मह जोडीले अमेरिकाका विभिन्न शहरमा प्रस्तुति दिने

पन्थसहित समता सिनेटरहरुलाई सम्मान गरिने

डिसी नेपाल
२ कार्तिक २०७९ ६:२२

वासिंगटन डिसी। नेपालका बरिष्ठ हास्य कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले नोभेम्बरको पहिलो सातादेखि अमेरिकाका विभिन्न शहरहरुमा ‘समता’ सम्बन्धी कार्यक्रममा सहभागिता जनाउने भएका छन्।

समता ग्लोबल सिनेटको आयोजनामा हुने कार्यक्रमहरुमा समताका सिनेटरहरुलाई सम्मानसहित मह जोडीको प्रस्तुतिसहितको सांस्कृतिक कार्यक्रम पनि गरिने छ। यी कार्यक्रमहरुमा गायक रामकृष्ण ढकाल र अन्य कलाकारहरु पनि सहभागी हुने छन्।

समता फाउण्डेशन, नेपालका अध्यक्ष उत्तम सन्जेल पनि मह जोडीसँगै नोभेम्बर ५ देखि २० तारिकसम्म अमेरिकाका विभिन्न शहरहरुमा आयोजना गर्ने सिनेटर सम्मान तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुनेछन्। मह जोडी समता फाउण्डेशनका संरक्षक हुन्।

कार्यक्रम नोभेम्बर ५ मा न्यूयोर्कबाट शुरु हुनेछ । मह जोडीसहितको टोली यो अभियानका क्रममा सिकागो, कोलम्बस, पिट्सबर्ग,बस्टन, सेन्ट लुइस, सानफ्रान्सिस्को र डालास शहरहरुका हुने बृहत सुशोभन तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुँदैछन्।

समता ग्लोबल सिनेटका अध्यक्ष प्रा.डा.उत्तम गौलीले दिएको जानकारीअनुसार, गैरआवासीय नेपाली संघ अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थसहितका सिनेटरहरुलाई मह जोडीले सम्मान गर्दैछन्। पन्थ हालै सो संस्थाको सिनेटर बनेका छन्।

विभिन्न परोपकारी कार्यमा संलग्न पन्थले नेपालका वालवालिकाको शिक्षामा योगदान पुगोस् भन्ने उद्देश्यले सिनेटर बनेको प्रतिक्रिया दिए। समताको ग्लोबल सिनेटर बनेर नेपालको शिक्षा क्षेत्रमा योगदान गर्न चाहनेहरुको संख्या उल्लेख्य भएको र सम्मान कार्यक्रमसंगै सबैको नाम सार्वजानिक गरिने पनि डा.गौलीले बताए।

नेपालमा गरीव तथा जेहेन्दार बालवालिकालाई अत्यन्त न्यून शुल्कमा उच्चस्तरीय शिक्षा दिँदै आएको समता फाउण्डेसनको सहयोगका लागि समता ग्लोबल सिनेट नामक संस्था बनाइएको छ। यो संस्थामा सिनेटर बन्न न्यूनतम एकहजार अमेरिकी डलर शुल्क लाग्ने डा.गौलीले बताए।

सोभन्दा बढी जति रकम सहयोग गरेर नेपालका गरीब र जेहेन्दार बालवालिकाको शिक्षामा योगदान गर्न सकिने भने समता सिनेटले जनाएको छ। तत्काल ठूलो रकम आर्थिक सहयोग गर्न नसक्नेले सानो तिनो रकम भए पनि समताको शिक्षा अभियानका लागि सिनेटमार्फत सहयोग गर्न सक्ने गौलीले बताए। समताले जम्मा एक सय नेपाली रुपैयाँ शुल्कमा नेपालका अधिकांश जिल्लाहरुमा विद्यालय खोलेर सर्वशुलम र गुणस्तरीय शिक्षा दिँदै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *