वालिङका पाँच घर पहिरोको जोखिममा

डिसी नेपाल
२१ असोज २०७९ ८:१८
60
Shares

वालिङ। अबिरल वर्षासँगै पहिरो खस्दा यहाँका पाँच घर जोखिममा परेका छन्। स्याङ्जाको वालिङ–१३ ठूलाखेतका पाँच घर पहिरोको जोखिममा परेपछि त्यहाँका मानिसलाई छिमेकीका घरमा सारिएको छ। स्थानीय धनबहादुर डाला, पृथलाल गुरुङ, तनबहादुर सारु, ईन्द्रबहादुर सार्की र रामबहादुर सार्कीका पक्की घर पहिरोको जोखिममा परेको वडाध्यक्ष नमलाल डुम्रेले जानकारी दिए।

आज दिउसो ३ बजे घर मुनीबाट पहिरो खसेपछि तत्काल त्यहाँ बस्दै आएका परिवारहरुलाई छिमेकीको सारिएको उनले बताए। पानी परिरहेकाले थप क्षति हुन नदिन पहिरो गएको ठाउँमा त्रिपाल र प्लास्टिकले छोपिएको छ। प्लटिङ गरिएको जग्गामा लगाइएको अग्लो पर्खाल भत्किएर पहिरो जाँदा ती घरहरु जोखिममा परेका हुन्।

अहिले पानी परिरहेकाले जोखिममा रहेका घरमा बस्दै आएकाहरुलाई छिमेकीको घरमा राखिएको नगर प्रमुख कृष्ण खाँणले बताए। मानवीय क्षति नहोस् भनेर त्यहाँ बस्दै आएका पाँच परिवारलाई छिमेकीको घरमा सारिएको छ। पानी रोकिएपछि प्राविधिक तथा विपद ब्यवस्थापनको टोलीले निरीक्षण गरी बस्न हुने/नहुने बुझेर सोही अनुसारको प्रक्रिया अगाडि बढाइने उनले जानकारी दिए।

नगरपालिकाले प्रदेश र केन्द्रीय सरकारसँग राहत तथा सहयोगका लागि पहल गर्ने नगरप्रमुख खाँणले बताए। मङ्गलबार रातिदेखि परेको अविरल वर्षाकाकारण यहाँको जनजीवन कष्टकर बनेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *