अपर तामाकोशीको १ अर्ब ८७ करोड रुपैयाँ नोक्सानमा

डिसी नेपाल
३१ साउन २०७९ १३:२२

काठमाडौँ। अपर तामाकोशी हाइड्रोपावरले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार हाइड्रोपावर १ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ नोक्सानमा गएको छ। अघिल्लो वर्ष यसै अवधिमा कम्पनी ५ करोड ४३ लाख ३ हजार रुपैयाँ मात्र नोक्सानमा रहेको थियो।

यता, यसअवधिमा विद्युत बिक्रीबापत नेपाल विद्युत प्राधिकरणलाई ७ अर्ब १७ करोड ३५ लाख रुपैयाँको बिल पेस गरेकामा ५ अर्ब ९२ करोड ९ लाख रुपैयाँ मात्र प्राप्त भएकोे छ। यस अवधिसम्ममा अपर तामाकोशीको दीर्घकालीन ऋण ७३ अर्ब ७८ करोड ५६ लाख रुपैयाँ र अल्पकालीन ऋण ५ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको तुलनामा दीर्घकालीन र अल्पकालीन दुवै ऋणमा वृद्धि भएको हो।

अघिल्लो वर्ष दीर्घकालीन ऋण ४० अर्ब ५८ करोड र अल्पकालीन ऋण ३ अर्ब ८० करोड रुपैयाँ रहेको थियो। कम्पनीको वित्तीय लागत उल्लेख्य मात्रामा बढेको छ । अघिल्लो वर्ष १ लाख २९ हजार रुपैयाँ मात्र रहेको वित्तीय लागत अहिले ५ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ।

हाल यसको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ शीर्षक २ अर्ब ७१ करोड रुपैयाँ ऋणात्मक छ। अपरले भदौ ३ गते बस्ने वार्षिक साधारण सभामा हाल कायम पुँजीमा शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने एजेण्डा पेस गर्दैछ।

उक्त हकप्रद निष्कासन भएमा यसको पुँजी २१ अर्ब बढी हुनेछ। असार मसान्तसम्म अपर तामाकोशी प्रतिसेयर १७ रुपैयाँ ६९ पैसा नोक्सानमा रहेको छ भने प्रतिसेयर नेटवर्थ ७४ रुपैयाँ ३३ पैसा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *