निष्पक्ष ढङ्गबाट निर्वाचन सम्पन्न गर्न सरकार तयार छः मुख्यमन्त्री पोखरेल

डिसी नेपाल
७ कार्तिक २०७९ १२:१८
36
Shares

दमौली। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भयरहित र निष्पक्ष ढङ्गबाट निर्वाचन सम्पन्न गर्न प्रदेश सरकार तत्पर रहेको बताएका छन्।

तनहुँको बन्दीपुरमा सम्पन्न गण्डकी प्रदेशका सात वटा जिल्लाका सुरक्षा निकायका प्रमुखसहितको अन्तर जिल्ला सुरक्षा समन्वय बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई भयरहित बनाइने प्रतिबद्धता व्यक्त गरे।

निर्वाचनलाई स्वच्छ रुपमा सम्पन्न गराउन विशेष योजना बनाएर अगाडि बढ्न मुख्यमन्त्री पोख्रेलले निर्देशन दिए। मुख्यमन्त्री पोख्रेलले निर्वाचनमा कतिबेला कहाँ के हुन्छ भन्न नसकिने भएकाले गम्भीरतापूर्वक कार्ययोजना बनाएर कार्यान्वयन गर्न निर्देशन दिए।

कार्यक्रममा आन्तरिक मामिलामन्त्री डोबाटे विकले प्रदेशका जिल्लाहरुको सुरक्षा अवस्था, अन्तर जिल्ला समन्वय, प्रदेश सरकारसँगको अपेक्षा, पालिकाहरुसँगको समन्वयका बारेमा जानकारी लिनका लागि बैठक राखिएको बताए।

प्रदेशको आन्तरिक मामिला मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा तनहुँ, कास्की, स्याङ्जा, गोरखा, नवलपुर, लमजुङ र मनाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख सहभागी थिए।

सो अवसरमा जिल्लाका सुरक्षाको वस्तुस्थिति, स्रोतसाधन, विपद् व्यवस्थापन, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुरक्षा व्यवस्थापन लगायतका विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा नेपाली सेनाका मध्यकमाण्ड सेनापति उपरथी बाबुराम श्रेष्ठ, गण्डकी प्रदेश प्रहरी प्रमुख रामदत्त जोशी, तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मी लगायत सहभागी थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.