रमाइलोदेखि त्राससम्म एक चिट्ठा विजेताको अनुभव

मेरिल सेबास्टियन/बीबीसी
२१ कार्तिक २०७९ ७:४१

बीबीसी। “म हालसालै आफ्नो छोराको लागि झोला किन्न पसल गएको थिएँ। उनीहरूले मलाई पैसा आवश्यक छैन भन्ने ठानेर होला फिर्ता दिनु पर्ने रकम पनि दिएनन्।” दक्षिण भारतीय राज्य केरलाका अनुप बीले यस्तो परिस्थिति सामना गरेको यो पहिलो पटक भने होइन।

दुई महिनाअघि सरकारी चिट्ठा परेपछि आफ्नो जीवनमा अकल्पनीय परिवर्तन भएको बताउँछन् ३२ वर्षीय अनुप। “पहिले राम्रो सम्बन्ध भएका धेरै मानिसहरू अहिले हामीसँग बोल्न छोडेका छन्,” उनी भन्छन्।

उनले गत सेप्टेम्बरको सुरुवातमा २५ करोड भारु अर्थात् करिब ४० करोड नेपाली रुपैयाँको चिट्ठा जितेका थिए। त्यो राज्यको इतिहासमा सबैभन्दा ठूलो धनराशिको चिट्ठा प्राप्त गरेपछि अनुप राष्ट्रिय समाचारहरूको शीर्षक बने।

धेरै भारतीय राज्यहरूमा चिट्ठा गैर कानुनी छ तर केरलालगायत केही राज्यले कडा नियम लगाउँदै सञ्चालनको अनुमति दिएका छन्।

तर उनको जितको खबर सार्वजनिक भएको केही दिन पछि अनुप फेरि भाइरल भए। यस पटक उनले एक भिडिओ सार्वजनिक गर्दै पैसाको लागि आफू र आफ्नो परिवारलाई दुःख नदिन नचिनेका मानिसहरूलाई अनुरोध गरे। त्यति बेला उनले “मैले नजितेको भए हुन्थ्यो,” भन्ने अभिव्यक्ति दिएका थिए।

यसै साता बीबीसीले अनुपसँग सम्पर्क गर्दा उनी सुरुमा बोल्न हिचकिचाए। उनले आफ्नो तस्बिरले “हरेक पटक आफूप्रति ध्यानाकर्षण गराउने” भएकाले तिनलाई प्रकाशित नगर्न पनि आग्रह गरे।

“तपाईँ स्वयं यस परिस्थितिबाट गुज्रनुभयो भने मात्र यो अनुभूति कस्तो हुन्छ महसुस गर्नु हुन्छ,” उनले फोनमार्फत भने। “अचानक तपाईँले चिनेका सबै जना तपाईँको घरमा हुनु कुनै चलचित्रको दृश्यजस्तै लाग्छ।”

भान्सेबाट टुक-टुक चालक बनेका तिरुवनन्तपुरम जिल्लाका उनले एक दशकभन्दा बढी समयदेखि चिट्ठाका टिकटहरू खरिद् गर्दै आएका थिए र यसअघि पनि थोरै धनराशिको पुरस्कार जितेका थिए। तर पछिल्लो पटक जितेको चिट्ठाले उनको जीवनको रफ्तार नै बदल्दियो जसलाई पुनः लयमा ल्याउन उनी सङ्घर्ष गरिरहेका छन्। “तपाईँप्रति मानिसहरूको दृष्टिकोण रातारात परिवर्तन हुन्छ,” उनी सुनाउँछन्।

सहयोग माग्नेको भीड

चिट्ठा विजेता घोषणा भएको केही साता उनको घर र छिमेकमा सयौँ मानिसहरूको भिड लाग्यो। उनीहरू त्यहाँ आर्थिक सहयोगको माग गर्दै उपस्थित थिए।

“ब्याङ्क र बिमा एजेन्टहरूबाट धेरै कलहरू थिए,” उनी भन्छन्। “एक समूह चेन्नईबाट मसँग फिल्मको लागि आर्थिक सहयोग माग्दै आएको थियो।”सहयोगका लागि अनुरोधहरू बाहेक उनको दम्पतीले पैसामा दाबी गरेको महसुस गर्ने मानिसहरूको पनि सामना गरे।

अनुप भन्छन्, “एक जना मानिस दिनभर हाम्रो घरमा बसेर रोयल इन्फिल्डको मोटरसाइकल किन्न माग गर्दै थिए। “सबैलाई लाग्छ कि मैले यो पैसा सित्तैमा पाएको छु, केही नगरी, र त्यसैले उनीहरूले सोध्छन् कि मैले उनीहरूलाई किन दिन सक्दिन,” उनी भन्छन्।

“बिहान हामी उठ्दा घरबाहिर भिड हुन्थ्यो। मानिसहरू बिहान ५ बजेदेखि राति अबेरसम्म त्यहाँ बस्ने गर्थे,” उनी सम्झन्छन्। अनुपकी श्रीमती मायाले स्थानीय सञ्चार माध्यमलाई बताए अनुसार यो दम्पतीले रकम प्राप्त गरेपछि मानिसहरूलाई सहयोग गर्ने सम्भावनाबारे छलफल गरेका छन्।

“मानिसहरूले सहयोग गर्छौँ भन्ने कुरालाई आधार बनाएर सबै जना सहयोग माग्दै आए,” उनी भन्छिन्। राज्यभरबाट सहयोग रकमका निम्ति अनुरोध गरिएको छ। कसैले आफ्नो धितो वा ऋण तिर्न मद्दत मागेका छन् भने केहीले आफ्नी छोरीको विवाह खर्चका निम्ति आग्रह गरेका छन्। अनलाइनमा छाएका अफवाहहरूले समेत आफ्नो शान्ति भङ्ग गरेको यो दम्पती बताउँछ।

“सामाजिक सञ्जालमा मसँग पहिले नै धेरै पैसा भएको मैले जितेको बारेमा झुटो बोलेको हल्ला थियो भन्ने आशयका सामग्रीहरू थिए,” उनी भन्छन्। अनुपका अनुसार उनी अझै पनि सार्वजनिक रूपमा बाहिर निस्कनुअघि सतर्क बन्छन्।

“म जहाँ पुगे पनि मानिसहरूले मलाई चिन्छन् किनकि धेरै सञ्चार माध्यमहरूले मेरो अनुहार सार्वजनिक गरेका थिए।” उनी हाल आफ्नी ८ महिनाको गर्भवती श्रीमती र काखे छोराको सुरक्षाको बारेमा चिन्तित छन्।

घर वरपर सीसीटीभी क्यामेरा

तर हाल उनले आफ्नो भोगाई अभूतपूर्व नभएको महसुस गरेका छन्। गत अक्टोबरमा महिनामा एक स्थानीय टिभी च्यानलको खेल सम्बन्धी कार्यक्रममा अनुपले गत वर्ष त्यही चिट्ठा जितेका ५९ वर्षीय जयपालनलाई भेटे।

उनीसँगको भेटले अनुपलाई राहत दिलायो। १२ करोड भारतीय रुपैयाँ जितेका जयपालन पनि सञ्चारमाध्यमको आकर्षण विषय बने र उनीसमक्ष थुप्रै आर्थिक सहयोगको अनुरोध आए।

“कसलाई वास्तवमा सहयोग चाहिएको छ र कसलाई केवल पैसा चाहियो भनेर छुट्टाउन गाह्रो भयो,” उनले कार्यक्रममा भनेका थिए। “साथीहरू शत्रु बन्छन्,” अझै पनि टुक-टुक चलाउने जयपालनले थपे। “मैले पैसा नदिएकाले धेरै जना अझै रिसाएका छन्।” केही धम्कीपूर्ण चिट्ठी आएपछि उनले प्रहरीमा उजुरी दिएको र घर वरपर सीसीटीभी क्यामेरा जडान गरेको सुनाए।
उनले अनुपलाई होसियार रहने सल्लाह दिए।

“मानिसहरूलाई लाग्छ कि चिट्ठा जितेपछि पैसासम्बन्धी मेरो सबै चिन्ता हट्छ। तर सबै कुरा अझै अनिश्चित छ। मलाई थाहा छैन कर तिरेपछि मसँग कति रकम बाँकी रहन्छ,” अनुप भन्छन्।
विजेताले पुरस्कार रकमबाट कति पाउँछन् भन्ने हिसाब “जटिल” रहेको दुवै विजेताहरूले कार्यक्रम मार्फत बताए।

चिट्ठामा जितेको रकम हस्तान्तरण गर्दा राज्य सरकारले ३० प्रतिशत कर कटौती गर्छ। टिकट एजेन्टले लिएको शुल्कबाहेक विजेताले सङ्घीय सरकारलाई विविध शीर्षकमा आयकर बुझाउनु पर्छ।

अनुपको जितले तहल्का मच्चाएपछि प्रदेश सरकारले अनुपका लागि आर्थिक व्यवस्थापन र रकमको सदुपयोगका विषयमा एक दिने तालिमको आयोजना गरेको थियो। हाल उनले आफूले जितेको रकमले के गर्ने भन्नेबारे निर्णय गर्नुअघि केही वर्ष पर्खने योजना बनाएका छन्।

“प्राप्त रकम एक किसिमको आशिष् हो भन्ने कुरामा दुई मत छैन,” उनी भन्छन्।

“तर मैले केही गर्नु अघि वा अरू कसैलाई मद्दत गर्नु अघि आफ्नो परिवारको हेरचाह गर्नु पर्छ र आफ्ना सन्तानको भविष्य सुरक्षित छ भन्ने कुरा सुनिश्चित गर्न भए पनि पैसाको राम्रोसँग व्यवस्थापन गर्न आवश्यक छ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *