष्यभन्दा ५० प्रतिशत कम हो।

कार्यालयले शिक्षा सेवा शुल्कको गत आर्थिक वर्षमा लक्ष्य निर्धारण नगरे पनि रु १३ हजार सङ्कलन भएको जनाएको छ। कार्यालयले आर्थिक वर्ष २०७७÷७८ मा भने लक्ष्यभन्दा २३ प्रतिशत बढी राजस्व सङ्कलन गरेको थियो। उक्त आर्थिक वर्षमा रु चार अर्ब ५० करोड १० लाख ५४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएकामा रु पाँच अर्ब ५३ करोड ६ लाख ३० हजार १२३.५४ प्रतिशत राजस्व सङ्कलन भएको थियो।

सूचना अधिकृत पौडेलले गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन हुनाको मुख्य कारण कर्मचारी अभावसँगै कोरोनाको असर रहेको जनाए। चालु आर्थिक वर्षमा भने लक्ष्य अनुसारको कर उठाउने तयारीका साथ काम गरिरहेको कार्यालयले जनाएको छ। चालु आर्थिक वर्षमा कार्यालयले रु चार अर्ब ७६ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *