बाजुरामा पहिरोले सडक र विद्युत् ठप्प: सदरमुकाम सम्पर्कविहीन, जनजीवन कष्टकर

डिसी नेपाल
२२ भदौ २०८३ १२:०५

बाजुरा। शनिबार रातिदेखि जारी अविरल वर्षा र पहिरोका कारण बाजुरा जिल्लाको समग्र जनजीवन नराम्ररी प्रभावित भएको छ। पहिरोकै कारण जिल्लाभरको विद्युत् सेवा र सदरमुकाम मार्तडी जोड्ने मुख्य साँफे-मार्तडी सडकखण्ड पूर्ण रूपमा ठप्प बनेको छ।

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बडीमालिका नगरपालिका-९ स्थित कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड र सुवाकाँध लगायतका स्थानमा माथिबाट ठूलो पहिरो खसेपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ। दुई दिनदेखि सडक बन्द हुँदा मार्तडीबाट छुट्ने तथा भित्रिने लामा र छोटो दूरीका सवारीसाधनहरू बाटोमै रोकिएका छन्।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार आइतबार जेसीबी प्रयोग गरी पहिरो पन्छाउन सुरु गरिए पनि दिउँसो भारी वर्षा भएपछि काम रोकिएको थियो। आज (सोमबार) बिहानैदेखि सडक विभागको एक जेसीबी र एक स्काभेटर प्रयोग गरी बाटो खुलाउने प्रयास भइरहेको छ।

३२ वटा पोल ढलेपछि जिल्लाभर अँध्यारो

पहिरोले नेपाल विद्युत् प्राधिकरणको ३३ केभी अछाम-मार्तडी राष्ट्रिय प्रसारण लाइनका ३२ वटा खम्बा (पोल) ढालेपछि शनिबार राति ९ बजेदेखि सिङ्गो बाजुरा जिल्ला विद्युत्‌विहीन बनेको छ।

प्राधिकरणको बाजुरा वितरण केन्द्रका अनुसार बडीमालिका-९ सुवाकाँधमा ७ वटा र वीरेखोला-नुनेपानी क्षेत्रमा २५ वटा पोल ढलेका छन्। विद्युत् नहुँदा स्थानीय घरपरिवार अँध्यारोमा बस्न बाध्य छन् भने सरकारी तथा गैरसरकारी कार्यालयका दैनिक कामकाज र उद्योग-व्यवसाय पूर्ण रूपमा प्रभावित भएका छन्।

भौतिक क्षति र उद्धार प्रयास

आइतबार खसेको पहिरोका कारण बडीमालिका नगरपालिका–८ र ९ का विभिन्न स्थानमा दुई वटा घर, चार वटा गोठ, एक गाईगोठ र एक पक्की घरमा क्षति पुगेको छ।

स्थिति सामान्य बनाउन बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला आफैँ प्रभावित क्षेत्रमा खटिनुभएको छ। सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले राप्का क्षेत्रबाट दुई वटा मेसिन लगाएर सडक मर्मत भइरहेको जानकारी दिए।

यस्तै, अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्न प्राधिकरणका प्राविधिकहरूसँगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली खटाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *