खोटाङमा प्रत्यक्षतर्फ पाँच हजार बढी मत बदर

डिसी नेपाल
९ मंसिर २०७९ १६:४०

खोटाङ । खोटाङमा प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभामा खसेकामध्ये पाँच हजार ६३९ मत बदर भएको छ । कुल एक लाख ४२ हजार ७९२ मतदाता रहेको जिल्लामा प्रतिनिधिसभा प्रत्यक्षतर्फ खसेको ६७ हजार ४०८ मतमध्ये दुई हजार ९८६ मत बदर भएको छ । यस्तै, ७४ हजार ६३९ मतदाता रहेको प्रदेश (क)मा ३३ हजार ९४४ मत खस्दा एक हजार ५५४ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेशसभा (ख)मा एक हजार ९९ मत बदर भएको छ । ६८ हजार १५३ मतदाता रहेको प्रदेशसभा (ख)मा ३३ हजार ४०९ मत खसेको थियो । समानुपातिकतर्फ खसेको मत पनि बदर भएको छ । पछिल्लो परिणामअनुसार समानुपातिकतर्फ दुई हजार दुई मत बदर भएको छ । विभिन्न दलबीचमा भएको चुनावी तालमेल तथा मतदाता शिक्षा प्रभावकारी नहुँदाको परिणाम अधिक मत बदर भएको अनुमान गरिएको छ ।

निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयमार्फत महिला स्वास्थ्य स्वयंसेविका प्रयोग गरेर मतदाता शिक्षा सञ्चालन गरेपछि बदरको दर अधिक देखिएको हो । मतदाता शिक्षाअन्तर्गत जिल्ला निर्वाचन कार्यालयले पनि स्थानीय तहमा पुगेर नमुना मतदान गरेको थियो । तर अपेक्षा गरेअनुसार मत बदर दर घटेको देखिएन ।

प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका रामकुमार राई ३१ हजार ३५१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विशाल भट्टराईले २८ हजार ६८२ मत पाएका छन् ।

प्रदेश (क)मा एमाले उम्मेदवार पाँचकर्ण राई १३ हजार १५७ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका वीरबलकाजी राईले ११ हजार ९६५ मत ल्याएका छन् । प्रदेशसभा (ख)मा कांग्रेसका उम्मेदवार भूपेन्द्र राई १६ हजार ४९६ पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामप्रसाद दंगालले १४ हजार ३५६ मत पाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *