हिजाब विवाद : इरानको अगाडि आउन सक्छ अर्को ठूलो संकट

डिसी नेपाल
२४ असोज २०७९ ११:०८
72
Shares

काठमाडौं । जर्मनीकी विदेशमन्त्री एन्नालिना बियरबकले इरानमा भएको हिंसात्मक प्रदर्शनका लागि जिम्मेवार व्यक्तिलाई कारबाही गर्न आह्वान गरेकी छन् ।

एन्नालिना बेयरबकले भनिन् कि जर्मनीले युरोपेली संघले सम्पत्ति रोक्का गर्ने र इरानको घटनाक्रमका लागि जिम्मेवार व्यक्तिहरूको प्रवेशमा प्रतिबन्ध लगाउने सुनिश्चित गर्नेछ।

उनले भनिन्, ‘सडकमा महिला र केटीलाई कसले कुट्छ ? यस्ता मानिसहरु गलत इतिहास बोकेका हुन्छन् ।’

समाचार एजेन्सी रोयटर्सका अनुसार युरोपेली संघका विदेशमन्त्रीले १७ अक्टोबरमा प्रतिबन्धका बारेमा निर्णय गर्न सक्नेछन्।

एन्नालिना बेयरबकले एक जर्मन पत्रिकासँगको कुराकानीमा स्वतन्त्र जीवन खोज्नेहरूको मृत्युको निन्दा गरिन् ।

उनले इरानीहरुलाई भनिन्, “हामी तपाईहरुको साथमा छौं र रहनेछौं।”

महसा अमिनीको मृत्युपछि इरानमा भड्किएको विरोध प्रदर्शनका कारण इरानमाथिको प्रस्तावित प्रतिबन्धको चर्चा सुरु भएको हो ।

२२ वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा सेप्टेम्बर १६ मा मृत्यु भएको थियो । हिजाब राम्रोसँग नलगाएको भन्दै प्रहरीले हिरासतमा लिएर नराम्ररी कुटपिट गरेको आरोप छ ।

अमिनीको मृत्युपछि सुरु भएको आन्दोलनमा दर्जनौं मानिसको मृत्यु भइसकेको छ ।

नर्वेस्थित इरान मानव अधिकार समूहका अनुसार हालसम्म १९ बालबालिकासहित कम्तीमा १८५ जनाको मृत्यु भइसकेको छ ।

इरानको सरकारी मिडियाका अनुसार देशका विभिन्न भागमा भएको हिंसात्मक प्रदर्शनका कारण २० सुरक्षाकर्मीको मृत्यु भएको छ ।

सामाजिक सञ्जालमा शेयर भइरहेको भिडियोमा इरानी सुरक्षा बलहरू अहिले विद्यालय र कलेजहरूमा प्रवेश गरिरहेको देख्न सकिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *