दाङ क्षेत्र नम्बर १ः तीन पूर्व एमाले तीनतिर, फाईदा कसलाई ?

डिसी नेपाल
२५ कार्तिक २०७९ १५:३८

काठमाडौं । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि तीन वटा निर्वाचन क्षेत्र रहेको दाङ जिल्लाका तिनवटै क्षेत्रमा रोचक प्रतिष्पर्धा हुँदै छ । अझ दाङ जिल्लाको राप्ती उपत्यकासँग जोडिएको क्षेत्र नम्बर १ को चुनावी दौड हेर्न लायकको छ ।

यस क्षेत्रमा तिन पूर्व एमाले फरक–फरक पार्टीबाट उम्मेद्वार बनेका छन् । सहरी विकास मन्त्री समेत रहेका नेकपा (एस) का नेता मेटमणी चौधरी गठबन्धनको तर्फबाट प्रतिनिधि सभाका उम्मेद्वार बनेका छन् । उनी एमाले विभाजन हुँदा नेकपा (एस) तर्फ मोडिएका हुन् । यस्तै, नेकपा एमालेको तर्फबाट टिकट नपाएपछि गंगा थारुले स्वतन्त्र उम्मेद्वारी दिएकी छिन् । उनी लौरो अभियान अन्तरगतको हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिन्हबाट निर्वाचनमा होमिएकी छिन् । यसै क्षेत्रबाट नेकपा एमालेले शान्ता चौधरीलाई प्रतिनिधिसभाको उम्मेद्वार बनाएको छ । यी तिन पूर्व एमालेबीचको भिडन्तलाई यहाँका जनताले भागवन्डा नमिल्दाको परिणामको रुपमा बुझेका छन् ।

२०७४ सालको निर्वाचनमा सँगै भोटमाग्न हिडेका यि तिन अनुहार यसपाली फरक–फरक चिन्हमा भोट माग्दै हिडेको देख्दा यहाँका मतदाता अन्योलमा परेका छन् । केपी शर्मा ओलीका प्रशंसकको रुपमा रहेका मेटमणी चौधरी मन्त्री बन्ने लोभमा नेकप (एस) प्रवेश गरेका थिए । पहिलो लटमा मन्त्री बन्न नपाएका चौधरी दोस्रो लटमा मन्त्री बनेका हुन् । चुनावको सम्मुखमा मन्त्री बनेका चौधरीले पदको दुरुपयोग गरिरहेका छन् । केहि दिन अघि बोरामा चामल बाँढेको भन्दै उनलाई निर्वाचन आयोगले स्पष्टीकरण समेत सोधेको थियो । मन्त्रीपदका कारण चौधरीलाई मतदाता फकाउन सजिलो भएको छ । यसरी मन्त्रीपदकै कारण चौधरीले निर्वाचनमा बाजी मार्नसक्ने कांग्रेसका एक स्थानीय नेताले बताए । तर, पार्टीको संगठन नहुनु र स्थानीय तहको परिणाम मेटमणीका कमजोर पक्ष हुन् ।

यता नेकपा एमालेकी उम्मेद्वार शान्ता चौधरी ‘सुखी नेपाली सम्वृद्ध नेपाल’ को नारा बोकेर घरदैलौ कार्यक्रम गरिरहेकी छन् । शान्ताले आफ्नो जित निश्चत रहेको दाबी गर्दै आएकी छन् । यद्दपी उनको जितका आधार भने निकै कमजोर रहेको स्थानीय एक नेताले बताए । एमालेका मतदाताको भोट समेत शान्ता र गंगामा बाँढीने आंकलन गरिएको छ । यसको फाइदा मेटमणीलाई हुने देखिएको छ । चौधरी समूदायको बाहुल्यता रहेको यस क्षेत्रमा तीन चौधरी उम्मेद्वारबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *