हनी ट्रयाप अपराधको जालोः राम्री केटीको प्रयोग गरेर धनाढ्य पुरुष फसाउने प्रवृत्ति

डिसी नेपाल
३ भदौ २०७९ १८:२९
1.5k
Shares

काठमाडौं । साउनको दोस्रो साता प्रहरीले ‘हनी ट्रयापिङ’मा संलग्न दुई जनालाई पक्राउ गर्यो । पक्राउ पर्नेहरुमा सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–३ बतासे घर भई हाल भक्तपुरको बालकोट बस्ने २४ वर्षीया शेखर बास्तोला र सोही ठेगाना भएकी २० वर्षीया रोजिना राउत थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार शेखर र रोजिना श्रीमान–श्रीमती हुन । उनीहरुको काम डर धम्की देखाएर ब्ल्याकमेल गरी रकम असुली गर्नु थियो । प्रहरीले पीडितहरुसँग ‘बार्गेनिङ’ गरिरहेको अवस्थामा पक्राउ गरेको थियो । उनीहरुले विभिन्न महिलाहरुलाई सामाजिक सञ्जालमा परिचालन गरेर पुरुषहरुलाई ब्ल्याकमेल गर्ने गरेका थिए ।

उनीहरुले विभिन्न मानिसहरुलाई झुट्टा मुद्दा लगाई फसाई दिने भन्दै डर धम्की देखाएर सो धन्दामा शेखरले आफूलाई साइबर ब्युरोको प्रहरी निरीक्षक हो भनेर धम्की दिने गरेका थिए ।

असारको पहिलो साता काठमाडौं उपत्यकामा युवतीको प्रयोग गरेर केही समयदेखि ‘हनी ट्रयापिङ’ गर्ने गरेको एउटा ग्याङ नै पक्राउ गर्यो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्ण कोइरालाका अनुसार हनी ट्रयापिङ गर्ने ६ जनालाई पक्राउ गरेको थियो । ६ जनाको समूहले पत्रकार, समाजसेवीदेखि नक्कली आफन्त बनेर मानिसलाई डर त्रासमा पारेर रकम असुल्ने गरेका थिए ।

पक्राउ पर्नेहरूमा भक्तपुर बस्ने १९ वर्षीया निकिता केसी, १८ वर्षीया मनीषा परियार, ३२ वर्षीय डिकबहादुर शर्मा, ३० वर्षीय सञ्जीव दर्जी, २५ वर्षीय निमा लामा र ३० वर्षीय पासाङ लामा रहेको थिए । उनीहरुको धन्दा पनि हनी ट्रायापमा पारेर मानिसबाट रकम असुल्ने गिरोहका मुख्य योजनाकार निमा लामा र पासाङ लामा थिए ।

लामो समयदेखि यो हनी ट्रयापिङ हुन थालेको छ । आर्थिक रुपमा सम्पन्न मानिसहरुलाई विभिन्न प्रलोभन दिने, महिलाहरुले सम्पर्क बढाउने र गोप्य क्यामेरासमेत बोकेर जाने र फसाउन थालेपछि यो एउटा अपराधिक पेशाकै रुपमा अघि बढ्यो । काठमाडौंमा मात्र होइन यो अपराध नेपालका शहरी क्षेत्रमा फैलिएको छ । पाँच अघि दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरका सुनचाँदी पसल संचालकलाई ४ महिला र ३ जना पुरुष मिलेर योजनाबद्ध ‘हनी ट्रयाप’मा पारेका छन् ।

हनी ट्रयापमा पारेको आरोपमा प्रहरीले ४ महिला र एकजना पुरुष सहित ५ जनालाई पक्राउ गरेको छ । योजनामा संलग्न अरु २ जना फरार छन् । सो कसुरमा संलग्न आरोपमा प्रहरीले घोराही उपमहानगरपालिका–१० बस्ने ३२ वर्षीया पवित्रा डाँगी, ३२ वर्षीया विमला डाँगी, २९ वर्षीया शान्ता नेपाली, २२ वर्षीया शर्मिला नेपाली र रोल्पा घर भएका ४० वर्षीय दिलिप कुमार वलीलाई पक्राउ गरेको छ ।

साउन २७ मा पक्राउ गरेर उनिहरुलाई अपराधी लाभ लिन नहुने कसुरमा म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । आरोपीहरुले ट्रयापमा पारेपछि ब्यापारीलाई घोराही उपमहागरपालिका–१३ स्थित बडहरामा लगेर १ लाख नगद र ११ लाख बराबरको चेक लिएर छाडेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्ण कोइरालाका अनुसार यो एउटा ठूलो अपराधको रुपमा विकास हुन थालेको छ ।

उनीहरूले सामाजिक सञ्जालबाट महिलालाई प्रयोग गरी विभिन्न मानिससँग सम्पर्क गरेर भेटघाट गर्ने वातावररण बनाउछन् । पुरुषलाई सम्पर्क बढाएर बोलाइ रेस्टुरेन्टमा लगेर खाजा खुवाउन बोलाउछन्, सामाजिक सञ्जालबाट भएको सम्पर्कमा परेर रेस्टुरेन्टसम्म पुग्ने पुरुष उनीहरुको जालमा पर्ने गरेका छन् भने कोही कोही घर वा पसलमै पनि फन्दामा पर्ने गरेका छन्’, एसपी कोइरालाले भने ।

एसपी कोइरालाका अनुसार राम्री केटीको प्रयोग गरेर धनाढ्य पुरुष फसाउने प्रवृत्ति बढेको छ । ‘राम्री केटीले प्रेमजालमा पारेर वा यौनका लागि निम्तो दिएर फसाउने अपराधलाई ‘हनी ट्रयापिङ’ नाम दिइएको छ यो ‘इजी मनी’का लागि गरिने अपराधको शैली हो’, एसपी कोइरालाले भने । प्रहरीका अनुसार चाडो पैसा कमाउने र यस्तो कर्म गर्दा फस्ने संभावना कम हुने भएकाले अपराधिक मानसिकता भएका केटा र केटीहरु मिलेर नै यस्तो अपराधिक धन्दा गर्ने गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.