राजधानीका पाँच सहकारी गाभिँदै

डिसी नेपाल
१२ भदौ २०७९ १३:२७

काठमाडौँ। काठमाडौँका विभिन्न स्थानमा रहेर सञ्चालित पाँचवटा सहकारी एकआपसमा गाभिने भएका छन्। राजधानीका आइडल यमुना बहुद्देश्यीय सहकारी, नेशनल नमोवुद्ध बचत तथा ऋण सहकारी, नागरिक कल्याण बहुद्देश्यीय सहकारी, सत्कार बचत तथा ऋण सहकारी र घेदुङ बहुदेश्यीय सहकारी संस्था लिमिटेड एक आपसमा गाभिने सम्झौता भएको हो।

गाभिएपछि संस्थाको कारोबार झण्डै रु नौ अर्ब पुग्ने भएको छ भने बचत रु चार अर्ब ६३ करोड ७० लाख आठ हजार ५९७ हुनेछ। रु चार अर्ब ९९ करोड ४५ लाख ३९ हजार १२८ ऋण तथा लगानी पुग्नेछ । त्यस्तै कुल सम्पत्ति रु सात अर्ब ५८ करोड एक लाख ७५ हजार एक सय ९६ पुग्ने पनि जनाइएको छ। गाभिएपछिको सहकारीको नाम ‘नेशनल आइडल यमुना बचत तथा ऋण सहकारी संस्था लि.’ रहने अध्यक्ष ज्ञानबहादुर तामाङले जानकारी दिए।

पाँच सहकारी गाभिएपछि सहकारी संस्थाको शेयरपुँजी रु ३० करोड ८१ लाख २२ हजार ५०० पुग्ने, सदस्य सङ्ख्या ३५ हजार २० पुग्ने र र ऋणी सदस्य सङ्ख्या छ हजार ८५८ जना पुग्ने भएका छन्। पाँच सहकारी एक भएपछि संस्थाको जगेडा कोष रु १४ करोड ६६ लाख ८९ हजार नौ सय ८२ हुनेछ। कर्जा जोखिम कोष रु १२ करोड ४२ लाख ३५ हजार आठ सय ९८ पुग्ने जनाइएको छ। त्यसैगरी संस्थाको तरलता रकम रु एक अर्ब १३ करोड ९८ लाख ८७ हजार आठ सय १७ रहने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *