एमाले उपमहासचिव ज्ञवालीले युरोपेली सांसदहरुलाई भने-एमाले एकात्मक प्रणालीमा विश्वास गर्दैन

डिसी नेपाल
७ असोज २०७९ १२:१०

काठमाडौं। नेपाल भ्रमणमा रहेको युरोपेली युनियनको संसदीय प्रतिनिधिमण्डलले नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीसँग भेटवार्ता गरेको छ।

युरोपेली संसदकी उपसभापति इभलेन रेगनरको नेतृत्वमा आएको ६ सदस्यीय संसदीय प्रतिनिधिमण्डलले संसद भवन नयाँ बानेश्वरमा ज्ञवालीसँग भेटवार्ता गरेको हो।

भेटमा युरोपेली संघले नेपाललाई गर्दै आएको विकास साझेदारी, नेपालको वर्तमान अवस्था, आगामी मंसिर ४ मा हुने निर्वाचन, स्थानीय तहको निर्वाचन लगायतको विषयमा छलफल केन्द्रित भएको छलफलमा सहभागी एमाले परराष्ट्र मामिला विभागका सचिव अञ्जान शाक्यले जानकारी दिइन्।

‘एमाले एकात्मक प्रणालीमा विश्वास गर्दैन,’ छलफलमा ज्ञवालीको भनाई उद्वृत गर्दै शाक्यले भनिन्, ‘जनताको बहुदलीय जनवादमा विश्वास गर्ने भएकाले हाम्रो नीति प्रगतिशील छ।’

पिछडिएको वर्ग, सीमान्तकृत समुदाय प्राथमिकतामा राखेर एमाले अघि बढिरहेको जानकारी ज्ञवालीले दिएका थिए। ‘निजी क्षेत्र र सहकारीलाई प्राथमिकता दिनुपर्छ भन्ने हाम्रो नीति छ। मुलुकलाई स्थायित्व दिने हो भने सबैभन्दा पहिला अर्थतन्त्र बलियो बनाउन जरूरी छ। हामी त्यो कुरालाई ध्यानमा राखेर अघि बढेका छौँ। अर्थतन्त्र उक्सियो भने मात्रै प्रजातन्त्र बलियो हुन्छ,’ उपमहासचिव ज्ञवालीले भने।

उपमहासचिव ज्ञवालीले एमाले सन्तुलित विदेश नीतिको पक्षमा रहेको वताएका थिए। छलफलमा एव्लीनले नेपालसँगको सहयोग साझेदारीलाई अझ विस्तार गर्दै लैजाने कुरामा सकारात्मक रहेको बताएकी थिइन्।

‘नेपालको विकास र समृद्धिका लागि हामी निरन्तर सहयोग गर्न तयार छौँ। प्रजातन्त्रको स्थायित्वका लागि पनि प्रभावकारी सहयोग गर्न तयार छौँ। हामी नेपाल दिगो विकासको लक्ष्यमा पुगेको देख्न चाहन्छौँ,’ उनले भनिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *