मादल बनाउने पेसा सङ्कटमा

डिसी नेपाल
२० असोज २०७९ २१:३५

कर्णाली । कच्चापदार्थ र उचित बजार मूल्यको अभावका कारण बादी समुदायको मादल बनाउने पेसा सङ्कटमा परेको छ । कर्णालीका रैथाने बादी समुदायका युवा भने पछिल्ला केही वर्षयता यो पेसाबाटै पलायन भएका छन् ।

दैलेखको भैरवी गाउँपालिका–४ का रणवीर बादीले आफूहरूको मादल बनाउने, बिक्री गर्ने पेसा सङ्कटमा पर्दै गएको बताए । उनले पनि तीन वर्षदेखि मादल बनाउन छाडेका छन् । “मादल बनाउनु बादी जातिको पुख्र्यौली पेसा हो, यसको कच्चापदार्थ र बजारमा उचित मूल्य पाउन छाडेपछि मैले पनि मादल बेच्न छाडेँ”, रणवीरले भने, “उसो त कच्चापदार्थ पाइँदैन, पाइहाले पनि निकै महँगो मूल्य पर्छ, श्रमको मूल्य नजोडेर बिक्री गर्दासमेत केही फाइदा हुँदैन ।” रणवीर जस्तै अधिकांश बादी युवा पुख्र्यौली पेसाबाट पलायन भइसकेका छन् ।

बादी सरोकार समितिका संयोजक हिक्मत बादीले व्यावसायिकरूपले फाइदा नहुने देखिएपछि विस्तारै आफ्नो समुदायले मादल बनाउन छाडेको बताए । उनका अनुसार हाल मादल बनाउने युवाको सङ्ख्या निकै कम छ । दैलेखका तल्लो डुङ्गेश्वर, भैरवी डाडीमाडी र दुल्लुका केही बादी युवाले मादल बनाउने पेसालाई निरन्तरता दिएको पाइन्छ । “यही पेसाबाट जीविकोपार्जन गर्नै कठिन भएपछि यसप्रति आकर्षण घटेको हो”, हिक्मतले भने, “कुनैबेला हाम्रो जीविकोपार्जनको मुख्य आधार यही पेसा थियो, मादल दिएर प्रशस्त अनाज उठ्थ्यो, अहिले यसबाट गुजारा चलाउन पनि मुस्किल पर्ने भयो, मेहनत बढी र मूल्य कम पाउने भएपछि धेरैले छाडिसके ।” नयाँ पुस्तालाई मादल बनाउने सीपको हस्तान्तरण गर्न, बजारको ग्यारेन्टी गर्नसके बादी समुदायको पुरानो शिल्पीको संरक्षण हुने हिक्मतको भनाइ छ । मादलका लागि लाम्पाते, पटमेरो, सिरिस, उत्तिसजस्ता रुखको काठका साथै खरी, छालाको आवश्यकता पर्दछ । स्थानीयस्तरमा यी कच्चा पदार्थको अभाव हुने गरेको छ ।

वाद्यवादनका लागि मादल अनिवार्य साधन हो । मादलको माग तीज र तिहारका बेला बढी हुने गर्दछ । गाउँ, सहर जताततै आवश्यकतापर्ने भए पनि कच्चापदार्थ अभाव र उचित बजार मूल्य नपाउँदा यसको उत्पादनमा कमी आएको हो । स्थानीयस्तरमा मादल उत्पादन हुन छाडेपछि वीरेन्द्रनगरमा भारतीय मादल भित्रिएका छन् । दसैँको घटस्थापनादेखि नै भारतको झारखण्डबाट युवाको एक समूह मादल बेच्न यहाँ आइपुगेको थियो । यसपाला वीरेन्द्रनगरमा भारतमा बनाइएका मादल बेच्न राखिएका छन् । ती मादल भारतीय नागरिकले डुलाउँदै बिक्री गर्ने गरेका छन् ।

भारतको उत्तराखण्डबाट मादल बेच्न आएका राजु दासले दैनिक ५० मादल बिक्री गर्ने गरेको बताए । भारतीय मादल रु एक हजार २०० मा बिक्री हुँदै आएको छ । वीरेन्द्रनगर–६ का स्टेशनरी व्यवसायी शेरबहादुुर खड्काले भारतीयले घरदैलोमै सस्तो मादल दिएपछि आफूले एकसय थान खरिद गरेको बताउँदै भने, “स्थानीय उत्पादन नपाउँदा भारतीय मादलमा भर पर्नुपरेको छ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *