ओलीको शीतल छहारी पाउने आशमा एमाले प्रवेश गरेँ : पूर्वमहानिरीक्षक खनाल

डिसी नेपाल
६ असोज २०७९ १२:३१
492
Shares

काठमाडौं। नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल एमालेमा प्रवेश गरेका छन्। बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गर्दै उनले अध्यक्ष केपी ओलीको शीतल छहारी पाउने विश्वासमा पार्टी प्रवेश गरेको बताए।

आफू प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेर आईजीपीबाट अवकाश पाएको बताउँदै उनले ओली गृहमन्त्री हुँदा आफू इन्स्पेक्टर रहेको बताए।

देश, जनता र सत्यको पक्षमा ओली उभिने नेताको रूपमा आफूले पहिल्यै लागेको खनालको भनाइ छ। आफूमाथि तत्कालीन प्रहरी प्रमुखले गरेको अन्यायबारे बल्खुस्थित एमाले पार्टी कार्यालयमा पुगेर जानकारी गराउँदादेखि नै ओली सत्यको पक्षमा उभिने नेताको रूपमा आफूले बुझेको पूर्वमहानिरीक्षक खनालले बताए।

विभिन्न समूह तथा पार्टीका नाममा भएका आपराधिक गतिविधि नियन्त्रणमा पनि आफू प्रधानमन्त्री हुँदा ओलीले काम गरेको बताउँदै उनले सिके राउतलाई शान्तिपूर्ण राजनीतिमा ल्याएको बताए । साथै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई पनि शान्न्तिपूर्ण राजनीतिमा ल्याएका ओली जस्ता नेता हामीले अर्काे पाउन नसकेको उनले बताए।

खनाल जसपा सांसद सुरेन्द्र यादव अपहरण काण्डमा मुछिएका थिए। जनकपुरबाट यादवलाई खनाल, महेश बस्नेत समूहले गाडीमा हालेर काठमाडाैंकाे मेरियट हाेटलमा राखेकाे जसपाले आराेप लगाएकाे थियाे।

खनालसँगै राष्ट्रिय पुनर्जागरण पार्टीका महासचिव रविकिरण खनाल, विवेकशील साझा पार्टीका संस्थापक अब्दुस मिया, जसपाका नेता होरिलाल चौधरी, २०६४ मा सर्लाही. १ बाट निर्वाचित संविधानसभा सदस्य तथा नेकपा (एस)का केन्द्रीय सदस्य प्रकाश पाख्रिन पनि एमाले प्रवेश गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *