दलीय स्वतन्त्रताका लागि सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित हुनुपर्छः मन्त्री भुसाल

डिसी नेपाल
२५ कार्तिक २०७९ २२:११

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र दलीय स्वतन्त्रताका लागि सत्तागठबन्धन आगामी चुनावमा निर्वाचित हुनुपर्ने बताएकी छन् । सत्ता गठबन्धन ललितपुरले आज आयोजना गरेको कार्यक्रममा उहाँले नेपाली कांग्रेसले प्रजातन्त्रको स्थापना र पुनःस्थापनाका लागि निरन्तर सङ्घर्ष गरेको स्मरण गर्दै पछिल्लो अवस्था पनि हजारौँ शहीदको बलिदानबाट प्राप्त संविधानको रक्षाका लागि खडा भएको गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउन आग्रह गरिन् ।

ललितपुर निर्वाचन क्षेत्र ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेकी मन्त्री भुसालले भनिन्, “लोकतन्त्रका लागि निरन्तर सङ्घर्ष गरेको नेपाली कांग्रेसका साथीहरूले पार्टीका शीर्ष नेतृत्वलाई शिरोधार्य गरेर संविधानको रक्षाका लागि अग्रगामी मोर्चालाई निर्वाचित गराउनु हुनेछ ।” आगामी निर्वाचनमा अग्रगामी गठबन्धन र प्रतिगामी गठबन्धन निर्वाचनमा रहेको उल्लेख गर्दै उनले विगतको शिक्षाले पनि प्रगतिगामी मोर्चालाई पराजित गर्नुपर्ने समय आएको बताइन् ।

ललितपुर जिल्ला जहिले पनि परिवर्तनको पक्षमा उभिएको इतिहास स्मरण गर्दै मन्त्री भुसालले भनिन्, “यहाँका जनताको २०४६ को आन्दोलन पाटनबाट सुरु भएको थियो । यही जिल्लाका जनता सबैभन्दा पहिला राजतन्त्रमुक्त देश घोषणाको आन्दोलनमा होमिनुभएको थियो । अब पनि ललितपुरवासीले प्रतिगमनकारी गठबन्धलाई पररास्त गर्नेछन् ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *