अमेरिकामा चिनियाँ पुलिस अफिस ? एफबीआई भन्छ- चिन्ताको विषय

डिसी नेपाल
३ मंसिर २०७९ ०:०२

वासिंटन डिसी । झट्ट सुन्दा साह्रै नै अत्यारिलो कुरा हो यो । अमेरिकाका ठूला केही शहरहरुमा चीन सरकारका प्रहरीहरुले कार्यालय नै खोलेर काम गरिरहेका छन् भन्ने कुरा सहजै पत्याउन गाह्रो पर्छ । तर, यो विषयले अमेरिकाको संसदमा हिजो निकै चर्चा पाएको छ।

अमेरिकी गुप्तचर संस्था एफबीआईका प्रमुख क्रिस्टोफर रे ले विहीबार अमेरिकी सांसदहरुलाई यसबारे जानकारी दिएका थिए । उनले सांसदहरुसँग भने, ‘अमेरिकी सरकार चीनले यसरी अमेरिकाका विभिन्न शहरहरुलाई गैरकानूनीरुपले आफ्ना पुलिस स्टेशनहरु चलाएकोमा गम्भीर र चिन्तित छ।’

दुई महिनाअघि युरोपको एउटा मानवअधिकारवादी संस्था सेफगार्ड डिफेन्डर्सले एक रिपोर्ट प्रकाशित गर्दै अमेरिकाका विभिन्न शहरहरुमा चिनियाँ प्रहरीका अनाधिकृत स्टेशनहरु संचालित भएको उल्लेख गरेको थियो।

चीनले मुलुकविरुद्ध अपराध गरी भागेको आरोप लागेका चिनियाँ नागरिकहरुलाई आफ्नै प्रहरी लगाएर दवाव दिनका लागि यसरी अमेरिकाका विभिन्न शहरहरुमा स्टेशन नै खडा गरी काम गरिरहेको सो प्रतिवेदनमा औल्याइएको थियो ।

संसदको होमल्याण्ड सेक्युरिटी तथा गभर्मेण्ट एफियर कमिटीको सुनावाईका क्रममा बोल्दै एफबीआई डाइरेक्टर रे ले आफूहरु यसबारे निकै सचेत रहेको पनि बताए तर उनले एफबीआईले यसबारे गरिरहेको अनुसन्धानको विस्तृत विवरण भने उनले सांसदहरुलाई सुनाएनन्।

रिपल्बिकन सिनेटर रिक स्कटले चिनियाँ प्रहरी र तिनको स्टेशनलाई कस्तो कानुनी कारवाही भइरहेको छ भन्नेबारे चासो राखेको रोयटर्सले समाचार लेखेको छ।

अमेरिकी नागरिक भइसकेका चिनियाँ मुलका व्यक्तिहरुलाई धम्क्याउने, तर्साउने र विभिन्न आरोपहरु लगाएर चीन फर्कन वाध्य पारी पक्राउ गर्ने दुर्नियतले चीनले प्रहरीहरु अमेरिकामा परिचालन गरेकोबारे संसदीय समितिलाई निकै गहन छलफल भएको थियो।

सुरू समाचारमा डाइरेन्टर रेलाई एफबीआई हुनुपर्नेमा अन्यथा भएकोले क्षमायाचनासहित सच्याइएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *