बाजुरामा बाटोमै प्रसव पीडामा परेकी कमलाको स्वास्थ्यकर्मीद्वारा सुरक्षित उद्धार
बाजुरा । बाजुराको बुढीगङ्गामा बाटोमै सुत्केरी हुन लागेकी २६ वर्षीया कमला बोगटीको समयमै स्वास्थ्यकर्मीको तत्परताका कारण सुरक्षित उद्धार गरिएको छ।
खप्तडछेडेदह गाउँपालिका–४ की बोगटी माइतीघरबाट घर फर्किने क्रममा बुढीगङ्गा नगरपालिका–६ स्थित फालासैन बजारमाथिको सडकमा अचानक तीव्र प्रसव पीडामा परेकी थिइन्। बाटोमा छट्पटाइरहेकी उनलाई देखेपछि स्थानीयवासीले तुरुन्तै बाजुरा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई खबर गरेका थिए।
सूचना पाउनेबित्तिकै स्वास्थ्यकर्मी हस्त कठायत आवश्यक प्रसूति सामग्री तथा औषधिसहित घटनास्थलतर्फ लागे। सोही बाटो भएर मार्तडी जाँदै गरेकी जिल्ला अस्पताल बाजुराकी अर्की स्वास्थ्यकर्मी निशा रोकायाले पनि घटनाबारे जानकारी पाउनासाथ तत्कालै सहयोगका लागि जुटिन्।
स्वास्थ्यकर्मी कठायत, रोकाया र ईश्वरी केसीलगायतका स्वास्थ्यकर्मी तथा स्थानीयवासीको संयुक्त सहयोगमा सडकमै आवश्यक प्रसूति सेवा प्रदान गरियो। स्वास्थ्यकर्मीको तत्कालको सेवापछि कमलाले सुरक्षित रूपमा शिशु जन्माएकी हुन्।
समयमै स्वास्थ्यकर्मीको सक्रियता र स्थानीयको सहयोगले गर्दा आमा र नवजात शिशु दुवैको ज्यान जोगिन सफल भएको छ। हाल आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको छ भने उनीहरूलाई बाजुरा स्वास्थ्य चौकी टाँटेमा राखेर स्वास्थ्य निगरानी भइरहेको छ।
वर्षायाममा सडकको दुर्दशा, भौगोलिक विकटता र स्वास्थ्य संस्थासम्म पुग्न लाग्ने लामो समयका कारण बाजुराका गर्भवती महिलाहरूले अझै पनि जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ। समयमै स्वास्थ्य संस्था पुग्न नसक्दा बाटोमै प्रसूति गराउनुपर्ने बाध्यता कायमै रहेको स्वास्थ्यकर्मी हस्त खडायतले बताए।
आपत्कालीन समयमा स्वास्थ्यकर्मीको तत्परता र स्थानीयको सहयोगले सम्भावित दुर्घटना टरेको भए पनि दुर्गम क्षेत्रमा सुरक्षित मातृत्वका लागि सहज यातायात र स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment