दक्षिण कोरियाको महोत्सवमा सीताको नृत्य, १५ मुलुक सहभागी

डिसी नेपाल
८ कार्तिक २०७९ ७:०९

सिओल। दक्षिण कारियामा सम्पन्न अन्तर्राष्ट्रिय महोत्सवमा नेपालकी नृत्यंगना सीता सुवेदीले आकर्षक नृत्य प्रस्तुत गरेकी छिन्।

आफ्नो एकमात्र खुट्टाले पनि लोक तथा कथक विधामा प्रखर नृत्य गरेर विश्वभरका नेपालीमाझ निकै चर्चित बनेकी उनले सो महोत्सवमा ‘मखमली चोलो चाहिँदैन’ भन्ने गीतमा नाचेकी थिइन्।

उनीसहित नेपालबाट आएका चर्चित कलाकारहरु धर्मेन्द्र सेवान र तृष्णा गुरुङले नेपाली सहित विभिन्न मुलुकका दर्शकहरुलाई आफ्नो गीतसंगीतमार्फत् मनोरञ्जन प्रदान गरका थिए।

विभिन्न मुलुकको कला, संस्कृति र भेषभूषालाई एकै स्थलमा प्रस्तुत गरिने कार्यक्रम माइग्रेन्ट आरिराङ मल्टिकल्चरल फेस्टिबल (माम्फ) आइतबार सकिएको छ।

ख्याङनाम माइग्रेन्ट सेन्टर र माम्फ आयोजक कमिटीले आयोजना गरेको १७ औं माइग्रेन्ट आरिराङ मल्टिकल्चरल फेस्टिबल २०२२ मा नेपाल, चीन, जापान, म्यानमार, मंगोल, भियतनाम, थाइल्याण्ड, उज्बेकिस्तान, पाकिस्तान, कम्बोडिया, फिलिपिन्स, श्रीलंका, बंगलादेश, इन्डोनेसिया र दक्षिण कोरिया गरी १५ मुलुकको सहभागिता रहेको थियो।

छाङवन शहरको योङजी पार्कमा गत शुक्रबारदेखि आइतबारसम्म चलेको तीनदिने मल्टिकल्चरल फेस्टिबलमा हरेक मुलुकको विभिन्न प्रस्तुतिसहित बहुसांस्कृतिक विविधता परेड, एशियाली संगीत कन्सर्ट, ग्लोबल माइग्रेन्ट डान्सका साथै विभिन्न मुलुकलाई चिनाउने कला प्रदर्शनी र विविध सामग्रीसहितको स्टलहरु राखिएका थिए।

प्रवासीहरुका लागि गरिने कोरियाकै सबैभन्दा ठुलो महोत्सवमा सहभागी राष्ट्रहरुका राजदूतसहित उच्च निकायका व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो। उक्त महोत्सवमा हरेक मुलुकबाट आएका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुति पस्केका थिए।

ग्लोबल माइग्रेन्ट्स डान्स अडिसनमा नेपाली टिमबाट छानिएका कलाकार आरती चौधरी र सुबी मानन्धरले स्टेजमा नृत्य गरेका थिए।

महोत्सवको अन्तिम दिन भएको बहुसांस्कृतिक विविधता परेडमा ३० लाख वनसहित मंगोलियाको समुह प्रथम भएको थियो। करिव २४ हजारको सहभागिता रहेको उक्त फेस्टिवल कोरोनाका कारण दुई वर्ष अनलाइन कार्यक्रम गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *