कठोर व्रत जितियाको लैङ्गिक समाजशास्त्र

सुधा देव
२ असोज २०७९ ६:३९

सप्तरी। राजविराज नगरपालिका-७ खर्साल टोलकी ६६ वर्षीया उर्मिला देवी देव ४८ वर्षदेखि जितिया व्रत गर्दै आएकी छन्। विवाह भएको वर्षदेखि नै उनले जितिया व्रत बस्न थालेकी हुन्। व्रतको उद्देश्यबारे उनले भनिन्, “सन्तान प्राप्तिका लागि व्रत बस्न थालेकी थिएँ।”

पाँच सन्तानमध्ये चार जना छोराछोरी गर्भमा भएको बेला उनले जितिया व्रत बस्नुपरेको थियो। देव भन्छिन्, “अहिलेसम्म एक थोपा पानी पनि नखाई व्रत लिँदै आएकी छु। कहिल्यै पनि कुनै समस्या आएन। अहिलेसम्म सजिलै महसुस भएको छ।” सन्तानको दीर्घायु र परिवारको सुख शान्तिका लागि वर्षमा एक पटक व्रत बस्न आनन्द लाग्ने गरेको उनको भनाइ छ।

सप्तरी राजविराज नगरपालिका-१ पडरियाकी ६२ वर्षीया सरिता देवी झाले पनि ४० वर्षदेखि जितिया व्रत लिँदै आएकी छन्। उनले दोस्रो सन्तानका रूपमा छोरा पाएपछि व्रत सुरू गरेकी हुन्। छोरा भएका आमाले कुनै हालतमा व्रत गर्नैपर्छ भन्ने मान्यता रहेकाले परिवारबाट दबाब आउन थालेपछि डरले सुरु गरेको उनले बताइन्।
राजविराज नगरपालिका-६ खर्साल टोलकी ३६ वर्षीया कविता यादव पनि यसपालि व्रत बस्ने भएकी छन्।

अब त छोरा पनि ठुलो भयो, कहिले जितिया व्रत सुरु गर्छौ? अहिलेसम्म किन सुरु नगरेकी? भन्छन्। म त भन्दाभन्दा थाकिसकेँ तर भनेको मान्ने होइन भनेर प्रत्येक वर्ष जेठानीले गुनासो गर्न थालेपछि यस वर्ष उनले व्रत बस्ने निर्णय गरेकी हुन्।

उनले भनिन्, “पाँच वर्षदेखि व्रत बस्नका लागि जेठानीले ढिपी गर्दै आउनुभएको छ। सबैले लिएको देख्दा मलाई पनि लिइनँ भने केही हुन्छ कि भनेर डर लाग्न थालेको छ। यसपालि खरजितियालागेकाले व्रत बस्ने मनसाय बनाएकी हुँ।”

कविताले थपिन्, “दिनभरी पानी नखाई बस्न नसक्ने मान्छे ३६ घण्टासम्म कसरी बस्न सकुँला? चिन्ता लागेको छ तर पनि हिम्मतका साथ गर्ने तयारीमा छु।” जितियालाई हिन्दु धर्मावलम्बीहरूले गर्ने सबैभन्दा कठोर व्रतको रूपमा लिइन्छ।

तराई मधेशका महिलाहरू छोराको दीर्घायु, सुस्वाथ्य तथा सन्तान प्राप्तिका लागि सदियाैंदेखि यो व्रत बस्दै आएका छन्। अष्टमी तिथि सुरु भएदेखि नवमीसम्म व्रतालु महिलाहरूले एक थोपा पानी पनि नखाई निराहार ३६ घण्टा व्रत बस्नुपर्ने हुनाले यसलाई कठोर व्रतको रूपमा लिइएको राजविराज-३ राजदेवी रोडकी ५० वर्षीया रूपा झाले बताइन्।

जितिया व्रत लिएकै अवस्थामा व्रतालु महिलाको मृत्युु भएको समाचार पनि कुनै कुनै वर्ष प्रकाशित, प्रसारित हुँदै आएको तितो अनुभव राजविराज-२ तेतरी गाछी की ६५ वर्षीया मीना देवको छ। उनले भनिन, “यसपालि शनिवार दिनरात र भोलिपल्ट आइतबार साँझ ५ बजेसम्म व्रत बस्ने र ६ बजे मात्र पारण गर्ने अर्थात् पानी वा अन्य खानेकुरा खान सकिन्छ।”

व्रतको विधि

राजविराज नगरपालिका-१६ बोरियाकी ५५ वर्षीया विमला देवका अनुसार, जितिया व्रत सुरु गरियो भने छोड्न मिल्दैन। बिरामी वा कुनै औषधी नखाई नहुने अर्थात् जटिल अवस्थामा मात्र छोड्न मिल्छ। त्यो पनि व्रत नलिएको अवस्थामा।

व्रत लिइसकेपछि व्रतालुको स्वास्थ्यमा जतिसुकै ठुलो समस्या आए पनि व्रत तोड्न नमिल्ने उनले बताइन्। स्वास्थ्यमा समस्या रहेको बिरामीबाहेक छोरा भएका अन्य सबै आमाहरूले छोराको दीर्घायु र सुस्वास्थ्यका लागि व्रत लिने गरेको उनको भनाइ रहेको छ।

सूर्य देवतालाई तोरीको तेल र पिनाको अर्घ दिएर व्रतको सङ्कल्प गरिन्छ। व्रतालुले दिवङ्गत सासू, जेठानी, नन्द, आमा, फुपूसासू तथा तीन पुस्ताभित्रको नाता पर्ने महिलालाई तर्पण दिने चलन छ। यस व्रतलाई षोडष मातृका श्राद्घ पनि भन्ने गरेको स्थानीय पण्डित शम्भु मिश्र बताउँछन्।

सबै दिवङ्गत आफन्तलाई तर्पण दिँदै ‘आफ्ना पौत्र (नाति), प्रपौत्र (पनाति) र उनका सन्तानको कल्याण गर, उनीहरूलाई दीर्घजीवी बन्ने आशीर्वाद देऊ’ भन्ने कामना गर्ने गरेको मिश्रको भनाइ छ।

यस व्रतमा बिहानै उठेर घर लिपपोत गरेर चोखो पारिन्छ। पिना, तेल,घिरौलाको पात,जियलको पात, बाँसको पात, नयाँ लुगा बोकेर महिलाहरू छिमेकी महिलासँग समूहमा पोखरीतिर जान्छन्। पोखरीमा पुगेपछि तोरी पेलेपछि बन्ने खोस्टा अर्थात् पिनालगाएर नुहाउँछन्।

नयाँ लुगा लगाएर पितृ तथा ‘जिमुतवाहन’ देवतालाई पिना, तेल र बाँस,घिरौँला तथा जियलको पात चढाउँछन्। व्रतको अघिल्लो दिन बेलुका व्रतालु महिलाहरूले विभिन्न प्रकारका खाना, दही, मिठाइ, माछा, कोदोको रोटी अनिवार्य रूपमा खाने गरिन्छ। भोलिपल्ट बिहान ४ बजे व्रतालु महिलाले आँगनमा घिरौलाको पातमा पितृ तथा जिमुतवाहनलाई दही, चिउरा,चिनी, केरा,मिठाई, पान,सुपारी चढाउने चलन छ।

व्रत लिएको दिन बेलुकी जतिजना छोरा छन्, त्यति वटा नरिवल,फलफूल लगायत पूजाका सामग्री राखेर डाली भर्छन्। डालीलाई छोराले मानको पातले छोपिदिन्छन्। व्रतको समय सकेपछि घरमा भएको छोरा,नातिले डाली खोल्ने गर्छन् ।प्रसादी डालीबाट प्रसाद झिकेर पुनः पितृ र जिमुतवाहनलाई चढाई सबैलाई बाँडेर दिएपछि व्रतालु महिलाले पानी पिउने र अन्य खानेकुरा खाने चलन छ।

जितिया व्रतको कथा

राजविराज ४ स्थित वैष्णवीकाली मन्दिरका पुजारी पण्डित राजिव झाका अनुसार प्राचीनकालमा शालिवाहन पुत्र जिमुतवाहनमाथि महादेवको असीम कृपा थियो। उनलाई महादेवको वरदान प्राप्त थियो। नियम निष्ठाले जो कोही व्रत बस्छ, उनको सन्तान दीर्घायु हुने वरदान पाएकाले महिलाले यो व्रत सत्ययुगदेखि बस्दै आएको पाइन्छ।

भविष्य पुरानमा वर्णन गरिए अनुसार कनकावती नदीको मध्य भागस्थित नर्मदा नदीको डिलमा पाकरीको रुख थियोे ।रुखको फेदमा स्याल र हाँगामा चिल बस्दथ्यो। स्याल र हाँगाबिच एकदमै घनिष्ठ मित्रता थियो। जितिया गर्ने व्रतालु महिलाहरू नर्मदा नदीमा स्नान गरी त्यही रुखको छेउमाजिमुतवाहन देवतालाई प्रसाद चढाएर कथा सुन्थे।

व्रतालु महिलाहरूको कथा सुनेर चिल र स्याललाई पनि व्रत बस्न इच्छा जाग्यो। दुवैले सल्लाह गरेर व्रत बस्ने निधो गरे। व्रत बसे। सोही रात नर्मदा नदीको डिलमा एकजना व्यापारीको छोराको दाहसंस्कार गरेर मलामीहरू फर्के।रुखको टुप्पोबाट चिचिलले र फेदबाट स्यालले त्यो सबै दृश्य हेरिरहेका थिए। स्याललाई मृतकको मासु खान मन लाग्यो। रात परेपछि स्यालले चिललाई ‘साथी निदायौ?’ भनी सोध्यो।

चिलले तत्काल जवाफ दिएन। स्यालले मनमनै नबोल्ने निधो गर्‍यो। चिललाई लाग्यो, अन्य दिन त यसरी सोध्दैनथ्यो। आज किन यसरी सोधेको होला? स्यालले चिलसँग पटकपटक एउटै प्रश्न गरिरह्यो। स्यालले जति सोधेपनि चिल बोलेन। स्याललाई लाग्यो,चिल निदाइसकेको छ। व्रत बसेको स्यालले मन थाम्न सकेन। चिललाई छलेर स्यालले एक्लै मासु खायो। स्यालको हरेक क्रियाकलाप चिलले रुखबाट हेरिरहेको थियो तर केही भनेन।

निकै दिन बित्यो। स्याल र चिल दुवै मरे। दुवैले भाष्कर नामको ब्राह्मणको घरमा छोरीका रूपमा जन्म लिए। ब्राह्मणले जेठी छोरीको नाम शिलावती र कान्छी छोरीको नाम कर्पुरावती राखे। शिलावतीको विवाह धनी व्यापारीसँग र कर्पुरावतीको विवाह राजासँग भयो। शिलावतीका सातछोरा जन्मिए।

कर्पुरावतीका छोरा जन्मिँदै, मर्दै गए। एक पटक दुवै दिदीबहिनीले जितियाको व्रत लिए। शिलावतीले बहिनीको छोरा छैन। उसको डाली कसले खोल्छ? भनेर चिन्तित हुँदै छोराहरूलाई बहिनीको घर पठाइन्। दिदीका सातछोरा एकै पटक आएको देखेर ईष्र्या लागेर कर्पुरावतीले पालैपालो सबैको टाउको काटेर डालीमा छोपेर दिदीको घर पठाइन्।

दिदीको घर पुग्दापुग्दै व्रतको प्रभावले सबै टाउको छोरा बनेर घर गए। डालीमा भएको टाउकाको ठाउँमा नरिवल थियोे । व्रत भङ्ग नगरेकै कारण दिदी चिलका मारिएका छोराहरू जीवित भए । बहिनी स्यालले व्रत भङ्ग गरेकै कारण जन्मिएका सन्तान पनि मरेर गए । व्रत लिइसकेपछि भङ्ग गर्नुहुँदैन भन्ने पाठ पनि यो व्रतले सिकाएको छ ।

कसैको छोराछोरी कुनैपनि सङ्कटबाट जोगियो भनेभन्ने गर्छन्–‘म्या खड् जीतिया केन रहौं, तब बच्लह’अर्थात् आमाले खरजितिया गरेकाले ज्यान जोगियो । खरदिन भनेको शनिबार, आइतबार वा मंगलबार यो व्रत परेपछि मात्र महिलाहरूले पहिलो पटक सुरु गर्ने गर्छन् । खरदिन गरिने व्रतलाई खर जितिया भन्ने चलन रहेको राजविराज–२ तेतरीगाछीकी ८० वर्षीया सावित्री देवले बताइन् ।

नकारात्मक पक्ष

जानकारका अनुसार, सन्तान जन्मिनुअघि व्रत सुरु गरेकी महिला गर्भवती भएपछि पनि व्रत बस्नैपर्ने हुन्छ । यस्तो भएपछि २४ घण्टा होस् वा ३६ घण्टा, व्रत बस्दा कुनै जटिल समस्या आइपर्ला कि भन्ने डर व्रतालुहरूमा जहिले पनि रहिरहन्छ । व्रत बसेन भने केही भइदेला कि भन्ने डर पनि उत्तिकै रहन्छ । पानी नखाई व्रत बस्न समस्या भएपछि सलाइन पानी चढाएर पनि व्रत बस्नुपर्ने बाध्यता रहेको छ ।

व्रत बस्नका लागि आमा, सासू,नन्दलगायत परिवारका सदस्यहरूबाट दबाब दिइन्छ । यसरी व्रत बस्न लगाउने चलन अहिलेसम्म पनि कायमै छ । यो व्रतमा डाली छोप्ने वा खोल्ने काम छोरा, नाति,श्रीमान्ले गर्ने, उनीहरू नभएको बेला छोरी,नातिनी घरमा भएपनि नातेदार वा छिमेकीको छोरा मान्छेलाई बोलाएर भएपनि डाली खोल्न लगाउने तर छोरी, नातिनीलाई अधिकांश परिवारमा खोल्न लगाइँदैन।

यसरी छोराको दीर्घायुका लागि व्रत बस्ने कुराले यस व्रतमा छोराछोरीबिच विभेद गरिएको विचार सप्तरी सप्तकोसी नगरपालिका १ कि ३५ वर्षिया सुषमा देवको रहेको छ । जितियाबाहेक हरेक व्रतमा अघिल्लो दिन चोखो खाने गरिन्छ ।यो व्रत मात्र यस्तो व्रत हो, जसमा व्रतालुले अघिल्लो रात अनिवार्य रूपमा माछा खाने चलन छ ।

सकारात्मक पक्ष

राजविराज नगरपालिका वडा नं ६ लिलजा टोलकि ४५ वर्षिया ममता वर्माका अनुसार, अहिलेको पुस्ताले धर्मको सम्मान गर्दै परिवर्तन पनि खोज्दै छ । कार्यालयदेखि घरसम्म दोहोरो जिम्मेवारी सम्हालिरहेका अधिकांश महिलाहरूले छोराछोरी ठुला भएपछि मात्र व्रत सुरु गर्ने गरेका छन् ।

यस व्रतले आपसी सद्भाव कायम गर्नुका साथै मनोरञ्जन पनि प्रदान गरेको छ । महिलाहरूले आफूभित्र भएको क्षमता प्रस्तुत गर्ने अवसर पनि पाउन थालेका छन् । आफन्त,साथी र छिमेकीहरू मिलेर जितियाको सामूहिक दर खाने चलन सुरु भएको छ ।

यस सम्बन्धमा अवकाशप्राप्त शिक्षक देवेन्द्र मिश्रले सन्तानको कल्याणका आमाले गर्ने व्रत त्यो पनि वर्षमा एकपटक आउने भएकोले गर्नका लागि आलटाल गर्नु अल्छीपना र व्यस्तता भएको बताए ।

वर्ष दिनदेखि भेटघाट हुन नसकेका साथीसँगी, आफन्तहरू एक आपसमा भेटघाट गरेर शुभकामना आदानप्रदान गर्ने, सामूहिक रूपमा मिठो मसिनो खाने प्रचलन बढेपछि एक अर्काबिच गहिरो सम्बन्ध कायम हुनथालेको छ । राजविराज नगरपालिका ७ खर्साल टोलकी ४६ वर्षीया कल्पना देवले बताइन्।

जितियासम्बन्धी गीत,कथालगायत महिलाहरूमा भएको प्रतिभा प्रस्तुत गर्ने अवसरसमेत सामूहिक कार्यक्रमहरूमा जुट्न थालेको छ । कम खर्चमा हुने धार्मिक दृष्टिले एकदमै महत्त्व बोकेको व्रतको रूपमा पनि यसलाई लिन सकिन्छ। जियल, बाँसर घिरौँलाका पात अनिवार्य चढाइने हुनाले प्रकृति र पर्यावरण रक्षा गर्नुपर्छ भन्ने सन्देश समेत यस व्रतले दिँदै आएको छ । राजविराज नगरपालिका वडा नं २ कि ५५ वर्षिया रेणु कुमारी चौधरीको भनाई रहेको छ।

सोह्र श्राद्ध सुरु भएकै अवधिमा यो व्रत गर्नुपर्ने चलन रहेकाले यस व्रतमा छोरी,बुहारी सबैले पितृलाई सम्मान गरेको पाइन्छ ।छोराले मात्र सोह्र श्राद्धमा पितृको श्राद्ध गर्ने प्रचलनमा सकारात्मक परिवर्तन गर्दै कतैकतै छोरीले सुरु गरेपनि यो व्रतमा त सदियौँदेखि महिलाले पनि पितृलाई पानी दिने,प्रसादी चढाउने परम्पराले पितृप्रति महिलालाई सुरुदेखि नै जिम्मेवार बनाएको छ । यस्ता पक्षहरूलाई यो व्रतको एकदमै सकारात्मक पाटोको रूपमा लिन सकिने सप्तरीको रूपनी गाउँपालिका ४ छपकीका पत्रकार बिनयलाल कर्णले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *