कपिलवस्तु-१ : त्रिपक्षीय प्रतिस्पर्धा, कसले मार्ला बाजी?

डिसी नेपाल
१ मंसिर २०७९ ११:१६

कपिलवस्तु। कपिलवस्तुका तीन प्रतिनिधिसभामध्ये क्षेत्र नं १ सत्ता गठबन्धन, नेकपा एमाले र स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ।

सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का चक्रपाणि खनाल उम्मेदवार छन्। खनालको उम्मेदवारीविरुद्ध नेपाली कांग्रेसका ललित गुरुङले स्वतन्त्र उम्मेदवारी दिएका छन्। बागी उम्मेदवार उठ्दा एमाले यहीँ मौकामा चुनाव जित्ने रणनीतिमा लागेको छ। एमालेले बलराम अधिकारीलाई उम्मेदवार बनाएको छ।

यो क्षेत्रमा कांग्रेस ठूलो पार्टी हो। गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले २८ हजार दुई सय ७१ मत पाएको छ। तर गठबन्धनले माओवादी केन्द्रका केन्द्रीय सचिव खनाललाई उम्मेदवार बनाएको छ।

विसं २०७४ मा तत्कालीन वाम गठबन्धनबाट प्रतिनिधिसभामा निर्वाचित खनाल सत्ता गठबन्धनबाट पुनः दोस्रो कार्यकालका लागि चुनावी मैदानमा छन्।

त्यो चुनावमा खनालले २९ हजार सात सय ९९ मत ल्याएर विजयी हुँदा कांग्रेसका दीपकुमार उपाध्यायले २८ हजार आठ सय ५३ मत ल्याएका थिए। तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालका अब्दुल रसिद खाँले ११ हजार आठ सय १२ मत ल्याएर तेस्रो बनेका थिए।

मत सङ्ख्याका आधारमा माओवादी केन्द्र यहाँ चौथो शक्ति हो। स्थानीय तहमा माओवादी उम्मेदवारले पाएको मत नौ सय हजार तीन सय ३८ छ। यहाँ जनता समाजवादी पार्टी (जसपा)ले १३ हजार पाँच सय १० मत पाउँदा नेकपा (एकीकृत समाजवादी) को मत यहाँ तीन हजार सात सय २२ थियो। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले तीन हजार चार सय २४ पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीको दुई हजार चार सय ८० मत थियो।

गठबन्धनविरुद्ध कांग्रेसका जिल्ला सदस्य गुरुङले स्वतन्त्र उम्मेदवारी दिएर चुनावी प्रचार अभियान जारी राखेका छन्। गुरुङले गठबन्धनभित्रको मत काट्ने अड्कलबाजी छ।

स्वतन्त्ररुपमा उम्मेदवारी दिएका गुरुङ आफ्नो जित सुनिश्चित रहेको दाबी गर्छन्। कांग्रेसलगायत अन्य पार्टीको समर्थनबाटै आफूले चुनाव जित्ने उनको दाबी छ।

एमालेले गत स्थानीय तहको निर्वाचनमा यहाँ २६ हजार आठ सय २३ मत ल्याएको थियो। विसं २०५६ को निर्वाचनमा एमाले र २०६४ को पहिलो संविधानसभा निर्वाचनमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) बाट चुनाव जितेका दानबहादुर चौधरी हाल एमालेमा छन्।

हालै एमाले प्रवेश गरेका चौधरी पछिल्लो समय नेपाल समाजवादी पार्टी (नेसपा) मा थिए। चौधरीको आवगमनले एमाले बलियो देखिएको छ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका मधु सुदनशरण चौधरी पनि एमालेमा आएका छन्। प्रदेशसभा ‘२’ का उम्मेदवार समेत रहेका चौधरीको एमाले प्रवेशले अवस्था मजबुद बनाएको आकलन गरिएको छ।

सत्ता गठबन्धन, एमाले र स्वतन्त्र उम्मेदवारजस्तै चर्चामा जनमत पार्टीका नरेन्द्रप्रसाद चौधरी पनि छन्। जनमत पार्टीबाट प्रतिनिधिसभा-१ मा उम्मेदवार बनेका चौधरीले दक्षिणी भेगको बढी मत ल्याउने अनुमान गरिएको छ। वाणगङ्गा नगरपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिका र कपिलवस्तु नगरपालिका-५ वडा यो निर्वाचन क्षेत्रमा पर्छन्।

स्थानीय तहमा वाणगङ्गा नगरपालिकाका प्रमुख, उपप्रमुख एमालेले जितेको थियो। मायादेवी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष कांग्रेसले जित्दा शुद्धोधन गाउँपालिकाको अध्यक्षमा लोसपा र उपाध्यक्षमा माओवादी केन्द्रले जित हासिल गरेको छ। कपिलवस्तु नगरपालिका भने जसपाले मेयर र उपमेयर जितेको छ। कपिलवस्तुका बहुसङ्ख्यक वडा भने क्षेत्र नं २ मा पर्छन्।

वडागत आधारमा वाणगङ्गा नगरपालिकाका-११ वडामध्ये वडा नं २, वडा नं ४, वडा नं ७, वडा नं ८, वडा नं ९, वडा नं १० एमालेले जितेको छ। कांग्रेसले वडा नं १, वडा नं ५, वडा नं ६ र वडा नं ११ मा जित हात पारेको छ। माओवादीले वडा नं ३ मात्र जितेको छ।

मायादेवी गाउँपालिकामा आठ वडा छन्। जहाँ जसपाले चार वडा जितेको छ। जसपाले वडा नं ३, वडा नं ४, वडा नं ६, वडा नं. ७ जितेको छ। माओवादी वडा नं १, वडा नं ५ र वडा नं ८ जितेको छ। कांग्रेसले भने वडा नं २ मात्र जितेको छ।

शुद्धोधन गाउँपालिकाका छ वडा मध्ये वडा नं १, वडा नं ४ र वडा नं ५ मात्र कांग्रेसले जितेको छ। जसपाले वडा नं २ र वडा नं ६ मा जित हात पारेको छ। वडा नं ३ मा माओवादीले जितेको छ। कपिलवस्तु नगरपालिकाका ५ वडामध्ये वडा नं ७ र वडा नं ११ जसपाले जितेको छ। वडा नं ८ र वडा नं १० कांग्रेसले जित्दा वडा नं ९ एमालेले जितेको छ।

जसपाले प्रतिनिधिसभामा उम्मेदवारी दिएको छैन भने प्रदेश सभा ‘२’ का नेता सहसराम यादव कांग्रेसबाट चुनावमा उठेका छन्। प्रदेशसभा (१) मा कांग्रेसका डोलकराम घिमिरे र एमालेका विष्णु पन्थीबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ। प्रदेशसभा ‘२’ मा कांग्रेस, नेकपा एस र एमालेबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ।

गठबन्धनबाट कांग्रेसका सहसराम यादवलाई उम्मेदवार बनाएको छ भने एकीकृत समाजवादीले फैजल खानलाई मैदानमा उतारेको छ। एमालेले मधु सुदनशरण चौधरीलाई उम्मेदवार बनाएको छ। यादव जसपाबाट २०७४ मा निर्वाचित पूर्व प्रदेशसभा सदस्य हुनुहुन्छ । यादव मनोनयन दर्ताका दिन कांग्रेस प्रवेश गरी उम्मेदवार बनेका हुन्।

सहसरामलाई कांग्रेसले उम्मेदवार बनाएपछि त्यसको विरुद्धमा कांग्रेस नेता मेवालाल यादवले जसपा प्रवेश गरी उम्मेदवार बनेका छन्। मेवालाल पनि चुनावी प्रचारमा छन्। विसं ०७४ मा तत्कालीन बाम गठबन्धनको एमालेबाट उम्मेदवार बनेका खान एमाले विभाजनपछि समाजवादीतिर लागेका थिए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *