आइतबार राती नेपालगन्जमा दुई समूहबीच गोली हानहान
काठमाडौं– तिहारको बेला नेपालगन्जमा आइतबार राती दुई समूबीच गोली हानहान भएको छ । नेपालगन्ज उपमानगरपालिका वडा नम्बर ८ त्रिभुवन चोक नजिकै दुई आपराधिक गिरोहबीच विवाद हुँदा गोली हानहान भएको हो ।
प्रहरीका अनुसार दुई समूहबीच विवाद हुँदा एक पक्षले अर्को पक्षलाई घेरेपछि घेरामा परेको पक्षले हवाई गर्दा अर्को पक्षले पनि हवाई फायर गरेको थियो । बाँके प्रहरीका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीमगरले उक्त घटनामा दुईवटा आपराधिक गिरोहको संलग्नता रहेको प्रारम्भिक सूचना प्राप्त भएको तर कोही पनि पक्राउ नपरेको बताए । उनले दुवै पक्षका व्यक्तिहरुको नाम थाह भएपनि कसैलाई पनि पक्राउ नगरिएको बताए । ‘नेपालगन्जकै स्थानीयवासी रहेका उनीहरुको खोजीकार्य तीव्र पारिएको छ’, आज साँझसम्म पक्राउ पर्छन’, डिएसपी घर्तीमगरले भने । उनले यस घटनालाई गम्भीर घटनाका रुपमा लिएर अनुसन्धान सुरु गरेको जानकारी दिए ।
सीमावर्ती सहर नेपालगन्जमा हातहतियारको अवैध घुसपैठ भएकाले यस्ता घट्नाहरु बढ्न थालेका स्थानीय वासिन्दाहरुले बताएका छन् । तिहारको बेला र आसन्न निर्वाचनको सम्मुखमा गोली चलेपछि यसले थप जोखिम र खतरातर्फ संकेत गरेको छ । प्रहरीले सुरक्षा व्यवस्थामा थप संवेदनशीलता देखाएको बताएपनि आपसमा झगडा गर्नेहरु पक्राउ नपर्नुले स्थानीयहरुले प्रहरीको क्रियाशीलताबारे प्रश्न उठाएका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment