गंगापूर्ण हिमालमा बेपत्ता भएका दुई जापानी पर्वतारोहीको शव फेला

डिसी नेपाल
७ कार्तिक २०८३ १५:०४

मनाङ। मनाङको ङिस्याङ गाउँपालिका-६ स्थित ७,४५५ मिटर अग्लो गंगापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका दुई जापानी पर्वतारोहीको शव फेला परेको छ।

बेपत्ता भएका जापानी नागरिक ५० वर्षीय हिदेसुके तानेइशी  र ४१ वर्षीय तेत्सु हाशिमोतोको शव शुक्रबार भेटिएको हो।

प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार काठमाडौँस्थित ‘कस्मो एड्भेन्चर’ ट्रेकिङ एजेन्सीमार्फत नेपाली पथप्रदर्शकसहित आरोहणमा गएका उनीहरू गत असोज २९ गते (अक्टोबर १५) देखि करिब ७,०५० मिटरको उचाइबाट सम्पर्कविहीन भएका थिए।

सम्पर्क विच्छेद भएपछि उद्धारका लागि सिम्रिक एयरको हेलिकप्टर र दक्ष शेर्पा उद्धार टोली परिचालन गरिएको थियो। खोजीका क्रममा सुरुमा उनीहरूले प्रयोग गरेका झोला तथा आरोहणका सामग्री फेला परेका थिए।

लगातारको खोजीपछि शुक्रबार गंगापूर्ण हिमालको दक्षिणी भागमा करिब ६,३०० मिटरको उचाइमा दुवै पर्वतारोहीको शव फेला परेको प्रमुख जिल्ला अधिकारी खनालले जानकारी दिए।

उद्धार टोलीले शवलाई काठमाडौँ ल्याउने तयारी गरिरहेको छ। महाराजगञ्जस्थित शिक्षण अस्पतालमा शव परीक्षण (पोस्टमार्टम) गरिसकेपछि काठमाडौँस्थित जापानी दूतावासको समन्वयमा आफन्तलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *