नेकपा एसका उम्मेदवार किसान श्रेष्ठ भाेट माग्नभन्दा कांग्रेसका नेता फकाउन व्यस्त

डिसी नेपाल
३१ असोज २०७९ १३:५८
96
Shares

बारा। जनमत नै नभएको पार्टीबाट बारा-४ को प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठ यतिबेला कांग्रेसका नेता फकाउनमा व्यस्त छन्। टिकट वितरणलाई लिएर असन्तुष्टि जनाउँदै आएको कांग्रेसले सहयोग नगर्ने देखेपछि श्रेष्ठले कांग्रेसका नेता फकाउन थालेका हुन्।

आफ्नो समेत केही प्रतिशत लगानी रहेको सिमरास्थित होटल क्लासिकमा बोलाउँदै नेता श्रेष्ठले कांग्रेसका नेता कार्यकर्तालाई फकाइरहेका छन्। कांग्रेस नेतालाई फकाउने क्रममा श्रेष्ठले तनँहु-१ कांग्रेसका वरिष्ठ नेतालाई छोडेर बारा आएको बताउने गरेका छन्। तर, उक्त क्षेत्रमा वरिष्ठ नेता पौडेलले टिकट पाउने भएपछि उनी बारा आएका हुन्। नेता पौडेलले टिकट पाउने निश्चित हुँदा श्रेष्ठ उम्मेदवार हुन पाउने थिएनन्।

तनँहुबाट टिकट नपाउने देखेपछि बारा-४ मा रोजेका श्रेष्ठलाई अहिले आफ्नो निर्णय भारी पर्न थालेको छ। नेकपा एसको कमजोर जनमत हुँदाहुँदै पनि ठुलो पार्टीलाई पन्छाएर टिकट हत्याउन सफल भएका श्रेष्ठ अहिले सबैको जनमत जुटाउन प्रयासरत छन्।

तर, श्रेष्ठले कांग्रेसको मत भने प्राप्त गर्ने देखिँदैन्। यस क्षेत्रमा कांग्रेस बलियो र धेरै जनमत भएको पार्टी हो। बलियो जनमत हुँदाहुँदै पनि कांग्रेसले यस क्षेत्रमा टिकट प्राप्त गर्न सकेन। लगातारको निर्वाचनमा पार्टीले अवसर प्राप्त गर्न नसकेपछि यस क्षेत्रका कांग्रेस कार्यकर्ता रुष्ट छन्।

स्थानीय तह निर्वाचनमा पनि कांग्रेसले नगर प्रमुख पद माओवादी केन्द्रलाई सुम्पनु परेको थियो। कांग्रेसकै मतबाट माओवादी केन्द्रका उम्मेदवार राजन पौडेल नगर प्रमुखमा निर्वाचित हुँदा कांग्रेसकी उम्मेदवार मेघा शाही पराजित भएकी थिइन्। नगर प्रमुख निर्वाचत भएको आधार देखाएर माओवादी केन्द्रले यस निर्वाचनमा प्रदेशसभा ४ (क) तर्फको टिकट समेत प्राप्त गरेको छ ।

कांग्रेसलाई भर्‍याङ मात्रै बनाउँदा पार्टीको अस्तित्व समाप्त हुने देखेपछि कांग्रेसका अगुवा नेता ईच्छाबहादुर वाग्ले र नारायणी रायमाझीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।

पार्टीका कार्यकर्ताको भावनामाथि निरन्तर प्रहार भएको भन्दै उम्मेदवारी दिएको बताउने रायमाझीले भने पार्टीमा उचित पद पाउने भएपछि चुनावी अभियानबाट पछि हटेकी छिन् । कार्यकर्ताको भावनाको कदर नभएको बताउने रायमाझीले अन्तिम समयमा पार्टीले पदिय जिम्मेवारी दिने भएपछि काठमाडाैं गएर चुनावी अभियानबाट पछि हट्ने घोषणा गरेकी हुन् ।

स्वतन्त्र उम्मेदवारी दर्ता गराएका वाग्ले भने अझै चुनावी मैदानमा छन् । वाग्लेले चुनावी प्रचारलाई तीव्र पारेका छन् । आफ्नो उम्मेदवारी कांग्रेसलाई जीवन्त राख्न भएको वाग्लेको भनाइ छ । कांग्रेसको उम्मेदवार नै नभएको ठाँउमा आफ्नो उम्मेदवारी एउटा विकल्प भएको वाग्लेको भनाइ छ । वाग्लेको प्रचारमा दैनिक सयौं कांग्रेस कायकर्ता र शुभेच्छुक सक्रिय देखिन्छन् ।

यता, केन्द्रीय शक्ति प्रयोग गरेर टिकट ल्याएका श्रेष्ठ भने वाग्लेको उम्मेदवारीले तनावमा छन् । उनले उम्मेदवारी फिर्ता गराउन प्रयास गरेपनि वाग्ले अडिग देखिएका छन् । वाग्लेले कांग्रेस कार्यकर्ताको भावनामाथि खेलबाड हुन नदिने बताइरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.