चुनावी चहलपहल बढेसँगै होटल व्यवसाय फस्टाउन थाल्यो

डिसी नेपाल
३० असोज २०७९ ८:०७
52
Shares

महाेत्तरी। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ को चहलपहलले महोत्तरीको होटल व्यवसाय फस्टाएको छ। जिल्लाका चार प्रतिनिधिसभा क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका बजारका होटल केही दिनयता ग्राहकले खचाखच भरिएका छन्। चुनावी चहलपहलको भीडले होटल व्यवसाय प्रवद्र्धन गएको व्यवसायीको भनाइ छ।

जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं १ को बर्दिबासमा विभिन्न दल र स्वतन्त्र उम्मेदवारका निर्वाचन परिचालन कार्यालय सञ्चालनमा आएसँगै होटलमा ग्राहकको सङ्ख्या ह्वात्तै बढेको छ।

बर्दिबासचोकमै सत्ता गठबन्धन, नेकपा (एमाले)- जनता समाजवादी (जसपा) गठबन्धन र स्वतन्त्र उम्मेदवारका कार्यालय सञ्चालनमा आएलगत्तै बजारु चहलपहल ह्वात्तै बढेको नेपाल होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष रेवन्त कार्की ‘सुदीप’को भनाइ छ।

“निर्वाचन आयोगले बर्दिबासमै निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्‍यो, सडक यातायातको सहजताले दल र उम्मेदवारले पनि यही नै कार्यालय सञ्चालनमा ल्याए”, उनले भने, “यसले चुनावी तयारीको चहलपहल बढेसँगै होटल खचाखच भरिएका छन्।”

निर्वाचन अधिकृतको कार्यालयसम्बद्ध कामको सम्पर्कमा र दल एवं अन्य उम्मेदवारका कार्यालयमा आउजाउ गर्ने बढेसँगै होटलमा ग्राहक बढेका सुदीपको भनाइ छ। साना–ठूला गरी एक सयको हाराहारीमा होटल रहेका बर्दिबासमा सबै होटल अहिले भरिभराउ देखिँदैछन्।

उम्मेदवारले निर्वाचन चिह्न पाएसँगै प्रचार अभियान औपचारिकरूपमा सुरु भएको छ। यस क्रममा जिल्लाका प्रत्येक प्रतिनिधिसभा क्षेत्रका मुख्य बजारमा दल र स्वतन्त्र उम्मेदवारका कार्यालय सञ्चालनमा आएका छन्।

बर्दिबासका अतिरिक्त जिल्लाका बलवा, जलेश्वर र रामगोपालपुरमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा छन्। यिनै ठाउँमा दल र स्वतन्त्र उम्मेदवारले पनि आ-आफ्ना कार्यालय सञ्चालनमा ल्याएपछि चुनाव विशेषको बजारु चहलपहल बढेको हो ।

यसबाहेक जिल्लाका सीतापुर, गौशाला, रौजा, लोहारपट्टि, पिपरा, मटिहानी, मनरा र सम्सीलगायतका मुख्य बजारमा पनि दल र अन्य उम्मेदवारका सम्पर्क कार्यालय सञ्चालन गरिएपछि चुनावी माहोल तात्दै गएको छ।

“अहिले त दिवाली (तिहार) र छठपर्वको तयारीमा आम सर्वसाधारण रहेका हुँदा चुनावी अभियान जनजन र घरघर पुग्न बाँकी छ”, प्रतिनिधिसभा क्षेत्र नं १ कै सीतापुर बजारका कपडा व्यापारी सहवुल अन्सारी भन्छन्, “पर्व सकिनासाथ परिवेश निर्वाचनमय बन्नेछ ।” बितेका दुई वर्ष कोरोना सङ्क्रमणले थलिएको व्यापार अब निर्वाचन चहलपहलले केही बौरने आस पालिएको उनको भनाइ छ।

बजारमा अहिले मुख्यतः होटलमा बढी भीड देखिएको छ। यससँगै झण्डा, ब्यानर र पर्चापम्प्लेटका लागि कपडा पसल, पेन्टर र प्रेसमा चुनावी प्रयोजनका ग्राहक बढ्दै गएका रामगोपालपुरका सामाजिक-राजनीतिक कार्यकर्ता छठु पटेल बताए।

निर्वाचन जनजन र घरघर परिचालित हुने ‘महापर्व’ जस्तै हुने भएको हुँदा यसक्रममा बन्दव्यापार, यातायात, सामाजिक भेटघाट र विकास अवसरका संवादले राम्रो मौका पाउने राजनीतिक कार्यकर्ता जनाए।

यसपालि उम्मेदवारको मनोनयनदेखि निर्वाचन चिह्न पाउनेसम्मका कार्यक्रम सम्पन्न भएलगत्तै तिहार र छठपर्वको तयारी परेको हुँदा यी पर्वपछि चुनावी माहोल अझ उत्कर्षमा पुग्ने जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष लवराजा सिंहको धारणा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.