कञ्चनपुरमा डेङ्गुको जोखिम बढ्दो, पछिल्लो ६ महिनामा २८ संक्रमित; सतर्क रहन स्वास्थ्यकर्मीको आग्रह

डिसी नेपाल
३१ असार २०८३ ८:४९

कञ्चनपुर। कञ्चनपुरमा डेङ्गुको जोखिम बढ्दै गएको छ। पछिल्लो छ महिनामा मात्रै जिल्लामा २८ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये सबैभन्दा धेरै संक्रमित कञ्चनपुरमै भेटिएपछि स्वास्थ्य निकायले सबैलाई सतर्क रहन आग्रह गरेका छन्।

स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक तथा कीटजन्य रोग सम्पर्क व्यक्ति सिद्धराज भट्टका अनुसार जनवरीदेखि जुनसम्मको अवधिमा जनवरीमा पाँच, फेब्रुअरीमा छ, मार्चमा पाँच, अप्रिलमा सात, मेमा दुई र जुनमा तीन जना गरी २८ जनामा संक्रमण पुष्टि भएको हो।

भट्टका अनुसार यही अवधिमा सुदूरपश्चिम प्रदेशभर ७० जनामा डेङ्गु संक्रमण देखिएको छ। कञ्चनपुरपछि अछाममा १३, कैलालीमा १०, डडेल्धुरामा आठ, बझाङमा छ, डोटीमा तीन तथा दार्चुला र बैतडीमा एक–एक जना संक्रमित भेटिएका छन्।

भट्ट भन्छन्, डेङ्गु एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस प्रजातिका संक्रमित लामखुट्टेको टोकाइबाट सर्छ। यी लामखुट्टेले सफा र जमेको पानीमा अण्डा पार्छन् र दिउँसो बढी सक्रिय हुन्छन्। त्यसैले घर, विद्यालय, कार्यालय तथा वरपर पानी जम्न नदिनु सबैभन्दा आवश्यक हुन्छ।

उनका अनुसार डेङ्गुका चार प्रकारका विषाणु हुन्छन्। एउटा प्रकारको संक्रमण भएपछि त्यही प्रकार फेरि नलागे पनि अर्को प्रकारबाट पुनः संक्रमण हुन सक्छ। दोस्रोपटक हुने संक्रमण अझ गम्भीर हुन सक्ने भएकाले थप सावधानी अपनाउनुपर्छ।

स्वास्थ्य कार्यालयका अनुसार संक्रमण भएको तीनदेखि १० दिनभित्र १०२ देखि १०३ डिग्री फरेनहाइटसम्म ज्वरो आउने, टाउको र आँखाको गेडी दुख्ने, पेट तथा जोर्नी दुख्ने, वाकवाकी लाग्ने र शरीरमा रातो बिमिरा देखिने जस्ता लक्षण देखिन सक्छन्। गम्भीर अवस्थामा रक्तस्रावसमेत हुन सक्ने भएकाले यस्ता लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा परीक्षण गराउनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ।

शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्ट भन्छन्, समयमै परीक्षण र उपचार गर्न सके डेङ्गुबाट हुने मृत्युदर निकै कम गर्न सकिन्छ। उनका अनुसार शिशु, गर्भवती, ज्येष्ठ नागरिक, दीर्घरोगी, मोटोपन भएका व्यक्ति तथा अत्यधिक रक्तस्राव भएका बिरामी बढी जोखिममा हुन्छन्।

उनले ज्वरो कम गर्न सिटामोल प्रयोग गर्न सकिने तर चिकित्सकको सल्लाहबिना आइबुप्रोफेन र एस्पिरिनजस्ता औषधि प्रयोग नगर्न आग्रह गरेका छन्।

स्वास्थ्यकर्मी कृष्णराज जोशीका अनुसार एउटा एडिस लामखुट्टेको आयु करिब ३० दिनको हुन्छ। यस अवधिमा एउटी पोथी लामखुट्टेले ५०० देखि १,००० सम्म अण्डा पार्न सक्छ। संक्रमित लामखुट्टेको अण्डाबाट जन्मिने नयाँ लामखुट्टेमा पनि डेङ्गुको विषाणु रहन सक्छ। पानी नहुँदा पनि यी अण्डा महिनौँसम्म जीवित रहने भएकाले पानी जम्न नदिनु नै डेङ्गु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय हो।

डेङ्गु नियन्त्रणका लागि कञ्चनपुरका नौवटै पालिकामा ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान सञ्चालन गरिने भएको छ। यसअन्तर्गत लामखुट्टेको लार्भा नष्ट गर्ने, सरसफाइ अभियान चलाउने, जनचेतना फैलाउने र समुदायलाई सक्रिय बनाउने कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ।

स्वास्थ्यकर्मीले गमला, फूलदानी, ड्रम, टायर र बट्टामा पानी जम्न नदिन, खानेपानीका ट्याङ्की ढाकेर राख्न, झ्यालढोकामा जाली लगाउन तथा दिउँसो पनि झुल प्रयोग गर्न सबैलाई आग्रह गरेका छन्। डेङ्गुबाट जोगिन समुदायको सक्रिय सहभागिता र व्यक्तिगत सावधानी नै सबैभन्दा प्रभावकारी उपाय मानिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *