प्रदीप पौडेलको घरदैलो : युवाको सेल्फी क्रेज, ज्येष्ठ नागरिकको आशीर्वाद (फाेटाेफिचर)

डिसी नेपाल
२८ कार्तिक २०७९ १०:४६

काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति संघारमै आइपुग्दा उम्मेदवारहरुले चुनावी प्रचारप्रसारलाई तीव्रता दिइरहेका छन्।

उनीहरु आफ्ना प्रतिस्पर्धीलाई पराजित गरेर संसद छिर्ने दाउमा छन्। यस्तै मध्येका एक हुन् काठमाडौं क्षेत्र नम्बर ५ का गठबन्धनका साझा उम्मेदवार कांग्रेसका युवा नेता प्रदीप पौडेल।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका प्रतिस्पर्धीलाई हराएर पौडेल देशको विकास र समृद्धि, आवश्यक कानुन निर्माण, जनताका जल्दाबल्दा समस्या समाधानका लागि काम गर्न र आवाज उठाउन संसदमा जान चाहेको बताउँछन्।

दैनिक घरदैलोसहित चुनावी कार्यक्रम गरिरहेका पौडेल मतदाताको सद्भाव र सहयोगले आफू निर्वाचित हुनेमा विश्वस्त देखिन्छन्। मतदाताको घरदैलोमा पुग्दा युवाको आकर्षण र ज्येष्ठ नागरिकको सद्भाव र उनीहरुले दिने विजयीको शुभकामना र आर्शीवादले पौडेल आफ्नो जित सुनिश्चित रहेको बताउँछन्।

प्रदीप घरदैलो कार्यक्रममा जाँदा उनीसँग सेल्फी लिने युवाको उत्तिकै भिड देखिन्छ। घरदैलो कार्यक्रममा गएका पौडेल मात्र होइन अन्य उम्मेदवारसँग पनि स्थानीयले सेल्फी लिने गरेका छन्।

टोखा नगरपालिका-७ मा पौडेल पुग्दा युवा, ज्येष्ठ नागरिक सबै उनीसँग हात मिलाउन, शुभकामना र आशीर्वाद दिन आतुर देखिन्थे। पौडेलको अब्बल पक्षका रूपमा युवा उम्मेदवार र स्वच्छ छविलाई हेरिएको छ। पहिलोपटक प्रतिनिधिसभामा उम्मेदवार रहँदा पनि कसैलाई म प्रदीप पौडेल हो भनेर चिनाउनुपर्ने अवस्था नरहेको स्थानीय बताउँछन्।

‘प्रदीप पौडेलले परिचय दिइरहनै पर्दैन, सबैले चिन्छन्,’ टोखा-७ की विद्या बराल भन्छिन्, ‘प्रदीप जस्तै नेता हरेक क्षेत्रमा जन्मिने हो भने परिवर्तन र विकाश दुवै सम्भव छ।’

सरलशैली र नागरिकको समस्या सुन्न र समाधानमा पहल गर्न सक्ने क्षमता भएका नेताको रुपमा आफूले पौडेललाई चिनेको बरालको भनाइ छ। उनी भन्छिन्, ‘उहाँ जस्ता नेताहरु कमै जन्मिन्छन्, मलाई आशा छ प्रदीप यसपटक संसदमा प्रवेश गर्नुहुन्छ।’

विद्या बरालकै जस्तो आत्मविश्वास स्थानीय राजेन्द्र श्रेष्ठको पनि छ। उनी अब युवालाई जिताएर युवा जोशबाट काम गराउन मतदाता तयार हुनुपर्ने बताउँछन्।

‘युवा जोश कस्तो हुन्छ भन्ने बालेनबाट काठमाडौंले मात्र होइन देशले अनभुव गरिसकेको छ,’ उनले भने, ‘यसकारण अब प्रदीपलाई जिताउनुपर्छ, काठमाडौं-५को मात्र होइन देशको विकास र समृद्धिका लागि।’

मतदाताको सद्भाव र आशीर्वादले प्रदीप पौडेल पनि आफू निर्वाचित हुनेमा ढुक्क देखिन्छन्। काठमाडौं-५मा कांग्रेसको मत जोगाउन मात्र होइन निर्वाचित हुन कुनै पनि चुनौती अब नदेखिएको पौडलको दाबी छ।

सोही क्षेत्रबाट टिकट खोजेका स्वर्णीम वाग्ले पनि उनको प्रचारमा खुलेर लागेका छन्। यता विगतमा ईश्वर पोखरेलाई पराजित गरेका नरहरि आचार्यसमेत अस्वस्थताका बीच पौडेलको प्रचार र सहयोगमा जुटेका छन्। स्वर्णीम र नरहरिको सहयोगले पौडेलको जितलाई सहज बनाउन भूमिका खेल्ने कांग्रेस नेताको बुझाइ छ।

प्रदीप पौडेलले जस्तोसुकै दाबी गरे पनि उनलाई सोही क्षेत्रबाट एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री ईश्वर पोखरेलको उम्मेदवारी भारी पर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *