ग्राहक र कर्मचारीलाई नियन्त्रणमा लिएर अमेरिकामा लुटेराहरुले यसरी लुटे नेपालीको सुन पसल र ग्रोसरी (भिडियोसहित)

१३-१५ किलो सुन लुटिएको प्रारम्भिक अनुमान

डिसी नेपाल
२६ कार्तिक २०७९ ६:४६

वासिंगटन डिसी। साँझ ६ बजेर ३२-३३ मिनेट यस्तै समय भएको हुनुपर्छ। ७ जना बन्दुकधारीहरु एकैपल्ट ह्वारार्र पसलभित्र पसे। पसलभित्र ग्राहक पनि थिए र हामी पनि थियौं। अरु दिनको झैं व्यापारको काम भइरहेकै थियो। ती सातजना बन्दुकधारीहरु पसेपछि उनीहरुले कर्मचारी र ग्राहक दुबैलाई नियन्त्रणमा लिए र पसल लुट्न थाले।

अमेरिकाको ह्यारिसवर्ग शहरमा नेपालीभाषी व्यवसायीले चलाएको पसलभित्र लुटेरा पसेको प्रत्यक्षदर्शीको विवरण सुनाउँदै टीवी गुरुङले भने-म र मेरो श्रीमति पसलभित्रै थियौं त्यतिबेला।

अमेरिकाको पेन्सिलभेनिया ह्यारिसवर्ग शहरमा डेरी स्ट्रीटमा रहेको टेकबहादुर गुरुङ, ललित गुरुङ र सावित्री बरालले संचालन गरेको सो ग्रोसरी पसल (किराना पसल)  भित्र बराल ज्वेलर्स नामको सुन पसल पनि सञ्चालनमा छ। नोभेम्बर १० तारिक साँझ ती दुबै पसलमा अपरिचित लुटेराहरुले यसरी आतंक मच्चाएका थिए।

पसलभित्र पस्नासाथ केहीले कर्मचारी र केहीले ग्राहकहरुलाई नियन्त्रणमा लिएका थिए। न्यूयोर्कबाट ताजा तरकारी र पसलका लागि सामान आइपुगेको दिन र पसलभित्र गेम खेल्ने(कम्प्युटरमा खेलिने खेल) हरु पनि आइरहने हुँदा पसलभित्र र वाहिर पनि भीडभाड नै थियो।

उनीहरुले बन्दूक तेस्र्याउँदै सबैलाई घोप्टो परेर भूईंमा सुत्न भनेका थिए। एकाएक सबै आत्तिनु स्वाभाविक थियो, सबै भूईंमा घोप्टो परेर सुते। केही ग्राहक भाग्न पनि खोजेका थिए तर उनीहरुलाई बन्दूक ताकेर फेरि भूईंमै घोप्टो पर्न लुटेराहरुले आदेश दिएका थिए।

ग्राहक र कर्मचारीलाई नियन्त्रणमा लिनेहरु बाहेक अरु लुटेराहरु सुन पसलतिर पसेका थिए। उनीहरुले सुन पसलको सो रुपमा सबै सिसाहरु फुटाइदिए र भएभरको सुनजति सबै बोके। लुट्नेक्रममा साना तिना सुनका टुक्रा भूईंमा पनि छरिएका थिए।

गुरुङका अनुसार, लुटेराहरुले किराना पसलको क्यास काउण्टरबाट झिकेर भएभरको पैसा पनि लगेका छन्। ‘त्यहाँ यत्ति नै थियो भन्ने यकिन भइसकेको छैन’, उनले भने, ‘लगभग ८-९ सय डलर थियो होला।’ धेरैजसो कारोवार क्रेडिट वा डेविट कार्ड वा अन्य पेमेण्ट कार्डबाट हुने भएकाले अमेरिकामा स्टोरहरुमा खासै नगद रकम जम्मा हुने गर्दैन।

त्यत्रो सुन पसलको सो केस तोडेर सुन लुटेर निस्कन लुटेराहरुका लागि बढीमा ३ मिनेटको समय लागेको थियो। विजुलीसरी उनीहरु भित्र छिरे र यत्ति छिट्टो लुटेर निस्किए कि सपनाजस्तो अनुभव थियो त्यो।

पसलको बाहिर पनि केही बन्दुकधारीहरु बसेका रहेछन् जम्मा ११ जनामा ७ जनाभित्र पसेका थिए, स्थानीय दीपकजंग विश्वकर्माले डिसी नेपालसँग भने, ‘लुटेराहरुले माथिदेखि तलसम्म सबै छोप्नेगरीको लुगा लगाएका थिए।’

लुटेराहरुले कति सुन लगे भनेर अहिले नै यकिन भन्न सकिने अवस्था छैन, दीपकजंगले भने, ‘१३ देखि १५ किलोसम्म सुन लुटिएको प्रारम्भिक अनुमान छ।’ लुटेराहरले सुन र राखिएका भाँडासहित ट्र्यास व्याग (फोहोर राख्ने प्लाष्टिकका झोला) मा हालेर लगेको पनि उनले जानकारी दिए।

धन्न मानवीय क्षति भएन, गुरुङ्गले डिसी नेपालसंग भने, लुटेराहरुले धकालेर लडाउने गरे पनि गोली हानेनन्, उनीहरुले यत्ति छिटो लुटेर भागे कि यस्ता घटना अमेरिकामा हुन्छन् भनेर सुनिन्थ्यो मात्र अहिले आफैं भोगियो। तर, सौभाग्य नै भन्नुपर्छ सुरक्षित हुन भने पाइयो।

सपनाजस्तै लाग्ने यो घटनामा लुटेराहरु त यत्ति छिट्टो भागेका थिए कि उनीहरु कस्ता थिए भनेर ठम्याउने समय पनि कसैलाई थिएन। फेरि सबैले पूरै शरीर ढाक्नेगरी एउटैरंगको लुगा लगाएका थिए र सबैका हातमा बन्दुक थियो। अमेरिकामा लुटेराहरुसँग प्रतिवाद गर्दा धेरैले ज्यान गुमाएका छन्।

अधिकांश स्टोरहरुको विमा पनि गरिने हुँदा यति उचित वा सम्पूर्ण लगानीको विमा गरिएको छ भने यस्ता लुटपाटका घटनामा व्यवसायीलाई आर्थिक नोक्सानीको सम्भावना पनि कम हुन्छ। तर, त्रासदिपूर्ण यस्ता घटनाको भोगाइ भने निकै कठिन हुन्छ।

गुरुङका अनुसार, घटना लगत्तै प्रहरीलाई खवर गरिएको र प्रहरी पनि ६ मिनेटभित्रै घटनास्थल आइपुगेको थियो। अमेरिकामा पछिल्ला दिनहरुमा नेपाली र नेपालीभाषी समुदायले सञ्चालन गरेका सुन पसलहरुमा लुटेराहरुले ताकेको सिलसिलाबद्ध घटनाक्रमहरुले देखाएका छन्। त्यसैले सतर्कताको जरुरी पनि देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *