सञ्चार माध्यमलाई व्यवस्थित बनाउँदै पत्रकारको क्षमता विकासमा जुट्छौं : प्रतिष्ठान अध्यक्ष दाहाल

डिसी नेपाल
३१ असार २०८३ ८:४१

विराटनगर । कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानका नवनियुक्त अध्यक्ष दीपक दाहालले प्रदेशभित्र सञ्चालित सञ्चार माध्यमलाई कानुनअनुसार व्यवस्थित गर्दै पत्रकारको क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिष्ठान गठनपछि नेपाल न्यूज बैंकसँग कुरा गर्दै अध्यक्ष दाहालले प्रतिष्ठानले आमसञ्चार क्षेत्रको संस्थागत विकास, प्रभावकारी नियमन तथा सञ्चारकर्मीको व्यावसायिक क्षमता अभिवृद्धिमा केन्द्रित भएर काम गर्ने बताए। उनले कानुनले दिएको अधिकार र जिम्मेवारीको परिधिभित्र रहेर सञ्चार क्षेत्रलाई थप व्यवस्थित, जिम्मेवार र सुदृढ बनाइने उल्लेख गरे।

कोशी प्रदेश सरकारले सोमबार आमसञ्चार सम्बन्धी ऐन, २०८२ बमोजिम प्रतिष्ठान गठन गर्दै अध्यक्षमा दाहाललाई नियुक्त गरेको हो। प्रतिष्ठानको प्रदेश प्रेस रजिस्ट्रारमा सुनसरीका पत्रकार लिलाराज भट्टराई नियुक्त भएका छन्।

प्रतिष्ठानका सदस्यहरूमा शान्ति दाहाल (मोरङ), रमेशचन्द्र अधिकारी (धनकुटा), माला पालुङ्वा (ताप्लेजुङ), रेणु पराजुली (उदयपुर), विष्णुप्रसाद पोखरेल (झापा), अर्जुन राजवंशी (झापा) र ध्रुव ढकाल (सुनसरी) रहेका छन्।

प्रदेश प्रेस रजिस्ट्रार भट्टराईले नियुक्तिपछि प्रतिष्ठानले रेडियो तथा टेलिभिजनको नवीकरण प्रक्रिया सुरु गरिसकेको जानकारी दिए। उनका अनुसार १०० वाटदेखि एक हजार वाट क्षमतासम्मका रेडियो तथा टेलिभिजनको नवीकरण भइरहेको छ।

उनले प्रदेश सरकारको अधिकारक्षेत्रभित्र पर्ने सबै सञ्चार माध्यमलाई असार मसान्तभित्र नवीकरण गरिसक्न आग्रह गर्दै आगामी आर्थिक वर्षदेखि नवीकरण प्रक्रिया पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालन गर्ने तयारी भइरहेको बताए।

आमसञ्चार सम्बन्धी ऐन, २०८२ अनुसार गठन भएको कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानले प्रदेशभित्र सञ्चालित आमसञ्चार माध्यमको दर्ता, नवीकरण, नियमन, अनुगमन तथा अभिलेखीकरणको जिम्मेवारी निर्वाह गर्नेछ। साथै स्वतन्त्र, मर्यादित र जिम्मेवार पत्रकारिताको प्रवर्द्धन तथा सञ्चार क्षेत्रको संस्थागत सुदृढीकरणमा पनि प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *