कोरियालीको महान चाडमा नेपाली लोक तथा दोहोरी

डिसी नेपाल
१० कार्तिक २०७९ ७:३३

कोरिया। नेपाली चाडपर्वहरुलाई दक्षिण कोरियाबासी नेपालीमाझ भव्य बनाउन सक्रिय रहेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, दक्षिण कोरिया शाखाले कोरियालीहरुको महान चाड सलनाल पनि नेपाली लोक गीतहरुसहित मनाउने निर्णय गरेको छ। सलनाल धमाका-२०२३ नाम दिइएको सो कार्यक्रम जनवरी २२ तारिकका दिन तय गरिएको छ।

अक्टोबर २३ तारिक आइतबार बसेको कोरिया शाखाको बैठकले कोरियाको महान चाड सलनालमा पनि नेपाली लोक संस्कृतिका माध्यमबाट मनोरञ्जन गरी उत्सव मनाउने निर्णय गरेको हो।

लोकप्रिय सर्जक सिपी मगरको संरक्षकत्वमा तथा जितनभाइ श्रीसको अध्यक्षतामा गठित सो संस्थाले स्थापनाकालको छोटो समयमै बिभिन्न सामाजिक कार्यहरुमा सक्रियरुपमा लागिपरेर कोरियाबासी नेपालीमाझ लोकप्रियता कमाएको छ।

विशुद्ध नेपाली मौलिक लोकगीत तथा लोक कला संस्कृतिको संरक्षण तथा सम्वर्दन गर्ने उद्देश्यले स्थापना भएको यस संस्थाले प्रवासमै रहेर पनि दक्षिण कोरियामा रहेका नेपालीहरुलाई बेला बेलामा नेपाली चाडपर्व तथा कोरियन पर्वहरुमा मनोरञ्जन दिँदै आइरहेको छ। सो संस्थाले नेपालमा लोक दोहोरी प्रतिष्ठानको केन्द्रीय भवन निर्माणमा रू. दस लाख सहयोग गरेको थियो।

महामारीकै बीच सुरज केसीको अध्यक्षतामा दोश्रो कार्यसमिति बनेको थियो। केसी नेतृत्वको कार्यसमितिले हरेक बर्ष नेपालमा प्रतिभावान नवकलाकारहरुलाई “लोक दोहोरी नव प्रतिभा पुरस्कार “ दिने घोषणा गरेअनुसार पहिलो बर्ष कलाकार रेशम निर्दोष र डिला बिकलाई उक्त पुरस्कार प्रदान गरिएको थियो।

गत सेप्टेम्बरमा फेरि खिम छन्त्यालको अध्यक्षतामा तेश्रो कार्यसमितिको गठन भएपछि कोरियाली चाड सलनालको उपलक्ष्यमा समेत नेपाली सांस्कृतिक कार्यक्रम तय भएको छ।

राजधानी सिओलमा हुने सो कार्यक्रममा लोक दोहोरी प्रतिष्ठान दक्षिण कोरिया शाखाका कलाकारहरुको लाईभ बाजासहित भव्य रुपमा मनाउने भएको कुरा अध्यक्ष खिम छन्त्यालले जानकारी दिए।

उक्त दिन कुनै पनि नेपाली संघसंस्थाले कार्यक्रम नजुधाई सहयोग गरिदिनको लागि प्रतिष्ठान दक्षिण कोरिया शाखाले अनुरोध समेत गरेको छ।साथै कलाकारहरुको छनोट केही दिन भित्रै गर्ने र विस्तृत जानकारी छिट्टै नै सार्वजानिक गरिने प्रतिष्ठानका संरक्षक जीतनभाइ श्रीसले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *