भारत र अमेरिका आपत्तिमाथि चीन भारी, हम्बनटोटा पुग्यो चीनको जासुसी जहाज

डिसी नेपाल
३१ साउन २०७९ १३:०६

काठमाडौं । भारत र अमेरिकाको चिन्ताका बीच चीनको जासुसी जहाज भनेर चिनिने युआन वाङ–५ मंगलबार बिहान श्रीलंकाको हम्बनटोटा बन्दरगाहमा पुगेको छ । यो जहाज १६ देखि २२ अगस्टसम्म श्रीलंकाको बन्दरगाहमा रहनेछ । भारतले चिन्ता व्यक्त गरेपछि यसअघि श्रीलंकाले चिनियाँ जहाज आउन अनुमति दिएको थिएन। तर पछि शनिबार अचानक श्रीलंकाबाट जहाज आउन अनुमति दिइयो।

यो चिनियाँ जहाज अगस्ट ११ मा ऋणमा डुबेको श्रीलंका पुग्ने थियो । तर त्यसअघि श्रीलंकाले चीनलाई जहाजको आगमन कार्यक्रम स्थगित गर्न भनेको थियो। यस विषयमा चीनले विरोध गर्दै यसलाई पूर्णतया अनुचित भनेको छ । चीनले भारतको नाम नलिई जहाजको प्रवेश स्थगित गरेकोमा असन्तुष्टि व्यक्त गर्दै सुरक्षा चिन्ता र कोलम्बोको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै कोलम्बोमाथि दबाब दिनु केही देशको तर्फबाट पूर्णतया अनुचित भएको बताएको थियो।

चीनको यो टिप्पणीपछि भारतको विदेश मन्त्रालयले पनि प्रतिक्रिया दिएको छ । भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले श्रीलंका सार्वभौमसत्ता सम्पन्न देश भएको र आफ्नो निर्णय आफै लिने बताएका थिए । अरिन्दम बागचीले भारत–चीनबीचको हाम्रो सम्बन्धको सवालमा हामीले आपसी सम्मान, आपसी संवेदनशीलता र पारस्परिक हितलाई सम्बन्धको विकासको आधारका रुपमा निरन्तरता दिँदै आएको बताए ।

रिपोर्टका अनुसार जासुसी जहाज भनिने यो चिनियाँ जहाज श्रीलंकाको बन्दरगाहमा डकिङको प्रमुख कारण इन्धन भर्नु भएको बताइएको छ । हम्बनटोटा बन्दरगाहमा इन्धन लिएपछि हिन्द महासागर क्षेत्रको उत्तर–पश्चिम भागमा रहेको जहाजबाट अगस्ट–सेप्टेम्बरमा भूउपग्रह नियन्त्रण र अनुसन्धान ट्र्याकिङ गर्ने योजना रहेको बताइएको छ ।

तर, चीनका यी गतिविधिमा भारतलाई कुनै विश्वास छैन र भारतले यसलाई श्रीलंकामा चिनियाँ हस्तक्षेपका रूपमा हेरिरहेको छ । चिनियाँ जहाजको जासुसी गतिविधि भारतको सुरक्षाका लागि पनि खतरा हुन सक्छ।

हम्बनटोटा बन्दरगाह कोलम्बोबाट २५० किलोमिटरको दुरीमा अवस्थित छ। यो चीनबाट उच्च ब्याजदरमा लिएको ऋणबाट बनाइएको हो। तर, श्रीलंका सरकारले चीनबाट लिएको ऋण तिर्न नसकेको र बदलामा हम्बनटोटा बन्दरगाह चीनलाई ९९ वर्षको भाडामा दिएको थियो । श्रीलंकाको यस्तो अवस्थापछि विश्वमा चिनियाँ ऋणको चिन्ता बढेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *