पाकिस्तानका अर्थमन्त्रीमाथि अमेरिकामा दुर्व्यवहार, भने– ‘तिमी चोर हौ, झुटो हौ’
काठमाडौं । पाकिस्तानका अर्थमन्त्री इशाक दारले अमेरिकाको वासिङ्टन विमानस्थलमा दुर्व्यवहारको सामना गर्नुपरेको छ । उनलाई विमानस्थलमा एक व्यक्तिले ‘झुटो’ र ‘चोर’ भन्दै सम्बोधन गरेका थिए । यो घटनासँग जोडिएको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
भिडियोमा एक व्यक्तिले मन्त्री इशाक दारलाई ‘झुटो’ भनेको सुनिएको छ । आफ्ना साथीहरूसँग त्यहाँबाट निस्किएका इशाक दारले पछाडि फर्केर व्यक्तिलाई भन्छन्, “तिमी झुटो हौ।”
त्यसपछि त्यो व्यक्ति फर्केर भन्छ, ‘तिमी चोर हौ’। यसले दारसँगै आएका एक अधिकृतलाई आक्रोशित बनायो र उनले पनि गाली गर्ने व्यक्तिलाई गाली गर्न थाले। यसैबीच अरूले इशाक दारलाई त्यहाँबाट लैजान्छन्। यो पूरै घटना रेकर्ड गर्ने व्यक्ति पनि क्यामेरामा देखिएका छन्।
यसअघि सेप्टेम्बरमा पाकिस्तानकी सूचना मन्त्री मरियम औरङ्गजेबलाई लण्डनको एउटा कफी पसलमा केही व्यक्तिले घेरेर उनको विरुद्धमा नारा लगाएका थिए। यसको एउटा भिडियो पनि बाहिर आएको छ, जसमा केही व्यक्तिले मरियम औरंगजेबलाई ‘चोर’ भन्दै सम्बोधन गरेका छन् ।
मरियमलाई घेरेका व्यक्ति पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पीटीआईकी समर्थक भएको दाबी गरिएको थियो । यद्यपि इशाक दारलाई दुर्व्यवहार गर्ने व्यक्तिको पीटीआईसँग सम्बन्ध छ कि छैन भन्ने पुष्टि भएको छैन।
इशाक दार आईएमएफ र विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन वासिङ्टन पुगेका थिए । पाकिस्तान अहिले गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको छ र यसले आईएमएफबाट सहयोग पाउने अपेक्षा गरिएको छ ।







डिसी नेपाल







Facebook Comment